सहकारीको व्यवस्थापमा चोक चोकमा घुम्ती तरकारी बजार
काठमाडौं । लकडाउनका अवधिमा उपभोक्तालाई सहज र सरल रुपमा तरकारी उपलब्ध गराउन काठमाडौंका चोक चोकमा घुम्ती तरकारी बजार सुरु भएको छ । नेपाल कृषि सहकारी केन्द्रीय संघको व्यवस्थापनमा घुम्ती तरकारी बजार सुरुवात भएको हो ।
कोरोना भाइसको संक्रमणको सम्भावित जोखिमलाई न्यूनिकरण गर्दै बजारमा देखिएको तरकारी अभाव र आकासिँदो मूल्यलाई मध्यनजर गर्दै बजारको सुरुवात गरिएको संघका अध्यक्ष खेम बहादुर पाठकले जानकारी दिए । उनका अनुसार घुम्ती पसलमा बजार मूल्य भन्दा धेरै सस्तोमा तरकारीजन्य उत्पादन विक्रि वितरणको व्यवस्था गरिएको छ।
संघले कोरोनाबाट बच्न आवश्यक पर्ने सम्पूर्ण सुरक्षाका उपायहरु अपनाउँदै बिक्रीको व्यवस्था मिलाएको जनाएको छ ।
कृषकले उत्पादन गरेका तरकारी बारीमा कुहीएर खेर जाने अवस्था नआओस भन्नेर सरकारलाई अनुरोध गरेपनि उपयुक्त वातावरण नबनाएको समेत अध्यक्ष पाठकले गुनासो गरे । “हामीले पटक–पटक किसानको आफ्नै बजारका स्थापना गर्न सरकारलाई आग्रह गर्यौं, किसानको आफ्नै बजारको व्यवस्थापन गर्न नसक्दा किसानले सहज रुपमा आफ्ना उत्पादन बेच्न पाएका छैनन् ।” बजारमा तरकारीको हाहाकार हुने तर किसानको खेत वारीमा तरकारी कुहिने अवस्थाको अन्त्य नभएसम्म सरकारले जतिसुकै ठूला कुरा गरेपनि किसानहरुको उन्नती प्रगति हुन नसक्ने बताए ।
अध्यक्ष पाठकले सोमबारबाट सुरु भएको किसानको पोको मार्फत उपभोक्ताहरुलाई सस्तो, राम्रो र ताजा तरकारी विक्रिवितरण भइरहेको बताए । बजार मूल्य भन्दा धेरै सस्तोमा आफुहरुले तरकारीजन्य उत्पादन विक्रिवितरणको व्यवस्था मिलाएको उनले जानकारी दिए ।
Facebook Comment