परीक्षणको दायरा र गति बढाऔं : नेपाली कांग्रेस
काठमाडाैं । नेपाली काँग्रेसले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको एवं लकडाउनको अघिल्लो साता नेपाल फर्केका दुई लाख बढी नागरिकको न्यून सङ्ख्या मात्रै क्वारेन्टाइनमा बसेको स्थिति दृष्टिगत गरेर परीक्षणलाई समुदायस्तरमा पुर्याउन अत्यावश्यक बनेको ठहर गरेको छ । कांग्रेस पदाधिकारी काे शनिबार बसेकाे बैठकले यस्ताे आग्रह गरेकाे हाे ।
त्यसैले ‘घुम्ती परीक्षण शिविर’ मार्फत परीक्षणको दायरा र गति बढाउन बैठकले माग गरेको मुख्य सचिव पौडेलले बताए । नियमितरुपले सञ्चालित अस्पतालमा कोरोना परीक्षण र उपचार गरिँदा त्यसले सङ्क्रमण व्यापक फैलन भूमिका गरेको कतिपय देशको अनुभवबाट शिक्षा लिँदै ‘कोरोना उपचार केन्द्र’ को अलग व्यवस्था गर्न बैठकले सरकारसमक्ष माग गरेको छ ।
साथै अन्य रोगका बिरामीले यस बीचमा कैयौँ जिल्लामा सहज उपचार पाउन नसकेको विषयलाई गम्भीरतापूर्वक लिएर कार्य गर्न बैठकले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
काँग्रेसले अग्रभागमा रहेर कार्य गरिरहेका स्वास्थ्यकर्मीलाई कतिपय ठाउँमा हतोत्साहित गर्ने व्यवहार भएका विषयलाई गम्भीरतापूर्वक लिँदै बैठकले त्यस्तो स्थिति दोहोरिन नदिन एवं स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबीच कहीँ पनि असमझदारी उत्पन्न हुन नदिन परिपक्व समन्वयका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
स्वास्थ्यकर्मीलाई पर्याप्त गुणस्तरीय पिपिई अझै पनि पु¥याउन नसकिएको विषयलाई सरकारको गैर जिम्मेवारीपनका रुपमा लिँदै बैठकले सबै अत्यावश्यक सामग्री तत्काल पर्याप्त प्रबन्ध गर्न र उपलब्ध गराउन सरकार समक्ष माग गरेको उनले बताए।
स्वास्थ्य सामग्री खरिदको अनियमिततामा संलग्नलाई पदमुक्त गरेर अनुसन्धानलाई सघाउन अघिल्लो बैठकले गरेको माग यो बैठकले पुनःदोहो¥याएको छ । साथै कुनै पनि प्रकृतिको दबाबबाट मुक्त रहेर अनुसन्धान गर्न बैठकले अपिलसमेत गरेको छ ।
Facebook Comment