कोरोना संक्रमणमा फ्रान्सभन्दा नेपाल बढी सुरक्षित अनि व्यवस्थित छ
पेरिस । फ्रान्स विश्व बैंक र विश्व मौद्रिक कोषका अनुसार २०२० मा, फ्रान्स विश्वको छैटौं आर्थिक शक्ति हो। फ्रान्सको वर्तमान जनसंख्या ६ करोड ५७ लाख ९८ हजार १४७ छ । प्रति ब्यक्ति आय २५२६ अमेरिकी डलर रहेको छ । जर्मनी र ब्रिटेन पछाडि तेस्रो यूरोपीय अर्थव्यवस्था भएको मुलुक हो । जर्मनी पछाडि युरोपियन युनियनको दोस्रो सबैभन्दा बढी जनसंख्या भएको देश हो । क्षेत्रफलको हिसाबले फ्रान्स , युरोपियन युनियनमा सबैभन्दा ठूलो र युरोपमा तेस्रो ठूलो देश पनि हो। फ्रान्सेली स्वास्थ्य प्रणाली सामाजिक सुरक्षा कोष प्रणालीबाट चल्छ । सन २००८ को तथ्यांक अनुसार प्रति १,००० जनसंख्यामा डाक्टरहरूको संख्या ३२२ थियो, जुन विश्वमा नै उत्कृष्ट र उच्च दरहरूमध्ये एक हो ।
फ्रान्समा, सार्वजनिक स्कूल धर्मनिरपेक्ष र निःशुल्क छ। शिक्षकहरूको तालिम र पारिश्रमिक र कार्यक्रमहरूको छनौट राज्यको दायित्व हो भने प्राथमिक र माध्यमिक विद्यालयहरूको व्यवस्थापन स्थानीय जिल्लाको जिम्मेवारीमा पर्दछ । हाल ६ देखि १६ वर्ष उमेरका बच्चाहरूको लागि शिक्षा अनिवार्य छ। मार्च २०१८ देखि राष्ट्रपति इमानुएल म्याक्रोनले अनिवार्य ३ बर्षदेखि नै स्कूल जान मिल्ने बनाए ।
फ्रान्स प्राकृतिक सम्पदा अनि सांस्कृतिक सम्पदाले धनी देश हो । विश्वमा नै सबैभन्दा धेरै भ्रमण गरिएको देश फ्रान्स हो।
फ्रान्सको एसआईपीआरआई डाटाका अनुसार विश्वको पाँचौं ठूलो रक्षा बजेट भएको देश हो । यो विश्वको तेस्रो सैन्य आणविक शक्ति हो, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का पाँच स्थायी सदस्यहरू मध्ये एक हो जसलाई कानुनी मान्यताका आधारमा सन्धिद्वारा पाँच ‘आणविक हतियार राज्यहरू’ को रूपमा मान्यता प्राप्त छ।
नेपाल
सङ्घीय लोकतान्त्रिक गणतन्त्र , नेपाल दक्षिण एसियाली भूपरिवेष्ठित अनि हिमाली राष्ट्र हो । विश्व बैंक र विश्व मौद्रिक कोषको अनुसार २०२० मा, नेपाल विश्वको १०४ औं स्थानमा छ । प्रति ब्यक्ति आय १०२६ अमेरिकी डलर रहेको छ । नेपालको वर्तमान जनसंख्या ३ करोड १५ लाख ८३ हजार छ ।
एक जना डाक्टरको जिम्मामा २० हजार ९९१ जनसङ्ख्या पर्छ । यो संख्या आफैमा लज्जास्पद छ । नेपालको अर्थतन्त्र कृषिले धानेको छ । जनसङ्ख्याको ७६ प्रतिशत जनसङ्ख्या कृषिले धानेको छ र कुल ग्राह्यस्थ उत्पादनको ३९ प्रतिशत योगदान गरेको छ भने सेवाले ३९ प्रतिशत र उद्योगले २१ प्रतिशत योगदान गरेको छ । देशको उत्तरी दुईतिहाई भागमा रहेका पहाडी र हिमाली भूभागले बाटोघाटो र अन्य संरचना निर्माण गर्न कठिन र महङ्गो बनाएको छ। सन् २००३ सम्ममा कालोपत्रे सडकहरूको कुल लम्बाई ८ हजार ५०० किमि भन्दा केही बढी र दक्षिणमा रहेको रेल्वे–लाइनको कुल लम्बाई ५९ किमि मात्र छ।
४८ वटा धावनमार्ग र त्यसमध्ये १० वटामा कालोपत्र भएकाले हवाईमार्गको भने स्थिति राम्रो छ। यहाँ बढीमा प्रति १९ व्यक्तिका लागि १ टेलिफोन सुविधा उपल्ब्ध छ । तारजडित सेवा देशभर अपुग छ तर सहरहरू र जिल्ला सदरमुकामहरूमा बढी केन्द्रित छ । सेवामा जनताको पहुँच बढेको र सस्तो हुँदै गएकाले मोबाइल वा ताररहित सेवाको स्थिति भने देशभर राम्रो छ। नेपालमा नेपाली सेना, नेपाली सैनिक विमान सेवा, नेपाल सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल ससस्त्र वनरक्षक तथा राष्ट्रिय अनुसन्धान विभाग नेपाल गरी सशस्त्र तथा गुप्तचर सुरक्षा निकाय रहेका छन।
अब कुरा गरौ नेपालको, यी सबै कुरा जोड्नुको तात्पर्य के हो भने , फ्रान्स र नेपालबीचको आर्थिक, भौतिक अनि बिकासको दुरीलाई नजिकबाट नियाल्नका लागि हो । कोभिड–१९ का नामले विश्वभरि त्रास अनि मानवीय क्षति गरिरहेको अवस्थामा दिनहुँ जस्तो संचार माध्यममा नेपाल अनि नेपाली सरकार असफल भएको टिका टिप्पणी भैरहेको छ । नेपाली जनता, गैरआवासीय नेपाली अनि विपक्षी दलहरुबाट सरकारको तीब्र आलोचना हुने क्रम जारी छ ।
रोग, महामारी, प्राकृतिक प्रकोप आइपर्नुमा कसैको पनि हात नहुने कुरामा दुर्इमत होला जस्तो लाग्दैन । चाहे त्यो यूरोपमा होस चाहे नेपाल अनि अमेरिकामा । जनता रुष्ट छ सरकारसँग, सिमामा रोकिएका नेपाली अनि उनका परिवार पनि । दैनिक मजदुरी गर्नेको पीडा अर्कै छ, घरमा चुलो बल्छ कि बल्दैन भन्ने चिन्ताले । सरकारले राहत घोषणा गरेको छ । अन्य संघसंस्था, स्थानीय सरकार, समाजसेवीले पनि राहत धमाधम बाँडिरहेको छन् । पशुपालन गर्ने ,फलफुल अनि तरकारी खेती गर्ने अनि दुग्धजन्य पदार्थको उत्पादन गर्ने उद्यमीहरु मर्कामा परेका छन् ।
नेपालमा यद्यपि कोभिड–१९ को संक्रमण अन्य मुलुकहरुमा भन्दा कम अनि नियन्त्रणमा छ । जुन गर्ब गर्न लायक छ । कमजोर स्वास्थ प्रणालीका बाबजुद पनि रोगको संक्रमण नियन्त्रित हुनुमा सरकारले लिएको लकडाउनको निर्णय स्वागत योग्य छ । जस्ले गर्दा यो सरुवा रोग एकबाट अर्कोमा सजिलै सर्नबाट बन्चित छ । सरकारले धेरै भन्दा धेरै रोगीहरुको परिक्षण नगरेकोमा आक्रोश पोख्नेको कमी छैन। जुन कटु यथार्थ पनि हो । स्वास्थ सामग्री खरिदमा अनिमियताको खबरले बजार तातेको छ । यदि सत्य हो भने एक सचेत नागरिकको हैसियतले घोर भत्सर्ना गर्नुपर्छ अनि दोषीलाई कानुनको दायरामा ल्याएर कडा भन्दा कडा सजाय तोकिनु पर्छ । महामारी अर्थात् जनताको आँसुमा कसैले भ्रष्टाचार गर्छ भने ओहोदा, पद, पार्टी हेरी ढाकछोप गर्नु हुँदैन ।
बजारमा मेडिकल उपकरणहरुमा कालो बजारीका समाचारहरु पनि आइरहेका छन् । प्रहरी प्रशासन अनि राज्यका अन्य निकायले पक्राउ गरी अनुसन्धान अनि दोषीलाई दण्डित गर्दैछ । तथापि मास्क, पन्जा ,सेनिटाइजर बजारमा उपलब्ध छन् ।
औषधि ,खाद्य पदार्थ, पेट्रोलियम पदार्थ, ग्याँस भने सहज रुपमा खरिद बिक्रि भइ नै रहेको छ । निजी अस्पतालले महामारीको संकेत भएका बिरामीलाई उपचार गर्न नमान्नु अनि गेटबाटै बिरामी अस्वीकार गर्नुमा राज्यको फितलो कानुनी व्यवस्थाको उपज हो । भबिष्यमा पनि यस्ता महामारी नआउला भन्न सकिदैन । त्यसैले यसलाई मध्यनजर गरि बलियो कानुन निर्माण गर्न सरकार लाग्नु पर्ने देखिन्छ । स्वास्थ सेवामा खटिएका चिकित्सक अनि नर्सहरुलाई आबश्यक सुरक्षाका लागि चाहिने पिपिई, मास्क, पन्जा, स्वास्थ उपकरणहरु उपलब्ध गराउनु राज्यको दायित्वमा पर्दछ । बिदेशी मुलुकको भर पर्नु भन्दा पिपिई , मास्क सेनिटाइजर, यहीँ घरेलु विधिबाट बनाउँदा केही राहत भएको छ । हामीले स्वदेशमा नै बनाएका स्वास्थ्य सामग्री अन्तर्राष्ट्रिय गुणस्तरका छैनन् होला, तर नहुनुभन्दा यो राम्रो हो।
अब कुरा गरौ फ्रान्सको, गत डिसेम्बरमा चीनको हुबेइ प्रान्तबाट सुरु भएको महामारीका बिषयमा विभिन्न संचार माध्यमहरुले राज्यका जिम्मेवार पदमा रहेका प्रधानन्त्री, मन्त्रीलगायतलाई प्रश्न गर्दा ४५ दिन अघि फान्सलाई कुनै खतरा नरहेको अभिव्यक्ति दिरहेका थिए। विश्वको राम्रो उपचार प्रणाली अनि स्वास्थ सुविधा भएको मुलुक र छैटौं ठूलो अर्थतन्त्र भएको मुलुकमा कसरी सम्भव भयो?
चीनको वुहानबाट सुरु भएको ४५ दिन पुग्दा नपुग्दै युरोपमा महामारीले जरो गाडेपछि एकाएक राष्ट्रपतिले मात्र पाँच घण्टाको समय दिएर फ्रान्समा लकडाउनको घोषणा गरे। विकसित मुलुकको अग्रणी स्थानमा पर्ने फ्रान्सको यस्तो अवस्था छ भने विकासोन्मुख मुलुक नेपालको के आलोचना गर्नु? मास्क, पन्जा, ह्यान्ड सेनिटाइजर, पिपिईको पूर्ण अभाव छ।
फ्रान्समा अहिले चाहेर पनि यी सामग्री किन्न पाइँदैन। औषधि, बिरामीको अवस्था हेरेर एकदम कडाईका साथ मात्र उपलब्ध गराइन्छ। सिटामोल एक व्यक्तिलाई ४ दिन बिहान बेलुकी खान पुग्ने ८ ओटा भएको एक प्याकेट स्वास्थ कार्डको अभिलेख राखेर मात्र दिइन्छ । त्यो पनि एक हप्तासम्म अर्को प्याकेट किन्न नमिल्ने गरी मात्र ।
कति अस्पतालमा पिपिईको अभावका कारण फोहोर हाल्न प्रयोग गरिने प्लास्टिकबाट बनाइएका पिपिई प्रयोग गरिरहेको समाचार टेलिभिजनमा आइरहेका छन्। पिपिईको चरम अभावका कारणले धोएर पुनः प्रयोग गर्न आग्रह गरिएको छ। मार्च ९ का दिन ९ जनाको मृत्यु भएको थियो। आज ३ हप्ता पछिसम्म आइपुग्दा मृतकको संख्या १७ हजार ९ सय २० पुगिसकेको छ भने संक्रमितको संख्या १ लाख ६५ हजार काटिसकेको छ । अस्पतालमा बेड नभएर भुइँमा नै उपचार भैरहेको छ। शवलाई व्यवस्थापन गर्न कठिनाई छ। मृतकका परिवारले अन्तिम बिदाईसम्म गर्न नपाउने स्थिति छ। लकडाउन उल्लंघन गरिएको घटनामा जरिवाना अनि जेल चलानका साथै बल प्रयोगको घटना पनि देखिएको छ ।
रगतको पूर्ण अभाव छ। रक्तदान गर्न भने आवेदनमा कारण खुलाएर रक्तदान केन्द्रसम्म जना पाइने व्यवस्था छ। विकसित र उत्कृष्ट स्वास्थ्य सेवा भएका मुलुक फ्रान्सलगायत विश्वका धेरै मुलुक चीनसँग निर्भर छन्। फ्रान्सले चीनसँग अर्डर गरेको करोडौ मास्क अमेरिकाले विमानस्थलबाट नै बढी रकम तिरेर उछिट्याएको अनि इटालीले खरिद गरेको मास्क अस्ट्रियाले देशमा नै राखेको खबरले कुटनीतिक द्वन्द्व भैरहेको छ।
समयमा नै आवश्यक स्वास्थ सामग्री भण्डारण नगर्नु , सरकारी अस्पतालमा स्वास्थकर्मीको संख्या अनि स्वास्थ क्षेत्रको बजेट कटौती वर्तमान फ्रेन्च सरकारका लागि टाउको दुखाईको बिषय बनेको छ। सरकारले विभिन्न राहत कार्यक्रम प्रस्तुत गरे पनि अहिलेसम्म ब्यबहारमा लागू नभई सकेको अवस्था छ। कर्मचारीलाई साबिक तलबको ८४ प्रतिशत सामाजिक सुरक्षा कोषबाट उपलब्ध गराउने भनिए पनि अहिलेसम्म प्राप्त भएको जानकारी आएको छैन। घर भाडा, बिजुली, पानी, टेलिफोन, बिमालगायतका शुल्क नियमित रुपमा बैंक खाताबाट तिरिरहनु पर्ने अवस्था छ।
निष्कर्ष
आफू नमरी स्वर्ग देखिँदैन भने झैँ विदेशमा बस्ने नेपाली पनि एकोहोरो नेपालमा भएका गतिबिधिको मात्र खण्डन गर्ने गरिरहेका छन्। उनीहरुले आफू बसोबास गरेको मुलुकको अर्थतन्त्र बुझ्न नखोज्नाले पनि समस्या झन बढेको छ। सबैले कमजोरलाई नै प्रश्न गर्ने प्रवृत्ति नेपाली समाजको संस्कृति नै हो भन्दा फरक नपर्ला।
विपक्षी राजनीतिक पार्टीको सत्ता मोह ,च्याउ जस्ता उम्रिएका यूट्यूव च्यानल, अनलाइन पत्रिका, अनि सामाजिक संजालमा गरिने बेतुकका बहस अनि पुष्टि नहुने झुटा खबर सम्प्रेषणले समस्या अझ जटिल बन्दै गएको छ। आम नागरिकलाई घरमा नै बस्न आग्रह गर्दागर्दै पनि अटेर गरी बाहिर निस्किने प्रवृतिले पनि हामी कति असंवेदनशील छौं भन्ने देखाउँछ । सरकारले आफ्नो क्षमता अनि स्रोतले भ्याएसम्म भरपुर कोसिस गरी रहेको छ। जनता अनुसाशित हुनु पर्ने दिन आएको छ। सिंगापुर,दक्षिण कोरिया जस्ता मुलुकमा जनता अनुसाशित भएकोले रोग पूर्ण रुपमा नियन्त्रणमा राख्न सफल भएको छ। यसबाट पनि हामीले केही पाठ सिक्ने कि?
नेपालीको जीवनशैली अनि प्रतिरक्षा प्रणाली बलियो हुनु, बीसीजी खोपको प्रभाव नेपालीमा हुनु, भाइरस फैलाउने पूर्वाधार नै कम हुनु अनि संक्रमितको परीक्षण नै नहुनु जस्ता कारणले नेपालमा कोरोना भाइरसको संख्या नबढेको हुन सक्ने बिज्ञहरुको भनाइ आइरहेको छ।
तर सधै पशुपतिनाथको भरोसामा रोग नियन्त्रणको आश गर्नु भन्दा स्वास्थ क्षेत्रमा उचित लगानी अनि कडा कानुन बनाएर अघि बढ्नुको अर्को विकल्प नहुने लेखकको ठम्याइ छ । जनता सचेत अनि अनुशासित बन्नु पर्ने घडी आएको छ। सकारात्मक सोच को विकास गरौं । सामाजिक सद्भाव बढाउँ।
नेपाली साहित्य तथा विविध विधामा कलम चलाउने लेखक उप्रेती रक्तदान अभियानन्ता समेत हुन् ।
तथ्यांक समेतले सुसज्जित मीठो र अयार्थपरक लेख पढ़ने फेरि शौभाग्य मिल्यो । मिहनती लेखक भाइ प्रशान्त लाई बधाई र धन्यबाद छ ।