१० ओभरको टि–१० क्रिकेट लिगमा सन्दिप महंगो मूल्यमा छनोट
काठमाडौं। ठूलो अन्तर्राष्ट्रिय क्रिकेट लिगमा एकपछि अर्को सफलता पाउँदै गएका नेपाली युवा लेगस्पिनर सन्दिप लामिछाने फेरि अर्को ठूलो अन्तर्राष्ट्रिय लिगमा छनोट भएका छन् । उनी महंगो मूल्यमा टि–१० क्रिकेट लिगका लागि छनोट भएका हुन् । यसअघि सन्दिपले इन्डियन प्रिमियर लिग टि–२०, ग्लोबल टि–२० क्यानडा, क्यारेबियन प्रिमियर लिग टि–२० खेलिसकेका छन् । उनी अफगानिस्तान प्रिमियर लिग टि–२० मा समेत छनोट भइसकेका छन् । अफगानिस्तान प्रिमियर लिग भने हुन बाँकी छ ।
ठूला अन्तर्राष्ट्रिय लिगमा छनोट हुने क्रममा सन्दिप पाँचौं ठूलो प्रतियोगितामा महंगो मूल्यमा छनोट भएका हुन् । टि–१० लिगमा सन्दिपले ३० हजार अमेरिकी डलर पाउनेछन् । यस अघि भर्खरै सम्पन्न अफगानिस्तान प्रिमियर लिग ड्राफ्टमा १५ हजार डलरमा बिक्री भएका सन्दिप ग्लोबल टि–२० लिग क्यानडामा ४० हजार डलर, क्यारेबियन प्रिमियर लिगमा ५ हजार डलर तथा इन्डियन प्रिमियर लिगमा २० लाख भारतीय रुपैयाँमा बिक्री भएका थिए ।
टि–१० लिग युनाइटेड अरब इमिरेट्समा नोभेम्बर २३ देखि डिसेम्बर २ सम्म आयोजना हुनेछ । १० ओभर फर्म्याटको लिगमा सन्दिपलाई केरला किंग्सले ड्राफ्टमार्फत छनौट गरेको हो । ड्राफ्टको राउन्ड–३ मा छनौट भएका सन्दिपको टिममा इंग्ल्याण्ड कप्तान इयान मोर्गन आइकन खेलाडी र कप्तान रहेका छन् । यस्तै सन्दिपसंगै टिममा क्रिस गेल, किरन पोलार्ड, जुनैद खान, टम कुरान, सोहेल तन्बिर, दासुन शनाका, पल स्टरलिङ जस्ता खेलाडीहरु रहेका छन्।
सन्दिपको टिमको प्रशिक्षण न्यूजिल्यान्ड पूर्व क्रिकेटर ड्यानियल भिटोरीले गर्नेछन् । भिटोरी आइपिएलमा भारतीय कप्तान विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बैंगलोरका समेत हेड कोच हुन् । टि–१० लिगको पहिलो संस्करण गत बर्ष आयोजना भएको थियो जसको उपाधि केरला किंग्सले जित्ने क्रममा पन्जाबी लेजेड्सलाई पराजित गरेको थियो। त्यस संस्करणमा पनि मोर्गनले टिमको कप्तानी गरेका थिए र फाइनलमा २१ बलमा ६३ रन बनाएका थिए।
टि–१० लिगमा कुल ८ टिम सहभागी रहेका छन् जसमा मराठा अरबियन्स, पख्तुन्स, पन्जाबी लेजेन्ड्स, कराचियन्स, बंगाल टाइगर्स, केरला किंग्स, राजपुत्स, नर्थर्न वारियर्स रहेका छन्। केरला किंग्सको आइकन मोर्गन, मराठाको राशिद खान, पख्तुन्सको शहिद अफ्रिदी, पन्जाबीको शोएब मलिक, कराचियन्सको शेन वाटसन, बंगालको सुनिल नारायण, नर्थर्न वारियर्सको डरेन सामी तथा राजपुत्सको ब्रेन्डन म्याकलम रहेका छन् ।
Facebook Comment