कोरोनाभाइरसः त्यो ‘हत्यारा’ बर्थ डे पार्टी जसले परिवारकै चिहान खन्न सुरु गर्‍यो

डिसी नेपाल
५ वैशाख २०७७ १४:५४

साओ पाउलो। ब्राजिलको साओ पाउलोमा भएको एउटा बर्थ डे पार्टीको खुसी त्यतिबेला शोकमा बदलियो जब यो पार्टीमा सहभागी भएका ३ जनाको कोरोनाभाइरसका कारण ज्यान गयो । १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो । अहिले यो पार्टीमा सहभागी भएका सबैलाई कोरोना संदिग्धको रुपमा हेरिन्छ ।

यो पार्टीको केही हप्तामै पार्टीमा सहभागी कैयौंलाई कोरोनाभाइरसको लक्षण देखिन थाल्यो । पार्टीमा २८ जना थिए । ३ जनाको मृत्यु भइसकेको छ र यी तिनै जना एउटै परिवारका हुन् । यद्यपि प्रशासनले भने अहिलेसम्म १ जनाको मात्र कोरोनाभाइरसका कारण मृत्यु भएको पुष्टि गरेको छ तर तीनै जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको मानिएको छ ।

भेरा लुसिया परेराको ५९ औं जन्मदिनको पार्टी १३ मार्चमा साओ पाउलोको इटापेर्सिया डे सेरामा गरिएको थियो । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार त्यस दिनसम्म कोरोना भाइरस संक्रमितको संख्या ९८ पुगेको थियो । त्यतिबेला कोभिड–१९ का कारण कसैको पनि मृत्यु भएको पुष्टि भएको थिएन । ब्राजिलमा कोरोनाभाइरसका कारिब ६० प्रतिशत संक्रमित साओ पाउलोमा छन् । दुई करोड बढी जनसंख्यासहित यो संसारको सबैभन्दा धेरै जनसंख्या भएको शहरमध्येको एक हो ।

यो घटनाको लगभग तीन हप्तापछि ८ अप्रिलसम्म ब्राजिलमा कोरोनाभाइरस संक्रमितको संख्या १६ हजार पार भइसकेको थियो भने यति बेलासम्म ८ सयले ज्यान गुमाइसकेका थिए । भेरा लुसिया परेरालाई कोरोनाभाइरसको महामारी ब्राजिलसम्म पुगिसकेको थाहा थियो तर उनले आफ्नो ५९ औं जन्मदिनको पार्टी रद्द गर्ने पनि सोचेकी थिइन् ।

भेरा लूसिया परेराले बीबीसीलाई भनिन्, ‘मेरो मनमा कताकता शंका थियो तर अन्तिममा पार्टी गर्ने कुरामा निश्चित गरियो । त्यति बेलासम्म कोरोना संक्रमितको संख्या धेरै थिएन ।’ त्यतिबेला ब्राजिल लकडाउन पनि गरिएको थिएन । भेरा लूसियाको जन्मदिनको पार्टी उनको घरको बगैंचामा भएको थियो जसमा परिवार २८ जना जम्मा भएका थिए । उक्त पार्टीमा भेरा लूसियाका श्रीमान् पाउलो विएराका भाइ–बहिनी पनि समावेश भएका थिए ।

पाउलो, उनका भाइ क्लोविस र बहिनी मारियाले मज्जाले पार्टी गरे तर तीनैजनालाई थाहा थिएन कि उनीहरुको मृत्यु कोभिड–१९ को संक्रमणका कारण हुनेछ । पार्टीमा भेरा लुसियाका बहिनीहरु पनि समावेश भएका थिए । लुसिया र पाउलोका भतिजा–भतिजी पनि यसका सरिक भएका थिए । पार्टी आयोजना भएको केही दिन पछि नै आधा बढी पाहुनामा रुघा–खोकी, ज्वरो र सास फर्नेलगायतका समस्या देखियो । यी सबै लक्षण कोरोना भाइरसको संक्रमणपछि देखिन्छ । यीमध्ये धेरैलाई हल्का लक्षण थियो ।

भेरा लूसियाका श्रीमान् पाउलो र उनका भाइ र बहिनीको संक्रमणको लक्षण देखिएको एक हप्ताभित्र नै मृत्यु भएको थियो । प्रशासनले मारियाको मृत्यु कोभिड–१९ का कारणले भएको पुष्टि गर्यो । मारियाकी छोरी राफेलाले बीबीसीलाई भनिन्, ‘अब हामीलाई पूर्ण विश्वास भयो कि मेरी आमाको मृत्यु कोरोनाभाइरसका कारण भएको हो । यसबाट यो थाहा हुन्छ कि यो भाइरस कति आक्रामक छ । मेरी आमाको उपचार अस्पतालमा भयो, उहाँलाई भेन्टिलेटरमा पनि राखिएको थियो तर यति गर्दासमेत उहाँलाई बचाउन सकिएन ।’

मारिया मधुमेहकी रोगी थिइन् र संक्रमणपछि उनको स्थिती तीब्र रुपमा बिग्रन थाल्यो । भेरा लुसियाको परिवारलाई पाउलो र क्लोविसको पोस्टमार्टम रिपोर्टको प्रतिक्षा छ । भेरा लुसिया भन्छिन्, ‘उनको उपचारमा संलग्न डाक्टर ९९ प्रतिशतसम्म विश्वस्त छन् कि उनीहरुको मृत्यु कोभिड–१९ का कारण भएको हो ।’

भेरा लूसिया र उनका छोरामा पनि कोरोना संक्रमणको लक्षण पाइएको थियो । अब उनीहरु दुबै ठिक छन् । भेरा भन्छिन्, ‘शारीरिक रुपमा म ठिक छु । थोरै खोकी मात्रै छ । तर यो निकै मुश्किल समय हो । हामी डरैडरमा बाँचिरहेका छौं ।’

सुरुमा त परिवारका सदस्यले विश्वास नै गर्न सकेनन् कि उनीहरु कोरोनाभाइरसद्वारा संक्रमित भएका छन् । संक्रमणपछि ठिक भएका परिवारका एक सदस्यले भने, ‘त्यतिबेला सम्म ब्राजिलमा कोरोनाका निकै थोरै संक्रमि त थिए । त्यसकारण हामीलाई लाग्यो कि यो भाइरस हामीमाझ पुग्न धेरै लामो समय लाग्नेछ ।’

उनी भन्छन्, ‘पार्टीमा समावेश हुञ्जेलसम्म परिवारका सबै सदस्याको स्वास्थ्य अवस्था ठिक थियो । त्यसकारण कसैलाई पनि थाहा छैन सुरुमा कसलाई संक्रमण भयो । यदि यसबारे थाहा भइहालेछ भने पनि हाम्रो के परिवर्तन हुन्छ र ?’

मारिया स्वास्थ्य स्थिती बिग्रिएपछि उनका दाइ ६२ वर्षीय क्लोविसको स्वास्थ्य बिग्रन थाल्यो । क्लोविसका छोरा आर्थरले बीबीसीलाई भने, ‘पार्टीको तीन दिनपछि बुवाको खोकी अत्यधिक बढेको थियो । उहाँको टाउको दुखेको थियो र ज्वारोसमेत आएको थियो । उहाँको बास्ना र स्वाद थाहा पाउने क्षमता पनि हराएको थियो ।’

मारियाको ठिक विपरित क्लोविसलाई कुनै रोग थिएन । तर यति हुँदा हुँदै पनि उनी लगातार असहज महसुस गरिरहेका थिए । आर्थरले २३ मार्चमा आफ्ना पितालाई अस्पताल पुर्याए तर त्यहाँबाट उनलाई फिर्ता पठाइयो । आर्थर भन्छन्, ‘डाक्टरले यतिसम्म पनि सोचेनन् कि यो कोरोनाभाइरस संक्रमणको घटना हुनसक्छ ।’

क्लोविस बिरामी भएपछि वेरा लुसियाका श्रीमान् पाउलोको स्वास्थ्य पनि खराब भयो । उनलाई अस्पताल पुर्याइयो । परिवारका भाइ–बहिनीमध्ये पाउलोलाई सबैभन्दा स्वस्थ मानिन्थ्यो । उनी शारीरिक श्रम पनि अत्यधिक गर्दथे । जब पाउलो अस्पताल पुगे तब उनको स्वास्थ्य तुलनात्मक रुपमा ठिक थियो । हो, उनलाई सास फेर्न गाह्रो भने भएको थियो । भेरा लूसिया याद गर्छिन्, ‘तर त्यसको दुई दिनपछि नै पाउलोलाई इन्टेन्सिभ केयर युनिटमा लगियो ।’

क्लोविस र पाउलो नीजि जीवनमा पनि एक–अर्काको नजिक त थिए नै, उनीहरुले मृत्युवरण गर्दा पनि एक–अर्काका साथ छोडेनन् । आइसीयूमा पनि उनीहरुको बेड एक–अर्काको नजिकै थियो । यी दुबैको मृत्युको कारण कोरोनाभाइरसको संक्रमण नै भएको डाक्टरहरु मान्छन् ।

अप्रिल १ मा मारियालाई हृदयघात भयो जसका कारण उनको मृत्यु भयो । क्लोविसको मृत्यु त्यसको भोलिपल्ट भयो र अप्रिल ३ मा पाउलो पनि यो संसारबाट बिदा भए । ब्राजिलमा कोभिड–१९ माथि निगरानी राख्नका लागि बनाइएको सरकारी एजेन्सीको सल्लाहमा मारिया र पाउलोलाई सिलबन्दी कफिनमा राखेर अन्तिम संस्कार गरियो ।

क्लोविसको अन्तिम संस्कार उनको इच्छा अनुसार गरियो । तीनै जनाको अन्तिम संस्कार फरक दिनमा गरियो । अन्तिम संस्कार केही मिनेटमा नै सम्पन्न गरियो । सरकारी निर्देशन अनुसार १० जनाभन्दा बढी जम्मा भएका थिएनौं ।

१३ मार्चको पार्टीमा सरिक भएकाहरु र बाँच्न सफल अहिले पनि आइसोलेशनमा छन् । कसैको स्वास्थ्य खराब भएको थियो र उनीहरु अहिले ठिक छन् तर सबैले सावधानी स्वरुप अझै केही दिनका लागि क्वारेन्टाइनमा बस्ने निर्णय गरेका छन् ।

उनीहरुले मानिसहरुलाई घरमा नै बस्न आग्रह गरिरहेका छन् । मारियाकी छोरी राफेला भन्छिन्, ‘यो फ्लू होइन । यो एक महामारी हो । यो एक निकै डरलाग्दो र बर्बर भाइरस हो ।’ यता ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले भने कोभिड–१९ को महामारीको गम्भीरतामाथि प्रश्न उठाउँदै यसलाई ‘सामान्य फ्लू’ बताउने गरेका छन् ।

लूसिया राष्ट्रपति बोलसोनारोको बयानमाथि चकित छिन् । उनी भन्छिन्, ‘बोलसोनारोले जे गरिरहेका छन्, त्यो बकवास हो । उनी जिम्मेवार पदमा छन् र उनलाई आफ्नो जिम्मेवारीबारे जानकारी हुनुपर्छ ।’ भेरा लूसियाका लागि त अहिले जीवनको सबैभन्दा ठूलो चुनौती पाउलो बिनाको जीवन रथ हाँक्नु हो । उनी भन्छिन्, ‘जीवन त चलिरहन्छ तर हामी चाहन्छौं कि हाम्रो परिवारमाथि जे भयो, त्यो अरु कसैमाथि पनि नहोस् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *