पसलमा भएको ग्यास पाउन नसकिएको गुनासो

डिसी नेपाल
६ वैशाख २०७७ २०:३१

काठमाडौं । बन्दाबन्दीमा ग्राहकको घरमै ग्यास पुर्‍याउन हिँडेका व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि पसलमा भएको ग्यास उपभोक्ताले नपाउने भएका छन् ।

गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलका व्यवसायी कृष्णवीर श्रेष्ठ प्रहरीले आफूलाई नियन्त्रणमा लिई घण्टौँ राखेकाले उपभोक्ताका घरघरमा लैजान नसकिने भएको बताउछन्। उपभोक्ता भने ग्यास नपाइने भएपछि भोकभोकै मरिने चिन्ता हुनलागेको गुनासो गर्छन् । काठ क्षेत्रका ग्रामीण भेगमा तीन चार किलोमिटरको दूरीमा मात्र ग्यास पसल छन् ।

सुन्दरीजलमा प्रहरी प्रभाग भए पनि बौद्धबाट आएको प्रहरीको भ्यानले मोटरसाइकलमा ग्यासको सिलिण्डर बोकेर अन्यत्रै हिँडेको भन्दै नियन्त्रणमा लिएको श्रेष्ठको गुनासो छ । घण्टौँ प्रहरीको नियन्त्रणमा बसेपछि वडा अध्यक्षलाई फोन गरेर जानकारी गराएपछि मात्र आफू छुटेको उनको भनाइ छ । श्रेष्ठका ग्राहक गोकर्णेश्वर–४ सम्म र कागेश्वरी मनोहरा नगरपालिका–१ मा पनि रहेका छन् ।

कागेश्वरी–१ का स्थानीयवासी नवीन्द्र ढकाल अरु साधनसमेत नचलेकाले चार किमीसम्म ग्यास बोकेर हिँड्न पनि मुस्किल हुने बताउछन्। पहिले दाउराले खाना बनाउने गरेपनि हाल ग्यासमै भरपर्दा भोकभोकै बस्नुपर्ने हो कि भन्ने चिन्ता बढेको उनको गुनासो छ । बन्दाबन्दीमा नगरपालिकाले स्वयंसेवी खटाएको भने पनि सहजीकरणका लागि पहल हुने गरेको छैन ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्की ग्यासलगायत अत्यावश्यक सामग्री बोकेका सवारी रोकेर व्यवसायी नियन्त्रणमा लिने निर्देशन नदिएको बताउछन् । खाद्य सामग्री, तरकारी र ग्यासलगायत अत्यावश्यक सामग्रीका पसल बिहानमात्र खुला गर्ने निर्णय बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा नगरपालिका र काठमाडौँ महानगरपालिका–६ ले गरेको जानकारी प्रहरीलाई प्राप्त भएको पनि उनले बताए ।

बजारमै भर पर्नुपर्ने नुन, चिनी, तेलजस्ता उपभोग्य वस्तुसमेत पाउन मुस्किल हुनथालेको स्थानीयवासीको भनाइ छ । बिहीबारदेखि नगरपालिकाले बिहान ९ः०० बजेसम्म मात्र पसल खोल्ने गरी सबै वडालाई निर्देशन दिएको गोकर्णेश्वरका प्रवक्ता मनोजकुमार ढुङ्गाना बताउछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *