सफलतानजिकै पुग्दा यसरी रोकियो कोरोना भ्याक्सिनको विकास अनि बन्न सकेन भ्याक्सिन

डिसी नेपाल
१ वैशाख २०७७ १३:१३

काठमाडौं। कोरोनाभाइरसको प्रकोपसँगै विश्वभरका वैज्ञानिकहरुले यसको रोकथामका लागि भ्याक्सिन विकास गर्न आफ्नो सम्पूर्ण क्षमता लगाइरहेका छन् । यही बीचमा अस्ट्रेलियाको एडिलेडका एक प्राध्यापकले आफ्नो टिम कोभिड–१९ भ्याक्सिनको मानवमा परीक्षण गर्न केवल ६ देखि ८ हप्ता टाढा रहेको बताएका छन् । अस्ट्रेलियाको फ्लिण्डर्स विश्वविद्यालयका प्रोफेसर निकोलाइ पेत्रोभ्स्कीका अनुसार उनको टिमले केही हदसम्म सुरुवात गरेको छ । यही टिमले २००७ मा पनि सार्सको भ्याक्सिन मुसामा सफल परीक्षण गरेको थियो तर लगत्तै यो कार्यक्रमको अनुदान कटौती भएपछि भ्याक्सिनको विकास रोकिएको थियो ।

‘अहिले हामीले हामीले कोभिड १९ को जीन निकाल्यौं र कृत्रिम प्रोटिन उत्पादनका लागि सार्सको भ्याक्सिनमा त्यो जीन प्रतिस्थापित गर्यौं’ उनले अस्ट्रेलियाको एसबीएस न्यूजसँग भने । उनको टिम कोरोनाभाइरसको भ्याक्सिन बनाउन प्रयासरत विश्वभरका टिमहरुमध्ये एक हो । यदि यसले काम गर्ने प्रमाणित भएका प्रोफेसर पेत्रोभ्स्कीले यो वर्षको अन्त्यसम्म भ्याक्सिन व्यापक रुपमा उत्पादनको लागि तयार पार्ने लक्ष्य लिएका छन् । तर, उनले यदि सार्स भ्याक्सिनको मानवमा परीक्षण गर्ने बेलामा अनुदान कटौती नभएको भए यो धेरै चाँडै बन्न सक्ने बताएका छन् ।

यी दुवै रोग चमेराबाट मानिसमा फैलिएका कोरोनाभाइरस हुन् र यिनीहरुको ८० प्रतिशत डिएनए मिल्छ । ‘यदि त्यतिबेलै हामी अगाडि गएका हुन्थ्यौं र त्यतिबेलै सार्स भ्याक्सिनको मानवमा परीक्षण गरेका हुन्थ्यौं भने हामीले पहिल्यै त्यो भ्याक्सिनको सुरक्षा र प्रभावकारिता स्थापित गरिसकेका हुन्थ्यौं’ उनले भने ‘यसले हाम्रो अहिलेको भ्याक्सिन विकास कार्यक्रममा लाग्ने समयमा महिनौं कटौती गर्न सक्थ्यो ।’

अनुदान कटौतीको मारमा पर्ने प्रोफेसर पेत्रोभ्स्की एकमात्र वैज्ञानिक होइनन् । अनुदानमा विश्वव्यापी अभावका कारण कुनै पनि ल्याबले सार्स भ्याक्सिनलाई पूर्णता दिन र उत्पादन गर्न सकेनन् । कोरोनाभाइरस मर्स (मिडिल इस्ट रेस्पिरेटरो सिन्ड्रोम) को लागि पनि अहिलेसम्म कुनै पनि भ्याक्सिनले आधिकारिकता पाएको छैन र उत्पादन पनि भएको छैन । यो भाइरस पनि नोभेल कोरोनाभाइरससँग मिल्दो प्रकृतिको हो ।

प्रोफेसर पेत्रोभ्स्कीले जस्तै इङल्याण्डको अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुको एक टिमले पनि पहिले मर्सको लागि विकास गरिएको एक भ्याक्सिनलाई अहिले कोरोनाभाइरससँग लड्नको लागि रुपान्तरण गरिरहेको छ । उनीहरुले आफूहरु यो भ्याक्सिनको मानवमा परीक्षण गर्न केवल २ हप्ता टाढा रहेको र यो भ्याक्सिनलाई पूर्णता दिन ५ हप्ता टाढा रहेको बताएका छन् ।

अर्कोतर्फ अस्ट्रेलियाका चीफ मेडिकल अफिसर ब्रेन्डन मर्फीले भने समुदायलाई यो महामारीको द्रुत अन्त्यको ठूलो अपेक्षा नगर्न चेतावनी दिएका छन् । ‘हामी अवास्तविक हुन सक्दैनौं र यी कुनै पनि घोषणा जो मैले सुनेको छु, यिनीहरुले निर्धारित मितिमै सबैथोक गर्न सक्छन् भन्ने कुरामा म पूर्ण आत्मविश्वासी हुन सकिरहेको छैन’ उनले भने ‘यद्यपि यी सबै प्रतिष्ठित विश्वविद्यालयहरु हुन् र उनीहरुको क्षमताको म कदर गर्छु ।’

एकातर्फ विश्वभरीका प्रयोगशालाहरुले भ्याक्सिनको विकास गर्न आफ्नो पूरा क्षमता लगाइरहेका छन् भने अर्कोतर्फ अनुसन्धानकर्ताहरुले अहिल्यै उपलब्ध औषधीहरुलाई कोरोनाभाइरसको उपचारमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा समेत अनुसन्धान गरिरहेका छन् । संक्रामक रोगका विशेषज्ञ डा. संजय सेनानायकेका अनुसार एन्टिभाइरल औषधी रेमडेसिभिर यसअघि नै कोरोनाभाइरसका कारण सास फेर्न हुने समस्यामा प्रयोग भइरहेको छ ।

यो औषधी इबोलाको लागि बनाइएको थियो । प्रारम्भिक र सीमित अध्ययनमा यो औषधीले केही काम गर्ने देखिएको डा. सेनानायकेले बताए । ‘यो औषधीबाट २ तिहाइ सुधार भएको देखिएको छ’ उनले एसबीएस न्यूजसँग भने ‘यद्यपि यो अध्ययनको सीमितता भनेको यो र्यान्डमाइज्ड कन्ट्रोल स्टडी थिएन त्यसैले बिरामीको स्वास्थ्यमा सुधार आउनुमा औषधी मात्र नभइ अन्य कारकहरुको पनि हात रहेको हुन सक्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *