सन्दर्भ वन्यजन्तु सप्ताह :राष्ट्रप्रमुख र सरकार प्रमुखज्यू यता पनि हेरिदिनुहोस्
पृष्ठभूमि
नेपालले हरेक वर्ष बैशाख १ देखि ७ गतेसम्म बन्यजन्तु सप्ताह मनाउने गर्दछ। यो वर्षको २५ औं बन्यजन्तु सप्ताह लकडाउने गर्दा औपचारिकरुपमा मनाउन पाएन राजधानीले। जिल्लाहरुलाई पनि परिपत्र जारी गरेर सचेतनामुलक कुनैपनि कार्यक्रमहरु नगर्न निर्देशन गरेकाले यो कार्यक्रम स्थगित गर्र्न उनीहरु बाध्य भए।
विश्व लकडाउनले प्रकृति सङ्लिएको, हावा पानी स्वच्छ र सफा भएको, बन्यजन्तु जलचर पंक्षीहरुले शान्तिको सास फेर्न पाएको , धर्ती पूरै कञ्चन र निर्मल भएको भनेर प्रकृति एवं वातावरणविद् तथा संरक्षणविद्हरुले आ–आफ्नो अध्ययन र अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिरहेका छन्। फोटो फिल्महरु पोष्ट गरिरहेका छन् ।
यो महामारीले सम्पूर्ण मानवजातिलाई एकपटक सोच्न बाध्य बनाएको छ कि प्रकृतिको दोहन र बिनासले सीमा नाघिरहेको छ र प्रकृति एवं मानव सभ्यताबीचको सन्तुलन गडबड भइसकेको छ। प्रकृति संरक्षणमा विश्व समूदायले यथेष्ठ र एकीकृत ध्यान दिन जरुरी छ।
नेपालको प्रकृति ऐना
सानो मुलकको प्राकृतिक पूँजी भण्डार गौरव गर्न लायकको छ। जैविक बिबिधताको धनी देश नेपाल संसारकै एउटा सजीव ल्याब्रोटोरी हो। यहाँँको भौगोलिक, हावापानी, सांस्कृतिक, प्राकृतिक र जैविक बिबिधता विचित्रको रहस्यमय छ। जति अध्ययन र अनुसन्धान गर्यो उति रहस्यमय र गहिरो छ।
यहाँको जैविक बिबिधताको संरक्षण मोडल उदाहरणीय र अनुुकरणीय छ। ३ खम्बे अनौठो संरक्षण मोडलले द्वन्द्धको लगत्तै हासिल गरेको शून्य शिकार उपलब्धीले विश्वलाई चकित तुल्याएको थियो। निकुञ्ज प्रशासन पहिलो र बफर जोन समुदाय तेश्रो खम्बाबीचको दोसा्रे सशक्त खम्बा नेपाली सेना हो।
राष्ट्रिय सेनाले प्रकृति संरक्षणलाई ईमान्दार काँध थापरे त्याग गरेको एकमात्र नजिर नेपालमा देख्न पाइन्छ। हाम्रो सामुदायिक बनको सफल नमूना विश्वको लागि अनुकरणीय भइसकेको थियो। तर सम्बृद्धि र बिकासको गलत ब्याख्या र बुझाइ हँुदा पछिल्ला वर्षहरुमा प्रकृति, बनजंगल।
बन्यजन्तु, प्राकृतिक सम्पदा एवं श्रोत साधनमाथिको परनिर्भता, दोहन र बिनास बढेर गएको देखिन्छ। नीति निर्माताहरु अनुदार उदासिन र आत्मकेन्द्रित हुँदा त्यसको असरले सोझै प्राकृतिक सम्पदाको नोक्सानी एवं क्षति गरिरहेको देख्न सकिन्छ।
लकडाउन असर
हरेक प्रतिकुल समय, क्रान्ति र द्वन्द्वको समय, परिवर्तनकोसमय, सुधार र बिकासको जमर्कोमा प्राकृतिक सम्पदामाथि धावा बोल्ने र आक्रमण गर्ने पुरानो नजिर लकडाउनको संकटमा पुनरावृत्ति भएको देखिन्छ।
फुर्सदिला केही युवाहरु सामाजिक दूरीको आह्वानलाई लत्याएर समूह बनाई निकुञ्ज आरक्षण संरक्षण क्षेत्र, बन क्षेत्रमा चोरी सिकार काठ तस्करी , बन पैदावर चोरी गर्न अवैध घुसपैठ गरेका घटनाहरुहुनु प्रकृति विरोधी दुःखद समाचार हुन्।
चुनौतीलाई अवसरमा बदल्ने मौका
निकुञ्ज प्रशासन कर्मचारीहरुलाई लकडाउनको आदेश छ। त्यो आदेश अझ कडाइका साथ पालना गर्न त्यहाँ तैनाथ नेपाली सेनाको प्रोटेक्सन यूनिटहरुलाई निर्देशन छ। अन्य बन पदाधिकारी र कर्मचारीहरुलाई आ–आफ्नो कर्मक्षेत्र र कार्यालय नछाड्ने निर्देशन छ।
प्रकृतिको स्वर्गका ती तमाम कार्यकारी मालिकहरु आ–आफ्नो जिम्मेवारी क्षेत्रमा निर्वाधगस्ती गर्न, सुरक्षा कारवाही गर्न र नाईट क्याम्पिङ गर्न स्वतन्त्र छन्। महंगो शुल्क तिरेर पनि अरुले गर्न नपाउने यी एडभेन्चरस गतिविधिहरु ढुक्क र एकाग्र भई सञ्चालन गर्न र आफ्नो जिम्माको क्षेत्र सुरक्षित राख्न सबैले स्वस्फूर्त जोडबल लगाएकोकुरा यसबाट प्राप्त हुने परिणमले देखाउने हो ।
लकडाउन अवधिमा सयौंको संख्यामा निषेधित क्षेत्रमा अवैध प्रवेश गर्ने अपराधीहरु बन्दुक, बारुद, बञ्चरो, पासो र जालहरुका साथ पक्राउ परेको घटनाले प्रकृतिमाथिको आक्रमण र दबाबलाई पुष्टि गर्छ। कोरोना भाइरससँग लड्नुपर्ने संकटको समयमा संरक्षणकर्मीहरु २ वटा दुश्मनसँग लडेर बहादुरी प्रदर्शन गरिरहेका छन्।
पहिलो दुश्मन कोरोना र दोश्रो चोरी शिकारी र तस्कर। फिल्डस्थित फ्रन्टलाइन र संरक्षणकर्मीहरुले बढाएको संरक्षण सक्रियता र संरक्षण त्याग वास्तवमा तारिफयोग्य छ। प्रकृतिका ती सच्चा सेवकहरु प्रशंसा र तारिफका पात्रहरु हुन्।
तिनले अहोरात्र खटेर चुनौतिलाई अवसरमा बदलेका छन्। आगामी दिन झनै चुनौतिपूर्ण हुने निश्चत भएकोले त्यो फिल्डको संरक्षणर सकियतालाई लामो समयसम्म जारी राख्न अपरिहार्य छ।
केन्द्रको भूमिका
वन्यजन्तु सप्ताहको मर्म र भावनालाई साकार पार्न केन्द्रको भूमिका महत्वपूर्ण हुन्छ।आफ्नो जीउ ज्यान दिएर अहोरात्र खटिएका फिल्ड कर्मचारीहरुलाई रक्षा सेवा कल्याण र सम्मान गर्ने काम केन्द्रको हो। प्रकृति संरक्षणको पवित्र उद्देश्यप्रति हाम्राे सरकार प्रतिबद्ध र कटिबद्ध छ भन्ने स्पष्ट सन्देश फिल्डमा गएको हुनुपर्छ।
हामी सुरक्षित छौं र हाम्रो रगत, पसिना त्यागको कदर तथा सम्मान हुन्छ भन्ने सुरक्षा प्रत्याभूति हुनुपर्दछ फ्रन्टलाइन स्टाफहरुलाई।
प्रकृतिले राजनितिसँग सरोकार राख्दैन। त्यसले राजनितिक चिन्दैन। त्यसले केवल सिधा रक्षा सेवा कल्याण्को मात्र अपेक्षा राखेको हुन्छ। संरक्षणको खम्बा सेनाले अपेक्षा राख्ने र गर्व गर्ने एउटा प्रमुख विषय तथा एजेण्डा पनि त्यही हो। प्रकृति संरक्षणको जिम्मेवारीलाई अराजनीतिक राखौँ।
सबैले एकछत्र संरक्षण भाव प्रकट गरौँ । तसर्थ जुनसुकै दल र गुटको सरकार होस्, प्रकृतिले सधै संरक्षण पाउनु पर्छ। प्रकृति आफैं पवित्र स्थल हो। धार्मिक स्थल हो। पुण्यभूमि हो। तसर्थ, त्यसलाई व्यापार, बिक्री, दोहन, बिनास गर्न पाईदैन। राष्ट्रिय सेनाले राखेको अर्को स्पष्ट अपेक्षा र दृढ संकल्प त्यही हो।
भ्रष्टाचार मौलाएर बहुलाएर कण कणमा पुगिसकेको मुलुकमा यो पवित्र क्षत्रको पवित्रता कसरी कायम राख्ने? कम्तीमा यो पूण्य क्षेत्रलाई कसरी भ्रष्टाचाररहित राखेर धर्मकमाउने? केन्द्रको अर्को महत्वपूर्ण अभिभारा र व्यवहारमा फिल्डसम्म उतारेर छर्लङ्ग देखाउने कुरा हो यो।
सरकारबाट सम्पादन हुनुपर्ने कामहरु
गैंडा गणना : पोहोरसाल अनायस स्थगन गरिएको गैंडा गणनाको काम यो वर्ष पूरा गर्ने योजना थियो । लकडाउनले गैंडा गणनाको काम नरोकियोस भन्ने संरक्षणविद्हरुको चाहाना थियो । यो महत्वपूर्ण काम फत्ते गर्ने सम्पूर्ण जिम्मेवारी र अभिभारा फिल्डको हो ।
त्यसको लागि फिल्ड तमतयार र प्रतीक्षरत थिए । यदि गैंडा गणनाको काम प्राकृतिक प्रकोप र प्राविधिक कारणले नगर्ने निर्णय लिने हो भने चितवन राष्ट्रिय निकुञ्जको गैंडा क्षतिको गुदी कारण पत्तो लगाई भरपर्दो सुुरक्षाको प्रत्याभूति दिन यो निकुञ्जमा विशेष अध्ययन अनुसन्धान र समस्या पहिचान सवं समाधानको विकल्प अगाडि सार्नुपर्दछ ।
पाटे बाघ संरक्षण प्रगति : नेपालले पाटे बाघ दोब्बर बनाउने संकल्प गरेको छ । त्यो ऐतिहासिक संकल्पको समयसीमा नजिक आइसकेको छ । सन् २०२२ सम्ममा पाटे बाघ दोब्बर बनाउने नेपालको सफल कथा सुन्न विश्व प्रतिक्षारत छ । तर, बाघ संरक्षको पवित्र उद्देश्यलाई बाधा पु¥याउने चुनौतिहरु के के हुन् ?
बाँकी थोरै समयको सदुपयोग कसरी गर्ने ? गतवर्ष मात्र चितवन राष्ट्रिय निकुञ्जमा २७ पाटेबाघ घटे । त्यहाँको बाघको छाला मकवानपुरमा बरामद भयो । गत महिना बाँकेको बाघको छाला दाङमा बरामद भयो । चोरी शिकारी गोप्य रुपमा भइरहेको दरो प्रमाण हो त्यो । नभेटिएका प्रमाण अरु धेरै हुन सक्दछन् ।
गत वर्ष वर्दियामा बाघ मारेर गाडेको अवस्थामा संरक्षणकर्मीहरुले पत्तो लगाए । २ वटा पाटे बाघले सडक दुर्घटनामा ज्यान गुमाए । एउटा पाटे बाघ सडक दुर्घटनामा घाइते भएर राम्रो उपचारको अभावमा बर्दिया राष्ट्रिय निकुञ्जमा छट्पटाएर बसिरहेको छ । सायद शुक्लाफाँटाको बाघ हुनु पर्दछ ।
विक्षिप्त भएर २५ सय मिटरको उचाइमा डढेलधुरा पुगेर क्यामरा ट्रयापमा परेको खबर गत हप्तामात्र सार्वजनिक भएको छ । यी तमाम चुनौतिहरुको समीक्षा भएको छैन ।
प्रगति विवरण राष्ट्रिय बाघ संरक्षण समितिका अध्यक्ष प्रधानमन्त्रीलाई जानकारी गराइएको खबर छैन । यो समितिको बैठक बोलाएर यति महत्वपूर्ण एजेण्डाको बारेमा छलफल गर्न र बाघ संरक्षणको संकल्पलाई सफल बनाउन कडा निर्देशन दिन बिलम्ब भइसकेको छ ।
एनिमल अस्पताल संचालन : वन्यजन्तु संरक्षणको नाम कमाएको सानो मुलुकमा एनिमल अस्पताल बनेको ३ वर्ष पूरा भइसको छ । अस्पताल संचालन गर्न बजेट, सहयोग, जनशक्ति केहीको खाँचो छैन । तर खाँचो केन्द्रको इच्छाशक्ति प्रतिवद्धता र संकल्पको छ ।
अस्पताल संचालनमा राजनीति, आन्तरिक किचलो, तँछाड मछाडको स्वार्थ बाजिदा हाम्रा बिरामी वन्यजन्तुको घाउमा मलम लगाउन सकिएको छैन । निर्माण कार्य पूरा भई संचालनको साइत कुरेर बसेको यो अस्पतालाई केन्द्रले शीघ्र संचालनमा ल्याउनु पर्दछ ।
न्युयोर्कस्थित बोङक्स जु मा हालै ४ वर्षको नाडिया नामको मलायन बाघलाई कोभिड–१९ पोजेटिभ भेटिएपछि संरक्षणविद्हरु चिन्तित छन् । उसकी बहिनी आजुल, २ अमुर बाघ र ३ अफ्रिकन सिंहरु सोही निकुञ्जमा अरुचि र सुख्खा खोकीले बिरामी परेका छन् ।
हेरालु मान्छेबाट बाघमा संक्रमण भएको भनिएको छ । यो समाचारले विश्वमा अर्को रहस्यमय सनसनी पैदा गरेको छ । हाम्रो वन्यजन्तुलाई निरन्तर निगरानीमा राख्न अध्ययन अनुसन्धानको दायरा बढाउन, स्वास्थ्य अवस्थाको परीक्षण गरेर जानकारी लिन र घाइते बिरामीको छिटो उपचार गरेर निको पार्ने कामको लागि उक्त अस्पताललाई छिटो संचालनमा ल्याउन मनासिव हुने छ ।
राष्ट्रिय प्राणी उद्यानको संचालन : एकजना व्यक्ति विशेषको बगैचामा उसबेलाको सानो र कम जनसंख्याको राजधानीको लागि स्थापना गरिएको केन्द्रीय सदर चिडियाखाना सानो र साँघुरो भएको छ ।
त्यो समस्या समाधानको लागि सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान बनाउनेनेपाल सरकारको निर्णय धेरै वर्षदेखि अलपत्र परेर सुस्त गतिमा काम भइरहेको छ । त्यसलाई तिब्रता दिन राजधानीको सौन्दर्यता बढाउन राजश्वको श्रोत बृद्धि गर्न केन्द्रले तदारुकताका साथ काम अगाडि बढाउन जरुरी छ ।
स्थानीय युवा चोरी शिकारी नियन्त्रण सञ्जाल (सि बि ए पि यू)— द्वन्द पछाडिको शिथिल र खुम्चिएको सुरक्षा अवस्थालाई सिमेन्ट भरेर बजबुत गर्न सि वि ए पि युले महत्वपूर्ण र उल्लेखनीय भूमिका निर्वाह गरेको थियो । सायौं थान बन्दुक सयौं थान वन्यजन्तुका अंग बरामद गरी वन्यजन्तुलाई एक लाइन भरपर्दो सुरक्षा कवच प्रदान गर्ने यो संजाललाई सक्रिय राखेर संरक्षण टीममा आवद्ध गर्न बान्छनीय हुने छ ।
टीमविल्डिङ्ग र टीमवर्क : प्रकृति संरक्षणको काम ज्यादै बृहद, जटिल, महङ्गो र चुनौतिपूर्ण छ । यो कसैले एक्लै दुक्लै गर्न सक्ने काम होइन । तसर्थ संरक्षणमा समर्पित सम्पूर्ण स्टेकहोल्डर्सलाई एउटा छातामुनि साझा मञ्चमा आवद्ध गरेर परिचालन गर्दा यस्तो टीमवर्क सधै सफल भएको नजिर छ ।
टीम विल्डिङ्ग गर्ने काम मुख्यत केन्द्रमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको हो । केन्द्रदेखि फिल्डसम्म टीमवर्कको राम्रो अभ्यास हुने हो भने प्रकृति संरक्षणको क्षेत्रमा नेपालले सधै कायापलट गरिराख्न सक्ने छ ।
फराकिलो संरक्षण दायरा : हिमाल सफाइको अभियान ज्यादै प्रशंसनीय छ । अव हिमाल संरक्षणको अभियानलाई तिब्रता दिएर हिउँ चितुवा, कस्तुरी, घोडल, नावर लगायतका हिम चितुवाको आहार संरक्षणको क्षेत्रमा विशेष ध्यान दिन जरुरी छ। जल र जलचर (गोही/डल्फिन/माछा/कछुवा)को संरक्षणको नयाँ आयोजनाहरु तर्जूमा गरेर कार्यान्वयन गर्न आवश्यक देखिन्छ । यसरी प्रकृति संरक्षणको दायरा फराकिलो र सन्तुलित बनाउन सकिन्छ ।
सभा सम्मेलन : विश्व महामारी साम्य भएपछि प्रकृति संरक्षणका नयाँ चुनौतिहरु पहिचान गर्न र समाधानको प्रभावकारी उपाय खोजी गर्न प्रकृति तथा वातावरणविद, संरक्षणविद्, विज्ञहरु सम्मिलित राष्ट्रिय, क्षेत्रीय अथवा अन्तर्राष्ट्रिय गोष्ठी तथा सभा सम्मेलनको आयोजना गर्नु बान्छनीय हुने छ । त्यसले परिवर्तित विश्वको प्रकृति संरक्षणको नवीन मोडल पहिचान र सिफारिस गर्न मद्दत पु¥याउने छ । र नेपालको प्रकृति संरक्षण प्रतिवद्धता अभिव्यक्त गर्न तथा सहयोग जुटाउन उपयोगी हुने छ ।
निचोड : अन्य वर्षहरुको भन्दा महामारीले सन्त्रास फैलाएर लकडाउनमा राखेको वर्षको वन्यजन्तु सप्ताह झन प्रभावकारी र सफल सिद्ध भएको पंक्तिकारको विश्वास छ । वन्यजन्तु चरम विनास र दुरुपयोगबाट फैलिएको भाइरसको यो नयाँ परिवेमा फिल्डमा तैनाथ संरक्षणकर्मीहरु यति धेरै चनाखो, सजग, सतर्क र सक्रिय भएको सायद पहिले देखिएको थिएन ।
प्रकृति दोहन र विनासको गहिरो चोटले सम्पूर्ण मानव जीवनलाई संवेदनशील र उत्तरदायी बनाउन खोजेको देखिन्छ । यो जिम्मेवार मानव सम्वेदनालाई हरेक राज्य र उत्तरदायी सरकारले समयमा बुझ्न , मनन गर्न र रचनात्मक भविश्यतर्फ केन्द्रिकृत गर्न विलम्ब गर्नु हुदैन ।
फिल्डमा ताई तातेको बेला केन्द्रमा बिंडपनि तातिनुपर्दछ र फिल्डमा खट्टिएका बहादुर र त्यागी संरक्षकहरुको हौसला, मनोवल बढाइदिनु पर्दछ । साथै कोरोना भाइरसको होस अथवा प्रकृतिको दुश्मन त्यसको ठीक पहचिान, ट्रयाकिङ्ग गरेर बिरामी तथा दोषीको पहिचान गर्ने र उपचार गर्ने गराउने काम हरेक हामी नागरिकको हो ।
हामी सबैले हाम्रो समुदाय घर र परिवारका संरक्षणकर्मी हौं । तसर्थ, संरक्षणको तेश्रो खम्बा बफर जोनका समूदाय र तिनका सि बि ए पि यू एवं युवा संजाल चनाखो सक्रिय भएर कोर एरियाको संरक्षणकर्मीलाई पूरापूर सहयोग गर्नु पर्दछ ।
निकुन्जको ५० प्रतिशत हकदार बफर जोनले संरक्षण विरोधी हर्कत र क्रियाकलाप कदापी हुन दिनु हुँदैन। निकुञ्जका वास्तविक हकदारहरुले आ–आफ्नो निकुञ्जको स्वामित्व ग्रहण गरिदिने हो भने हाम्रा निकुञ्ज आरक्ष, संरक्षण जोन र वन्यजन्तुलाई रामराज्य प्राप्त हुने छ । त्यहाँ स्थायी शान्ति छाउने छ ।
अन्तमा, प्रकृतिको क्षेत्र व्यापक र वृहद छ । सबैभन्दा माथि छ । सर्वाधिक महत्वको यो पवित्र जिम्मेवारी राष्ट्राध्यक्ष र सरकार प्रमुखको चासो र चिन्ताको विषय हुनु पर्दछ ।
त्यो अन्तर्राष्ट्रिय आवश्यकताका र अभ्यासलाई हाम्रा राष्ट्राध्यक्ष र सरकार प्रमुखले आफ्नो प्राथामिकतामा राखिदिनु पर्दछ ।त्यसैले चेन अफ् कमाण्डका सम्पूर्ण पदाधिकारीहरुलाई जिम्मेवार र उत्तरदायी बनाएर फिल्डका फ्रन्टलाइनर्स स्टाफहरुलाई व्यापक उर्जा र हौसला प्रदान गर्ने छ ।
सामान्य तर झन् सम्वेदनशील घडीको २५ औं वन्यजन्तु सप्ताहले हामी सम्पूर्ण मानवजातिलाई संरक्षणमा जुट्ने प्रेरणा देओस् यही शुभकामना ।
लेखक संरक्षणविद् हुन् ।
Facebook Comment