आइपिएलको लागि पाकिस्तानले एशिया कप रद्द गर्न नमान्ने
काठमाडौं। कोरोनाभाइरस महामारीका कारण रोकिएको इण्डियन प्रिमियर लिगको आयोजना सेप्टेम्बरमा गर्ने भारतीय क्रिकेट बोर्ड (बीसीसीआइ)को सपनामा तुषारापात भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले भारतको लिग आइपिएलको लागि आफूले आयोजना गर्ने अधिकार पाएको एसिया कप रद्द नगर्ने प्रस्ट पारेको छ । पीसीबीका अध्यक्ष एहसान मनीले पाकिस्तान एसिया कप रद्द गर्ने पक्षमा नभएको प्रस्ट पारेका छन् । एसिया कप आगामी सेप्टेम्बरमै युएइमा हुने तय भएको छ जसको आयोजना पाकिस्तानले गर्दैछ ।
एहसान मनीले मंगलबार कराचीमा भने ‘मैले यी अड्कलबारे पढेको र सुनेको छु । तर तत्कालको लागि बुझ्नुस् एसिया कप आयोजना हुने कि नहुने भन्ने कुरा पाकिस्तान र भारतको बीचको कुरा होइन । यससँग अरु देश पनि जोडिएका छन् ।’ पाकिस्तानलाई एसिया कपको आयोजनाको अधिकार दिइएको छ तर भारतले पाकिस्तानमा गएर खेल्न नमानेपछि यसलाई दुबई र अबुधाबीमा सारिएको छ ।
मनीले अगाडि भने ‘यदि त्यतिबेलासम्म क्रिकेट गतिविधिहरु सुरु भएमा एसिया कपको आयोजना महत्वपूर्ण हो । किनकि एसियामा क्रिकेटको विकास यो प्रतियोगिताबाट प्राप्त हुने रकममा निर्भर गर्छ । यो कैयौं देशको लागि महत्वपूर्ण छ जो एसियाली क्रिकेट परिषदका सदस्य छन् । यद्यपि मनीले यस वर्ष एसिया कपको आयोजना निकै चुनौतीपूर्ण भएको बताए । उनले भने ‘हामीलाई थाहा छैन त्यतिबेलासम्म स्थिति के हुन्छ तर स्थिति अनुकूल भए यो प्रतियोगिता आयोजना हुनुपर्छ किनकि यसबाट प्राप्त हुने राजश्व सदस्य देशको लागि आगामी २ वर्षसम्म हुने खेल गतिविधिको लागि बाँडिन्छ ।’
Facebook Comment