युनिभर्सिटी च्याम्पियनसिपमा सहभागी हुन १४ सदस्यीय नेपाली जुडो टोली बैंकक प्रस्थान

डिसी नेपाल
१७ साउन २०७५ १६:२३

काठमाडौँ । थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा सहभागी हुन १४ सदस्यीय नेपाली जुडो टोली आज थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ।

इन्डोनेसियामा हुने १८ औँ एसियाली खेलकूदको तयारीलाई मध्यनजर गरी बैंकक गएको टोलीमा एसियाडका लागि छनोट भएका सात खेलाडीसहित १० खेलाडीले यही साउन १९ र २० गते हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा पुरुषको ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ, ७३ केजीमुनि सञ्जित डंगोल, ९० केजीमुनि श्रीराम मकाजु, १०० केजीमाथि रवीन श्रेष्ठ, ६० केजीमुनि उमेश मगर र ८१ केजीमुनि सञ्जय महर्जनले प्रतिस्पर्धा गर्नेछन्।

त्यसैगरी महिला ५२ केजीमुनि देवीका खड्का, ५७ केजीमुनि मनिता श्रेष्ठ प्रधान, ७८ केजीमुनि पुनम श्रेष्ठ र ४८ केजीमुनि सुमित्रा राईले भाग लिने छन्। सुमित्रा, उमेश र सञ्जयबाहेक सबै एसियाडका लागि छनोट भएका खेलाडी हुन्।

एसियाडकै लागि छनोट भएकी १२ औँं सागकी स्वर्णधारी फुपुल्हामु खत्री भने बैंकक टोलीमा समावेश नहुने नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी दिए। खत्री एसियाडका साथै टोकिया ओलम्पिक २०२० को विशेष तयारीका लागि हाल जापानमा छिन्।

टोलीलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य—सचिव केशवकुमार विष्टले आज त्रिपुरेश्वरस्थित राखेपमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे।

सो अवसरमा सदस्य–सचिव विष्टले इन्डोनेसिया एसियाडमा पदक जित्ने खेलाडीका लागि विशेष पुरस्कारको तयारी परिषद्ले गरिरहेको बताए।

सदस्य–सचिव विष्टले जुडो पनि पदकको आशा गरिएको खेलमा राखिएको बताउँदै खेलाडीलाई उत्कृष्ट प्रदर्शन गरी हालसम्म एसियाली खेलकूदमा जुडोले प्राप्त गर्न नसकेको पदकको खडेरी तोड्दै इतिहास रच्न शुभकामना दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *