कोरोना भाइरस विरुद्ध बीमा हुने, ३ सयमा ५० हजार रुपैयाँ बराबरको सुरक्षा

डिसी नेपाल
४ वैशाख २०७७ १८:४५

काठमाडौं । विश्वभरका मानिसहरुलाई त्रसित बनाएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध बीमा गर्न सकिने भएको छ ।

नेपालमा १६ जनालाई संक्रमण पुष्टी भएपछि बीमा समितिले बिहीबार सुरक्षाका लागि बीमा लेख जारी गर्न निर्देशन दिएको हो । ग्रामिण क्षेत्रसम्म न्यून आय भएको मानिसहरूमा जोखिम बढेकाले उनीहरुलाई आर्थिक सुरक्षण प्रदान गर्न बीमा योजना अघि सारिएको समितिले जनाएको छ ।

समितिका अनुसार निर्जीवन बीमा कम्पनीहरुले ५० हजार र १ लाख रुपैयाँ बराबर बिमांक बराबरको बीमा लेख जारी गर्न सक्नेछन् । ५० हजार रुपैयाँ बीमांक बराबरको बीमा लेख जारी गर्दा १ जनाको मात्र सुरक्षणमा प्रतिव्यक्ति ५ सय रुपैयाँ र परिवारका सबै सदस्यको समेत बीमा गर्दा प्रतिव्यक्ति ३ सय रुपैयाँ बीमा शुल्क लिन पाउनेछन् ।

यसैगरी १ लाख रुपैयाँ बिमांक बराबरको बीमा पोलेसी जारी गर्दा व्यक्तिगत बिमामा १ हजार रुपैयाँ र परिवारका सबै सदस्यको गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ बीमा शुल्क तोकिएको छ ।

कम्पनीहरुले कोरोना भाइरस बीमा लेख जारी गर्दा हाल कायम लघुबीमा जस्तै अघि बढाउन समितिले निर्देशन दिएको छ । यो बीमालेख पनि अन्य लघुबिमा जस्तै लघुबिमा पुलमार्फत जारी गर्न सकिने व्यवस्था गरिएको छ ।

समितिले कृषि र घुम्ती बीमा संचालन गर्न तोकिएका जिल्लाहरुका कम्पनीहरुले अनिवार्य रुपमा कोरोना भाइरस बीमा लेख समेत जारी गर्नुपर्नेछ ।

कोरोना भाइरसको बीमा लेखको १५ दिन प्रतिरक्षा अवधि तोकिएको छ । यस अवधि सकिएपछि पीसीआर रिपोर्ट पोजेटिभ देखिएमा बीमितले दावी भुक्तानी प्राप्त गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *