अर्थतन्त्र कसरी जोगाउने ?

डिसी नेपाल
१ वैशाख २०७७ १७:१८

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइसरको महामारीले ल्याउने आर्थिक मन्दीले नेपाललाई पनि विस्तारै प्रभावित बनाउन थालेको छ । संक्रमण फैलिन नदिन गरिएको लकडाउनले एकतिर देशभित्रको आर्थिक गतिविधि ठप्प छ भने विदेशीएका नेपालीले पठाउने रेमिट्यान्स र वैदेशिक सहयोग र अनुदान समेत प्रभावित हुने भएकाले आगामी केहि वर्ष नेपाली अर्थतन्त्रका लागि कठिन हुने अनुमान सहजै गर्न सकिन्छ ।

विश्व बैंकले सोमबारमात्र नेपालमा यो वर्ष आर्थिक वृद्धिदर १.५ प्रतिशतमा झर्नसक्ने प्रक्षेपण गरिसकेको छ । रेमिट्यान्स, वैदेशिक व्यापार प्रभावित हुँदा आर्थिक वृद्धिदरमा असर पर्ने र यसबाट माथी उठ्नका लागि विषेश योजना बनाउनुपर्ने विश्व बैंकको सुझाव दिइसकेको छ ।

यतिबेला सरकारको ध्यान भाइरस संक्रमण रोक्नमा नै केन्द्रीत छ । स्वास्थ्य सामाग्री र दैनिक उपभोग्य सामानहरुको व्यवस्थापनमा नै हम्मे हम्मे परेकाले सरकारले कोरोनाले पार्ने आर्थिक संकट र यसबाट बाहिर निस्कने योजनातर्फ समय दिएको छैन । यद्यपि कोरोनाले आर्थिक क्षेत्रमा पर्ने असर र यसबाट अर्थतन्त्र जोगाउनका लागि अर्थ मन्त्रालयल, नेपाल राष्ट्र बैंकका साथै अन्य संस्थाले अनुसन्धान सुरु गर्ने बताएका छन् ।

संवैधानिक व्यवस्था अनुसार संघिय सरकारले जेठ २५ गते बजेट ल्याउनुपर्छ । सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने समय नजिकिएकाले सोहिमार्फत कोरोनाबाट प्रभावित अर्थतन्त्र पुनरुत्थान प्याकेज आउने अनुमान गरिएको छ ।

केहि दशकयता नेपाली अर्थतन्त्र वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने रेमिट्यान्स, विदेशबाट आयात गरिएको सामानको भन्सार शुल्क र पर्यटन आम्दानीमा निर्भर छ । यसबाहेक बैदेशिक ऋण र अनुदान लिएर अर्थतन्त्र चल्दै आएको छैन । आन्तरिक उत्पादन, निर्यातको अवस्था कमजोर छ ।

कोरोनाबाट विश्व अर्थतन्त्र नै प्रभावित भएकाले नेपालको अर्थतन्त्र अझ बढि प्रभाव पर्नसक्छ । किनकी अब वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको जागीर गुमेको समाचार आउन थालिसकेको छ । अब नेपालको मुख्य आम्दानी रहेको रेमिट्यान्समा गम्भिर धक्का लाग्नेछ ।

यसैगरी, नेपालीको आयस्रोत कमजोर हुँदा उनीहरुको उपभोग क्षमतामा घट्ने भएकाले भन्सार महशुल संकलनमा पनि प्रभाव पर्छ । विश्वका ठूला र धनि देशहरु समेत प्रभावित भएकाले नेपालले प्राप्त गर्ने वैदेशिक सहयोग समेत घट्नेछ । यस्तै, कोरोनाले विश्व पर्यटन बजार नै प्रभावित भएकाले नेपालमा पनि त्यसको असर देखिनिछ ।

यो अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाउने एउटै उपाय भनेको आन्तरिक आर्थिक गतिविधिलाई बलियो बनाउनु नै हो । अब सरकारले आन्तरिक उत्पादन बृद्धि, रोजगारी सिर्जना जस्ता कार्यक्रम प्राथमिकता दिएर कार्यक्रम अघि बढाउनुपर्ने अर्थशास्त्रीहरुको समेत तर्क छ ।

पुर्व अर्थसचिव रामेश्वर खनालले भुकम्पपछि स्थापना गरिएको पुनरनिर्माणका प्राधिकरणजस्तै शक्तिशाली निकाय स्थापना गरेर कोरोना भाइरसको प्रभाव पारेको अर्थतन्त्रलाई उकास्न सकिने बताउछन् । ‘हामी पश्चिमा मुलुकहरुले जसरी बेरोजगारी भत्ताका कार्यक्रम ल्याउन सक्दैनौं, बरु आन्तरिक रुपमा रोजगारी सृजना गर्ने उद्योगहरुलाई आवश्यक पुँजी सहूलियत व्याजदरमा दिनुपर्छ’ उनले भने ।

‘भन्सार महशुल, आन्तरिक राजश्व कमी हुने भएकाले अब सरकारसँग खर्च गर्ने पर्याप्त पैसाको अभाव हुनसक्ने भन्दै खनालले अनुत्पादक खर्च कटौति गरेर उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने वताउछन् । स्थानीय स्तरमा रोजगारी र उत्पादन बढाउन कृषि क्षेत्रका कार्यक्रमहरुको पुनरमूल्यांकन गर्न, ग्रामीण पुर्वाधारमा सरकारले ब्यापक पूँजी लगानी गर्ने, ग्रामीण भेगका कृषि उत्पादनको एक तहको प्रशोधन त्यहीँ गर्ने व्यवस्था गर्ने र त्यसका लागि सरकारले पुर्वाधार तयार गरिदिनुपर्ने उनले बताए । ‘यसबाट खाद्यान्न, रोजगारी र उत्पादन एकसाथ बढ्छ, सांसद विकास कोष जस्ता कार्यक्रम कटौती गरेर, उत्पादनमा जोड दिनुपर्छ’ उनले भने

अर्का अर्थशास्त्री डा। विश्वम्भर प्याकु¥याल कोरोना कहर आर्थिक सुधारका कदम चाल्ने सुनौलो मौका भएको बताए । ‘कसले पहिले आर्थिक सुधारको काम सुरु ग¥यो भन्ने व्यक्तिगत विषयमा नलागि दोस्रो चरणको सुधार थाल्नुपर्ने बेला भएको छ,’ उनले भने ।

नेपाल कृषिप्रधान देश भएपनि आन्तरिक उत्पादनले हाम्रो माग समेत नधानेको अवस्था छ । तरकारी, दालचामललगायतका कृषि उपज आयातमा नै हामीले खबौं रकम खर्च गर्दै आएका छौं । यो आर्थिक दृश्यलाई आगामी केहि वर्षमा नै बदल्न सक्छौं । यसका लागि कृषि क्षेत्रलाई प्राथमिकता दिएर युवाहरुलाई कृषि व्यवसायमा आकर्षण गर्नसक्नुपर्छ ।

पर्यटन नेपालको लागि अर्को सम्भावनाको क्षेत्र हो । सरकारले पर्यटन वर्ष घोषणा गरेलगत्तै कोरोना महामारी सुरु भयो । पर्यटन क्षेत्रमा नेपालमा पूर्वाधार निर्माणको क्रम तिव्र भइरहेको थियो । कोरोनापछि अर्थतन्त्र उकास्न दिर्घकालिन योजनाका रुपमा पर्यटन क्षेत्रको विकास पनि सरकारको प्राथमिकतामा पर्नुपर्छ ।

अब सरकारले तत्कालका लागि राहत र दिर्घकालिन रुपमा अर्थतन्त्र चलायमान हुने गरी आर्थिक प्याकेज कार्यक्रम ल्याउन ढिला गर्नुहुन्न । आर्थिक क्षेत्रमा परेको असर अध्ययन गरि अल्पकालिन र दिर्घकालिन योजना बनाउनुपर्छ ।

कोरोना कहरबाट पाठ सिक्दै नेपाली अर्थतन्त्र दिगो र बलियो बनाउने गरी हाम्रा आगामी नीति तथा कार्यक्रम र बजेट केन्द्रीत गर्नुपर्छ । नत्र केहि वर्षपछि फेरी यस्तै समस्या आउदा फेरी हामी आन्तरिक अर्थतन्त्र दिगो र बलियो बनाउने विषयको बहस मात्र गरिरहन्छौं, जसरी ४ वर्षअघि भारतले नाकावन्दी गर्दा बहस गर्यौं ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *