अमेरिकामा लकडाउनविरुद्ध राइफल बोकेर सडकमा उत्रिए युवा
काठमाडौं। कोरोनाभाइरसका कारण गरिएको लकडाउन र घरमै बस्ने निर्देशनविरुद्ध अमेरिकामा ठूलो मात्रामा विरोध प्रदर्शन भइरहेको छ । द टेलिग्राफको रिपोर्ट अनुसार मिशिगन, मिन्नेसोटा, केन्टुकी, उटाह, नर्थ क्यारोलिना, ओहियो लगायतका राज्यमा नागरिकहरुले लकडाउनको विरोध गरेका छन् । विरोध गर्नेहरुमध्ये केही राज्यका रिपब्लिकन गभर्नर छन् । केहीमा भने डेमोक्रलेटिक पार्टीका पनि छन् । प्रदर्शनकारीहरुले लकडाउनका कारण अर्थतन्त्रमा पर्ने खराब असरलाई मुद्दा बनाएर उठाइरहेका छन् ।
अमेरिकामा कोरोनाभाइरसका कारण ठूलो संख्यामा मानिसहरु बेरोजगार भइसकेका छन् । यी मानिसहरुलाई घरभाडा तिर्न र महिनाको खर्च चलाउन पनि समस्या भइरहेको छ । ट्रम्प सरकारले अमेरिकीहरुलाई १२०० डलर आर्थिक सहायता दिने घोषणा पनि गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समेत बजार बन्द गर्ने र लकडाउनको विपक्षमा छन् । शुक्रबार ट्रम्पले कैयौं ट्वीट गर्दै राज्यहरुमा चलिरहेको लकडाउन विरोधी प्रदर्शनलाई समर्थन गरेका छन् । ट्रम्पले ‘लिबरेट मिन्नेसोटा, लिबरेट मिशिगन, लिबरेट भर्जिनिया’ लगायतका शब्दको प्रयोग गरेका छन् ।
मिशिगनको राजधानी लेन्सिङमा लकडाउनको विरोध गरिरहेका केही प्रदर्शनकारीहरु आफ्नो साथमा राइफल लिएर सडकमा उत्रिएका थिए । लेन्सिङमा सुरुवातमा त प्रदर्शनकारीहरु कारमै बसिरहे र ट्राफिक जाम गरिदिए । पछि कारबाट बाहिर निस्केर प्रदर्शन गरे । प्रदर्शनकारी टम हुगीले भने ‘म बुझ्छु भाइरस कति अहम छ तर हामी धेरै कुरा बन्द गरिरहेका छौं ।’ मिशिगनको नर्स एसोसिएसनले भने यो प्रदर्शनलाई गैरजिम्मेवार क्रियाकलाप भनेको छ ।
मिन्नेसोटामा प्रदर्शनकारीहरुले आफूहरुले खराब आर्थिक स्थिति र डिप्रेसनसहित अन्य मुद्दाहरुमा विरोध प्रदर्शन गरिरहेको बताएका छन् । उनीहरुलाई कोरोनासँग लड्दै पनि काममा जान सकिनेमा जोड दिएका छन् । उटाहका प्रदर्शनकारीहरुले गभर्नरको तर्फबाट लगाइएको लकडाउनलाई असंवैधानिक भनेका छन् । एक स्थानीय रिपब्लिकन नेताले अमेरिकीहरुलाई भाइरसबाट बचाउने नाममा रकार आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएको बताएका छन् ।
Facebook Comment