लकडाउनकाे बेला इँटाभट्टामा भारतबाट ल्याइयो २४ ट्रक कोइला
भक्तपुर। देशभर ‘लकडाउन’ भइरहेका बेलामा भक्तपुरका इँटाभट्टा सञ्चालकले २४ वटा गाडीमा भारतबाट कोइला र मजदूर ल्याएका छन् । चाँगुनारायण नगरपालिकाभित्र सञ्चालनमा रहेका इँटाभट्टाले लकडाउनका बेलामा कोइला बोकेका दुई दर्जन ट्रक भित्राएका हुन् । भारतसँग सीमा जोडिएका भैरहवा, विराटनगर र पर्सामा लोड भई गएराति र शनिबार बिहान ती ट्रक भक्तपुर भित्रिएको चाँगुनारायण नगरपालिकाले जानकारी दिएको छ ।
यहाँका इँटाभट्टालाई आवश्यक कच्चा खनिज सामग्रीका रुपमा कोइला बोकेर शनिबार बिहान ती ट्रक यहाँका भट्टामा आइपुगेको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । सुँडाल र ताँथलीचलेका रामसुन्दर प्रजापतिको सरस्वतीमाता, गङ्गाराम रञ्जितकारको सरस्वती शक्ति, हरि अवालको यातुमहादेव, सत्यराम गाइजुको माझी, बाबुकाजी कोजुको मञ्जुश्री, महेन्द्र खायमलीको बिटीएम, शङ्करलगायतका इँटाभट्टाले कोइला ल्याएका हुन् ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सरकारले गरेको उद्योग सञ्चालन गर्न पाउने निर्णयलाई टेकेर भट्टा सञ्चालन भएको सञ्चालकले दाबी गरेको बताए । सरकारले छ वटा मापदण्ड पूरा गर्नुपर्ने शर्त राखे पनि ती मापदण्ड पूरा नभएको तर काठमाडौँ र ललितपुरमा पनि भट्टा सञ्चालन भइरहेकाले यहाँका व्यवसायीले बन्द गर्न अटेर गरेको उनको भनाइ थियो ।
दुई दिनमा कोइला बोकेर २४ वटा गाडी भक्तपुर आएको आफूले जानकारी पाएको भन्दै प्रहरीमार्फत भट्टाको अनुगमन भइरहेको प्रजिअ पाण्डेले जानकारी दिए। कोइला बोकेका एक ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको र ट्रक चालकसँग सोधपुछ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए । सवारी पाससमेत नलिइ भित्रिएका कोइला बोकेका ट्रकले उद्योग सञ्चालनका लागि अत्यावश्क कच्चा पदार्थ ढुवानी भन्दै कोइला ओसारेको जानकारी दिए ।
तरकारी, खाद्यान्न, औषधिलगायतका अत्यावश्यक सामान लिएर आउने ट्रकसँग कोइला बोकेको ट्रक पनि आएको उनको दाबी छ । आज र हिजो कोइला लिएर आएका ट्रक कोइला झारेर फर्किएका छन् । इँटाभट्टाले सरकारले निर्धारण गरेको मापदण्ड पुरा नगरेको र अहिले पनि एउटै भट्टामा कम्तीमा १५० मजदूर एकै ठाउँमा बसेर काम गरिरहेका छन् ।
कोरोना सङ्क्रमणको जोखिमको बेवास्ता गर्दै रातारात सवारी पासबिना नै भट्टा सञ्चालकले कोइला बोकेर ट्रक र त्यसमा रहेका भारतीय मजदूरसहित सामान भित्रिएपछि स्थानीय त्रसित बनेको चाँगुनारायणका नगरप्रमुख मिश्रले बताए।
विश्वव्यापी महामारीका रुपमा फैलँदै गएको कोरोना भाइरसविरुद्ध लड्न सरकारले लकडाउन जारी गरेका अवस्थामा यसरी ठूलो सङ्ख्यामा सवारी आवागमन हुनु र त्यसमा कार्यरत मजदूरसमेतको आवागमन हुनु जोखिमपूर्ण रहेको उनको भनाइ थियो ।
सरकारले धेरै सङ्ख्यामा जम्मा नभई सानो सङ्ख्यामा मजदूरद्वारा उद्योग, कलकारखाना सञ्चालन गर्ने निर्णय गरेकोमा भट्टा अत्यावश्यक व्यवसायभित्र नपर्ने भए पनि उद्योगमा मजदूर जम्मा गरेर भट्टा सञ्चालन गरिरहेको नगरप्रमुख मिश्र बताउँछन् । अहिले पनि ७५ वटा गाडीमा कोइला लोड भइरहेको र ती गाडी दुई÷तीन दिनमा काठमाडौँ भित्रिन तयारीमा रहेको आफूले जानकारी पाएको उनको भनाइ छ । चाँगुनारायण नगरपालिका–८ का वडाध्यक्ष परासर सापकोटाले कोरोनाको जोखिम भएका बेलामा पनि दर्जनौँ ट्रक र ट्रकका मजदूर भट्टामा आउँदा कोरोना सङ्क्रमणको जोखिम उच्च हुनेतर्फ भट्टा सञ्चालकले बेवास्ता गरेको र प्रहरी प्रशासन मूकदर्शक भएर बसेको आरोप लगाए।
स्थानीय दामोदर दङ्गालले लामो दूरी प्रयोग गरी कच्चा सामग्री ल्याउने काम तत्काल बन्द गर्नुपर्ने भन्दै भट्टाले ल्याएका कच्चा सामान नियन्त्रणमा लिएर कारवाही गर्न माग गरे । अर्का स्थानीय राजेश खड्काले कोरोना सङ्क्रमणको कारण विश्वसमुदाय आक्रान्त बनिरहेको अवस्थामा भट्टा व्यवसायीले आफ्नो स्वार्थका कारण स्थानीयवासीको ज्यान जोखिममा पार्दै अवैधरुपमा कोइला ल्याउन रोक्नुपर्ने र ल्याएकालाई कारवाही गर्नुपर्ने बताए ।
Facebook Comment