सागमा पदक जित्ने खेलाडीहरुको पुरस्कार रकम खातामै

डिसी नेपाल
४ वैशाख २०७७ ११:०८

काठमाडौं । सरकारले गत मंसिर महिनामा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा पदक जित्ने खेलाडीहरुलाई नगद पुरस्कार उपलव्ध गराएको छ । सागमा नेपालका लागि पदक जित्ने सबै ४ सय ३५ जाना खेलाडीहरुलाई उनीहरुको बैंक खाता मार्फत युवा तथा खेलकुद मन्त्रालयले पुरस्कार रकम उपलव्ध गराएको हो । गत चैत्र महिनाको अन्तिमबाट खलाडीहरुको खातामा पैसा पठाउन शुरु गरेको मन्त्रालयले हिजो सम्ममा सबैलाई पुरस्कार वितरण गरिसकेको जनाएको छ ।

नेपालका खेलाडीले १३ औं साग प्रतियोगितामा हालसम्मकै धेरै पदक जित्नेक्रममा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य सहित २ सय ६ पदक प्राप्त गरेका थिए ।
खेलाडीहरुको प्रदर्शनबाट उत्साहित बनेको सरकारले प्रोत्साहन वापतको रकम प्रधानमन्त्री केपी शर्मा ओलीकै हातबाट वितरण गर्ने तयारी गरिएको थियो । तर उपयुक्त अवसर बन्न नसक्दा व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख र एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाख रुपैंयाका दरले दिने घोषणा गरिएको रकम उनीहरुकै खातामा हालिएको हो ।

यसैगरी घोषणा मुताविक ब्यक्तिगत स्पर्धामा रजत जित्नेले ६ लाख र कास्य जित्ने खेलाडीले ३ लाख रुपैयाँ पुरस्कार पाएका छन् । टिम ईभेन्ट्समा स्वर्ण जित्ने खेलाडीले ६ लाख, रजत जित्नेले ४ लाख र कास्य जित्ने खेलाडीले २ लाख रुपैयाँ पाएका छन् । पदक विजेता मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र सम्बन्धित संघले पाउने पुस्कार रकम भने केहि दिनमा उपलव्ध गराउने मन्त्रालयले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *