पर्यावरणमा परिवर्तन नै भाइरस महामारीको कारण!

डिसी नेपाल
१ वैशाख २०७७ ७:२५

प्राकृतिक स्रोतमाथिको अचाक्ली मानव दोहनले सन् १९७० को दशकदेखि नै पृथ्वीले थेग्न छाडिसकेको थियो। अब त झन विश्वको जनसंख्या साढे सात अर्ब नाघिसकेको छ।

हामीले प्रत्येक वर्ष उपभोग गर्ने स्रोत साधन प्रकृतिले पुर्याउन नसक्ने अवस्थामा छ। यही प्राकृतिक दोहन र वन्यजन्तुको विनासको सिलसिला बढ्दै गएपछि महामारीले सन्तुलन ल्याउन खोजेको देखिन्छ।

हालसालै चीनको हुबेई प्रान्तको वुहान शहरबाट शुरु भएको नोबेल कोरोना यही प्राकृतिक दोहन र वन्यजन्तुको विनासको उपज हो भन्ने कुरामा अब शंका रहेन।

नोबेल कोरोनाभाइरसले आजसम्म (झण्डै १०० दिन भित्र) संसार भ्रमण गर्ने क्रममा १६ लाख भन्दा बढीलाई संक्रमण र १ लाख भन्दा बढी मानिसलाई मारिसकेको छ। दिन प्रतिदिन यसले महामारीको उग्ररुप देखाउँदै छ र संसारको रुप नै परिवर्तन गर्न खोजेको छ।

धनी, गरिब, काला, सेता, आस्तिक, नास्तिक, राजा, रजौटा सबैलाई समान असर पारिरहेको छ। विश्व राजनीति निश्चल बन्दै आर्थिक संरचना ढलिरहेका छन्। मानिसमा भएका ज्ञान, विज्ञान र प्रविधि एक ‘कोरोना भाइरस’ सामु घुँडा टेकेर निरीह बनेको छ।

यसरी पृथ्वी नै लकडाउन गर्ने गरी आएको यो पहिलो महामारीको रुप भने होइन र यस्ता धेरै शक्तिशाली महामारी मानिसहरुले भोगिसकेका छन्। करोडौं मानिस समयजन्य महामारीले मरिसकेको इतिहास पाइन्छ।

कतिपय अध्ययनले यस्तै अदृश्य संसारी जीवहरुले मानिसको बिनास गराउँछ भन्ने मान्छन्। तीनै मध्ये एक हुन् अमेरिकी नोबेल पुरस्कार विजेता, सुक्ष्मजीवशास्त्री जोसुवा लिडरबर्ग। उनको अनुसार मानिसजाति विनासको एक मात्र कारण भाइरस हो। तर यसको मतलव अहिलेको कोरोना भाइरसले मानिस प्रजातिलाई विनास गर्छ भन्ने होइन।

सामान्यतया १०० सुक्ष्मजीवमध्ये १ जीवले मात्र मानिसमा हानिकारक रोग गराउन सक्छ। मेडिकल विज्ञानमा सुक्ष्मजीव भन्नाले भाइरस (बिषाणू), ब्याक्टेरिया (जीवाणू), प्रोटोजुवा, फंगस (ढुसी) आदि पर्दछन्। यी सुक्ष्मजीवले संसारमा बेफाइदा भन्दा फाइदा बढी गर्छन् भन्ने कुरामा अधिकांश वैज्ञानिक सहमत छन्।

यिनीहरु मध्ये भाइरसले पार्ने सकारात्मक असरहरुको बारेमा भने कमै अध्ययन भएको देखिन्छ। बरु यसले पटक पटक महामारी ल्याउने गरेको छ। यसमा दोष कसको हो त? कतै विश्व जलवायु परिवर्तन र भाइरस महामारीको अन्तरसम्बन्ध त छैन?

किन कि कोभिड–१९ मानवमा मात्र केद्रित छ। कतै मानवजन्य गतिविधिले नै महामारीको सिर्जना गरेको त होइन?
विश्व जलवायु परिवर्तन र भाइरस महामारीको अन्तरसम्बन्धको पूर्णरुपमा अध्ययन त भैसकेको छैन तर कुनै न कुनै सम्बन्ध भने देख्न सकिन्छ।

हालैका केही दशकमा बढ्दो महामारीमा पृथ्वीको दोहनले पनि यसमा सहयोग पुर्याएको छ। अमेरिकी जीवशास्त्री जोसुवा लिडरबर्गलाई नै मान्ने हो भने पनि मानिसले प्रकृतिमाथिको अतिक्रमण जारी राखेसम्म महामारी आइरहन्छ।

ईमोरी विश्वविध्यालयका पर्यावरणविद थोमस गिलेस्पीका अनुसार अहिलेको कोरोना भाइरस आउनु कुनै अचम्मको विषय होइन। किन कि अधिकांस रोग लगाउने सुक्ष्मजीव हामीले पत्ता लगाएका छैंनौ र हामी आगोको अगाडि राखेको नौनी जस्तै छौं, कुनै पनि बेला अर्को महामारी फैलन सक्छ। हामीले प्रकृतिको विनास यति धेरै गर्यौं कि महामारीबाट जोगिने ठाँउ नै छैन।

अहिले पत्रपत्रिकामा कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भनेर विश्व समुदायलाई जसरी बुझाउन खोजे पनि वास्तविकता के हो भने मानिस कै कारणले भाइरस आउने कुरामा अब दुईमत छैन।

भौगोलिक क्षेत्र नतोक्ने हो भने जहाँ सबैभन्दा बढी प्रकृतिजन्य मानव दोहन शुरु हुन्छ, त्यहा महामारीले जन्म लिने गर्छ। यसको प्रमाण दिँदै महामारी कितावका लेखिका सोनिया शाह लेख्छिन्, हैजादेखि इबोलासम्म सबै भाइरस मानवजन्य गतिविधिले भएका हुन्। बढ्दो जंगल विनास र शहरीकरणले गर्दा सुरुमा केही नगर्ने सुक्ष्मजीव पनि पछि खतरनाक महामरीको कारण बन्न पुग्छन्।

इबोला चमेरोबाट आयो तर उसलाई त लाग्दैन। अहिलेको कोरोना भाइरस पनि चमेरो वा शालक वा ऊँटबाट आयो तर उनीहरुमा यसले रोग लाग्दैन त? एड्स चिम्पान्जीबाट मानिसमा आएपनि कुनै चिम्पान्जी एड्सबाट मरेका छैन त?

यसको मतलव के हो भने हामी सबै जीवसँग हजारौं भाइरस हुन्छन् तर यसले सधैं रोग लगाउँदैन। नयाँ रोग भएर देखिन धेरै कुराहरुले भूमिका खेलेको हुन्छ।

मुख्यतयाः जब हामी उनीहरुको बासस्थानमा क्षति पुर्याउँछौं, तब नयाँ बासस्थान खोज्दा हामीलाई रोग लाग्ने हो। त्यसैले मानिसको शरीरको भाइरसले मनिसलाई रोग नलागेपनि अर्को जीवमा महामारी फैलाउन सक्छ।

अरु जीवमा भन्दा मानिसमै किन हुन्छ त महामारी?

महामारीको असर सबै जीवमा हुन्छ, र यसैको कारणले कतिपय जीवहरु संसारबाट हराइसकेका उदाहरण पनि छन्। सत्तरी–असी वर्ष पहिले कोस्टारिकामा पाइने भ्यागुता, अफ्रिकन जंगली कुकुरका केही जातिहरु र अष्ट्रेलियन रेन फरेष्टमा पाइने भ्यागुताको जाति हराउनुको मुख्य कारण नै महामारीलाई मानिन्छ र महामारीको कारण भने जलवायुमा आएको परिवर्तन नै हो।

कतिपय अध्ययनले मध्यपनामाको उभयचर र भारतीय द्वीपमा पाइने केही भ्यागुता जातिमा आएको घट्दोपन पृथ्वीको बढ्दो तापक्रमसँग सिधा सम्बन्ध रहेको देखाएको छ।

अहिलेसम्म मानिवजाति नै विनास हुने किसिमले महामारी पनि नआएको होइन। बिफर, स्पेनिस फ्लु, प्लेग, एड्स जस्ता महामारीले त्यो बेलाको मानव जातिको संख्या निकै घटाएको थियो।

कतिपय ठाँउमा त १० जना मध्ये २ जना मात्र बाँचेका थिए। यसको बावजुद पनि मानव सभ्यता चलिरह्यो तर यसले धेरै सामाजिक तथा आर्थिक मापदण्ड भने भत्काएर छोड्यो।

धेरै वैज्ञानिकहरू मानवजन्य महामारीमा मानिसकै दोष देख्छन्। इबोला सन् १९७६ सम्म थाहै नपाएको अफ्रिकाको आम्बुकुका आदिबासीले चिम्पान्जीबाट मानिसमा सारेका थिए। त्यतिबेला जंगलमा जाने, चिम्पान्जी, चमेरा मार्ने, र मासु काट्ने मानिसमा मात्र इबोलाले असर गर्यो र रोग लागेका मध्ये तीन चौथाइ मरे पनि।

पछिल्ला अध्ययनले पनि यही देखाएको छ कि जब–जब मानिसले पर्यावरणमा अधिक दोहन गर्छ तब महामारी फैलन थाल्छ। सन् १९७६ तिर कंगोको इबोला नदीको आसपासबाट शुरु भएको इबोलाले आजसम्म छवटा रुप परिवर्तन गर्दै पटक–पटक महामारीको देखाइसकेको छ।

चमेरा हुँदै शुरु भएको यसको कथा चिम्पान्जी, गोरिल्ला, आदि जस्ता स्तनधारी जीवबाटै दक्षिण सुडान, पश्चिम अफ्रिका, युगाण्डा, गुएना, माली, नाइजेरिया, सेनेगल, सियरालिनलगायत अफ्रिकाका अधिकांश देशहरुमा सन् २०१४÷२०१६ मा फेरि संक्रमण फैलाएर ३० हजार भन्दा बढी मानिस मारेको थियो।

अर्को संक्रमण २०१८ को अगस्टमा कंगोमा देखिएको थियो, जसले करीब ३ हजार मानिसलाई मारेको थियो। यी सबै संक्रमणहरुमा जंगल विनास एक मात्र समान कुरा थियो।

अर्का महामारीविज्ञ तथा ‘स्पिलओभरः जनावर संक्रमण र अर्को महामारी’ किताबका लेखक डेभिड क्वामेन पनि यसकुरामा सहमत छन्। उनी न्युयोर्क टाइम्समा लेख्छन्–हामी रुख काट्छौं, जंगली जनावर मार्छौं वा पिंजडामा बन्द गरेर बजारमा पठाउँछौं, प्राकितिक वातावरण भत्काउछौं जसले गर्दा त्यसका परजीवीहरुले नयाँ घरको खोजीमा हामीलाई पाँउछन् र हामी महामारीको कारण बन्छौं।’

अमेरिकी सीडीसी र नयाँ अध्ययनले पनि के देखाएको छ भने मानवजन्य महामारीजनक रोगहरू जस्तै इबोला, सार्स, फ्लू, नोबेल कोरोना बढ्दै जानुमा मानिसको जंगली जनावरसँगको संगत नै हो। सामन्यतयाः तीन चौथाई नयाँ रोगहरुको जनावरबटै आँउछ।

रेबिज, प्लेग, मर्स, सार्स, लासा ज्वरो, नीपा, जीका, नाइल भाइरस, एचआईभी, जस्ता संक्रमण जनावरैबाट मानिसमा आएका थिए। विशेष गरी यस्ता रोग मानिसमा सिधै आउँदैन बरू मुसा, चमेरो जस्ता जनावरबाट आउने गर्छ। प्रकृति विनासमा मुसा र चमेरोले चाडै प्रतिक्रिया देखाउँछ, फलस्वरुप रोगको कारक बन्छ। त्यसैले जति धेरै पर्यावरणमा असर पर्छ त्यति नै संक्रमणको गति पनि बढ्दै जान्छ।

धेरैजसो पर्यावरणविद्हरु आलो मासुजन्य गतिविधिले महामारी शुरु गर्न सहयोग पुर्याउनेमा विश्वास गर्छन्। अहिले पनि मध्य तथा पश्चिम अफ्रिकाका शहरहरुमा जंगली बादर, मुसा, चराचुरुंगी, किराफट्याँग्रा, छुचुन्द्र्रो, आदि जनावर मारेर मासु वा औषधिको रुपमा बेचबिखन हुने गर्छ।

अहिलेको नयाँ कोरोना भाइरसको लागि चीनको वुहानको जंगली जनाबरको बजारलाई नै सुरु बिन्दु मान्ने गरिन्छ। यहाँ सदियौं देखि सयौं थरीका जीवित जंगलीजनावर जस्तै ब्वाँसो, बिच्छी, सर्प, जंगली बिरालो, शालक, चमेरो, गोही, मुसा, छुचुन्द्रो, कछुवा, बादर, सालामान्डर, भ्यागुता, लोखर्के जस्ता जनावरको ब्यापार हुने गर्थ्यो।

नयाँ मासुको स्वाद फेर्न वा चिनियाँ परम्परागत उपचार पद्धतिमा यस्ता जनावरको निकै माग छ। यसले गर्दा वन्यजन्तुको अवैध व्यापार फस्टाएको छ र विश्वका कुनै पनि कुनामा यस्ता मासुजन्य वस्तुहरू सजिलै पुग्छन्। त्यसैले धेरैजसो प्रकृतिजन्य महामारी एशिया र अफ्रिकाका यस्तै मानव बस्तीबाट शुरु भएको देखिन्छ।

महामारी र जलवायुको अन्तर सम्बन्ध

युनिभर्सिटी कलेज लण्डनका प्राध्यापक केट जोन्सको अध्ययन अनुसार जनावरजन्य महामारीको कारण पर्याबरणको परिवर्तन र मानिसको बानी ब्योहोरा हो।

घना जंगलको विनास, दूरदराजमा सडकको निर्माण, बढ्दो शहरीकरण, मानव जनसंख्या बृद्धि, खनिजको दोहन आदि जस्ता गतिविधिले मानिसलाई जनावरको नजिक लैजान्छ र रोग सार्न सहयोग पुर्याउँछ।

यदि कुनै एक मानिसमा सर्यो भने त्यतिमै सीमित रहँदैन। पृथ्वीको एक कुनाबाट अर्को कुनामा पुग्न दुई दिन पनि लाग्दैन। अहिलेको कोरोनाबाट पनि देख्न सकिन्छ, चीनबाट शुरु भएको हप्ताभित्र सबै महादेश र सय दिन भित्र २०७ देशका १६ लाख भन्दा बढी मानिसमा संक्रमण भैसकेको छ। अब व्यक्त्ति वा देशको बारेमा मात्रै होइन, पुरै पृथ्वीग्रहको बारेमा एकै पटक सोच्नु पर्छ।

त्यसैले, मानव जातिको विनासको कारण मानिस आफै भएकोले जति जति मानिस मर्दै जान्छन् जंगली जनावर रमाउँदै प्राकितिक बातावरणमा रमाउन थालेको घटनाहरु देख्न र सुन्न पाइन थालेको छ। आज हामीलाई अत्याइरहेको कोरोना भाइरसबाट त हामी बाच्ने नै छाैं तर अबको दिनमा मानिसले यस्तै दिन नदेख्ने हो भने पृथ्वीको अधिक दोहन रोक्नु पर्छ।

हामीले पृथ्वीका अरू जीवप्राणी र वनस्पतिका प्रजातिसँग सह–अस्तित्वको बाटो रोज्नुपर्छ। मानिसको असीमित चाहनालाई पृथ्वीको सीमित स्रोतसाधनले धान्न सक्दैन।

त्यसैले मानिसले प्रकृतिको अन्य तत्वसँगको सहअस्तित्वमा आफ्नो अस्तित्व जोगाउनु पर्छ। होइन भने मानव सभ्यतालाई चुनौती दिन कुनै न कुनै दिन अर्को संक्रामक रोग फैलिन्छ र मानवजातिकै विनासको कारण बन्छ।

अहिले अत्यधिक प्राकृतिक स्रोतको दोहनका कारण एकातिर वातावरण प्रदूषण गरिरहेको छ भने अर्कोतिर प्राकृतिक स्रोतको संकट निम्त्याइरहेको छ।

बढ्दो सहरीकरण, औद्योगीकरण, जनसंख्या र त्यसका लागि ऊर्जाको अत्यधिक प्रयोग, वन तथा बन्यजन्तु विनाश जस्ता गैरजिम्मेवार जीवनशैलीले जलवायु परिवर्तनमा मुख्य भूमिका खेलेको छ।

नविकरण्ीाय ऊर्जाको प्रयोग, वन तथा बन्यजन्तुको संरक्षण, जनसंख्या नियन्त्रण र जिम्मेवार जीवनशैली अपनाउने हो भने यो समस्याको समाधान गर्न सकिन्छ। अहिले पनि हरेक बर्ष झण्डै नेपाल भन्दा दुई गुना (साढे २ लाख बर्ग किमि) र हरेक सेकेण्ड एउटा फुटबल जत्रै क्षेत्रको जंगल विनास भैरहेको छ।

यो क्रम आउने दिनमा अझै बढ्दैजाने निश्चित छ।  हामीसँग समय छ, त्यसैले सोचौं पृथ्वी हाम्रो मात्रै होइन। जैविक विविधता जोगाउनु नै पृथ्वीलाई स्वस्थ बनाउनु हो। त्यसैले हाम्रो राजनीति, अर्थव्यवस्था, सामाजिक व्यवस्थालाई सहअस्तित्वको सिद्धान्तमा विकास गरौं।

मासुजन्य खाध्यान्नमा कटौती गरौं, जंगली जनावरलाई माया गरौं, प्रकृतिलाई माया गरौं र सबैको बाँच्न पाउने अधिकारको संरक्षण गरौं। मानव प्रजाति मासिए बरू पृथ्वी रहन्छ तर अन्य जनावर मासिँदा माजवजाति रहिरहन्छ भन्न सकिन्न।

अब के गर्न सकिन्छ त ?

हामीले मासु खान पालेको जनावरले भन्दा जंगली जनावरको मासुले जनावरजन्य संक्रमणमा सहयोग पुर्याउँछ भन्ने विषयमा सबैको एकमत भएपनि विस्तृत जानकारी उपलब्ध छैन। यसका लागि धनी, गरिब सबैले आफ्नो ब्यबहारमा परिवर्तन गर्नुपर्छ।

हुँदाखाने र हुनेखानेको बीचको फरकले नै यसमा गतिशिलता दिइरहेको छ। महामारीले कुनै असमानता हेर्दैन, धनी, गरीव, शक्तिशाली, कमजोर सबै बराबर मानिन्छ। प्राकृतिक रहनसहन, जैविक सम्बन्ध, बासस्थान, खानपिन, आनिबानीले भने केही असर पार्न सक्छ।

जनावरबाट मानिसमा सर्दैमा हरेक रोग महामारी नै हुन्छ भन्ने छैन। मानिसबाट मानिसमा सरेपछि भने यसको खतराको बारेमा यसै भन्न सकिन्न।

इबोला संक्रमणको बारेमा अध्ययन गरेका क्यालिफोर्निया युनिभर्सिटीका प्राध्यापक ब्राईन बडर्सका अनुसार मानव संक्रमण शुरु भएपछि पहिलो कदम भनेकै लक्षण र संक्रमणको बारेमा जानकारी आदान प्रदान गर्नु हो र जोगिने कोशिश गर्नु हो।

सकेसम्म सीमित क्षेत्र वा वस्तीमा यसलाई संकुचन गर्न सकिएमा महामारी हुँदैन र थोरै मानिसले मात्र ज्यान गुमाउँछन् जुन अहिले पनि ब्यवहारिक रुपमा प्रयोग गरिएको थियो।

हामीले अब थाहा पाउनुपर्ने अर्कोकुरा के हो भने महामारीको कहिल्यै पूर्वानुमान गर्न सकिन्न। बरू यसबाट आउनसक्ने खतरनाक अवस्थाको लागि पूर्वतयारी भने गर्नैपर्छ किन कि अर्को महामारी अवश्य आँउछ ढिलो चाडो मात्रै हो।

अझै संसारमा १० हजार किसिमका स्तनधारीजन्य भाइरसहरु छन्, जसले कुनै पनि समय मानव सभ्यताको विनास गर्न सक्छ। पुराना भाइरससँग जुध्न हामीलाई केही सजिलो भएपनि हालसम्म पहिचान नभएका नयाँनयाँ भाइरसबाट लड्न भने कठिन हुने छ।

जलवायु परिवर्तनले वन्यजन्तुको बासस्थान परिवर्तन हुँदा जनावरजन्य रोगहरु विश्वव्यापी भैरहेको कारणले शताब्दियौं अगाडिका महामारीका भाइरसहरु फेरि फर्किन सक्ने जोखिम पनि बढाएको छ।

अब हामीले थाहा पाइसक्यौ, संकटमा लुक्ने ठाँउ त आफ्नै घर रहेछ, त्यसैले अर्काको घर पनि नभत्काऔं ।अर्काको घर भत्काउदा, हाम्रो घरपनि रहँदैन। सँगै बाँचौं, सँगै हासौं, कोभिड–१९ बाट त केही ज्ञान लिऔं। आज म आफ्नै घरमा छु, तपाईँ पनि आफ्नै घरमा बस्नुस् र जंगली जवावरलाई पनि उसकै घरमा बस्न दिने प्रण गरौं।

(लेखक त्रिभुवन विश्वविध्यालयका अनुसन्धानकर्ता हुन् )




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *