दार्चुलामा भारतबाट आएका चार सय बढीको ‘थ्रोट स्याब’ सङ्कलन

डिसी नेपाल
२९ चैत २०७६ २१:३१

दार्चुला । दार्चुलामा भारतका विभिन्न शहरबाट आएका ४०० बढीको आज ‘थ्रोट स्वाब’ सङ्कलन गरिएको छ । जिल्लाका छ स्थानबाट क्वारेन्टाइन र होम क्वारेन्टाइनमा रहेका कूल ४६१ जनाको ‘थ्रोट स्वाब’ नमूना सङ्कलन गरिएको हो । सङ्कलन गरिएकामा ४३८ पुरुष २० महिला र तीन जना बालबालिका रहेका छन् ।

बिहान नेपाली सेनाको हेलिकप्टर र कैलाश एयरको हेलिकप्टरमार्फत ‘थ्रोट स्वाब’ सङ्कलन गरिएको हो । दार्चुलाको शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा शैल्यशिखरका ६४ जना, मालिकार्जुन गाउँपालिकाका १६ र लेकम गाउँपालिकाका चार जना गरी कूल ८४ जनाको थ्रोट स्याब सङ्कलन गरिएको छ । गोकुलेश्वरमा सबै पुरुषको मात्रै ‘थ्रोट स्वाब’ सङ्कलन गरिएको हो ।

महाकाली नगरपालिकामा १११ जनाको थ्रोट स्याब सङ्कलन गरिएको नगरपालिका स्वास्थ्य सहसंयोजक लालजीरा भट्टले जानकारी दिए । नगरपालिकामा ९७ जना पुरुष, १२ जना महिला र दुई जना बालकको थ्रोट स्वाब कोरोना परीक्षणका लागि सङ्कलन गरिएको छ । यसैगरी मार्मा गाउँपालिकाको लटिनाथमा कूल १४५ जनाको थ्रोट स्याब सङ्कलन गरिएको छ । मार्मा गाउँपालिकाका १३९ जना र अपिहिमालका छ जनाको थ्रोट स्याब सङ्कलन गरिएको मार्मा गाउँपालिका सव इञ्जिनीयर विक्रम जोशीले जानकारी दिए । मार्मा गाउँपालिकामा एक स्थानीय र एक जना स्वास्थ्यकर्मी महिलासमेतको थ्रोट स्याब सङ्कलन गरिएको हो ।

नौगाड गाउँपालिकामा ४५ जनाको थ्रोट स्याब सङ्कलन गरिएको गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताए । गाउँपालिकाले भारतका विभिन्न शहरबाट आएका व्यक्तिको थ्रोट स्याब सङ्कलन गराएको हो । सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी खारको दल्लेखस्थित पानीधारा अधारभूत विद्यालयमा थ्रोट स्याब सङ्कलन भएको हो ।

यस्तै दुहुँ गाउँपालिकाको हिकिलामा ३३ पुरुष र पाँच महिला गरी ३८ जनाको थ्रोट स्याब सङ्कलन गरिएको हिकिला स्वास्थ्य चौकी इञ्चार्ज प्रेमसिंह धामीले बताए । जसमा एक जना बालक रहेका छन् । दुहुँमा ३५ जना क्वारेन्टाइनमा बसेका व्यक्ति र तीन जना होम क्वारेन्टाइनमा बसेकाको थ्रोट स्याब सङ्कलन गरिएको धामीको भनाइ छ ।

यसैगरी व्यास गाउँपालिकाको हुतीमा ३७ पुरुष र एक महिला गरी ३८ जनाको स्याब सङ्कलन गरिएको छ । शनिबार सङ्कलन गरिएको थ्रोट स्वाबलाई स्वास्थ्यकर्मीको टोलीले परीक्षणका लागि काठमाडौँ लगेका छन् । कोभिड–१९ उच्चस्तरीय रोकथाम समितिको समन्वयमा हेलिकप्टरमार्फत स्वाब सङ्कलनका लागि टोली दार्चुला पुगेको थियो । जिल्लाका नौवटै स्थानीय तहमा भारतलगायतका देशबाट आएका व्यक्तिको थ्रोट स्वाब सङ्कलन गर्ने गरी सबै क्षेत्र भूगोल मिलाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । सकेसम्म बढी व्यक्तिको सङ्कलन होस् भन्नका लागि समय र स्थान मिलाइएको हो ।

स्वाब सङ्कलनमा प्रयोगशालाका कर्मचारी, नेपाली सेनाका स्वास्थ्यकर्मी, सशस्त्र प्रहरीका स्वास्थ्यकर्मी र स्थानीयस्तरका स्वास्थ्यर्मीको सहभागिता थियो । अहिले क्वारेन्टाइनमा बसेका र बाहिरबाट आएर होम क्वारेन्टाइनमा बसेकाको थ्रोट स्वाब सङ्कलन गरिएको छ । उनीहरुको स्वाब परीक्षणपछि कसैको रिपोर्ट पोजिटिभ आएमा आइसोलेशनमा राखेर उपचार गरिन्छ भने रिपोर्ट नेगेटिभ आएपछि उनीहरु होम क्वारेन्टाइनमा बस्नेछन् ।

दार्चुलामा एक हजार ४०७ जना भारतलगायतका क्षेत्रबाट आएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ । सुदूरपश्चिमको अन्य जिल्लाको तुलनामा दार्चुलामा भारतलगायतका ठाउँबाट लकडाउनको समयमा पुल र महाकाली नदी तरेर आएका व्यक्ति धेरै भएको हुँदा बढी सङ्ख्यामा स्याब परीक्षण गर्न लगाइएको प्रजिअ पौडेलले बताए । यहाँ महाकाली नदीमार्फत पौडी खेलेर, तुइन तथा ट्युब तरेरसमेत मजदूर घर फर्किएका छन् । जिल्लामा नदीबाट अवैधरुपमा भित्रिएका व्यक्तिको तथ्याङ्क भने समेटिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *