थानकोट हुँदै राजधानी छोड्न लागेका श्रमिक त्रिभुवन पार्क क्याम्पमा

डिसी नेपाल
६ वैशाख २०७७ १७:२२

काठमाडौं। थानकोट नाका हुँदै घर जान लागेका नागरिकहरुलाई चन्द्रागिरि नगरपालिकाले क्याम्प बनाएर राखेको छ।

लकडाउनका कारण हिँडेर आफ्नो घर जान लागेका नागरिकलाई चन्द्रगिरि नगरपालिकाले थानकोटमा क्याम्प बनाएर राखेको हो।

लकडाउनका कारण बाटोमा अलपत्र परेका श्रमिक, मजदुरलाई नगरपालिकाले क्याम्प बनाएर राखेको हो। विभिन्न जिल्लामा मजदुरी गर्दै आएका तर लकडाउनका कारण उपत्यका हुँदै हिँडेर घर जान लागेका उनीहरुलाई खाने र बस्ने व्यवस्थासहित क्याम्पमा राखिएको छ।

 कुनै पनि नागरिकले कष्ट झेल्न नपरोस भनेर खाने, बस्ने व्यवस्थासहित स्वास्थ्य जाँच गरी क्याम्पमा राखिएको सांसद अञ्जना विशंखेले बताइन्। थानकोटमा रहेको त्रिभुवन पार्कमा निर्माण गरिएको क्याम्पमा अहिले ३ सय जना रहेको उनले बताए।

 

त्रिभुवन पार्क बस्तीभन्दा टाढा छ। पिकनिक स्पट भएकाले लक डाउनको समयमा अन्य कुनै पनि व्यक्तिको सम्पर्कमा उनीहरु पुग्न नसक्ने उनले बताइन्। विभिन्न १५ वटा स्टल बनाएर उनीहरुको खाने बस्ने व्यवस्थापन गरिएको छ। नेपाली सेनाले डिसइन्फेक्सनको काम गरिरहेको छ। स्वास्थ्य जाँच कक्ष निर्माण गरी उनीहरुको स्वास्थ्य पनि जाँच भइरहेको छ।

तराईका विभिन्न जिल्ला जाँदै गरेका श्रमिकहरुले क्याम्पका कारण खान बस्न सजिलो भएपनि कुनै व्यवस्था गरी घरसम्म जानपाए हुन्थ्यो भन्ने धारणा व्यक्त गरेका छन्।

सामाजिक दूरी कायम राख्न विभिन्न समूह बनाएर आफ्नो समूहमा भएका समस्या समूह नेता मार्फत भन्ने व्यवस्था गरिएको छ। छुट्टै हात धुने व्यवस्था गरिएको छ। यसैगरी स्यानिटाइजर र मास्क पनि उनीहरुलाई दिइएको छ।  क्याम्पबाट कोही बाहिर जान नपाओस भनेर प्रहरीले चोकचोकमा गस्ती गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *