राहत लिनका लागि २ किलोमिटर पैदल गएका अपांगले जब निकै लामो लाइन देखे…

डिसी नेपाल
७ वैशाख २०७७ ११:३४

भोपाल। राहत लिनका लागि २ किलोमिटर पैदल हिँड्दै गएका एक अपांगले आफ्नो नक्कली खुट्टा खोलेर लाइनमा राखेको तस्वीर अहिले चर्चाको विषय बनेको छ । भारतको उत्तर प्रदेशको अशोकनगरमा भएको यो घटनाले लकडाउनले निम्न वर्गमा पारेको प्रभावलाई देखाउँछ । यहाँका अपांग वृद्ध भगवत सिंह राहत लिनका लागि अहिलेको गर्मीमा २ किलोमिटर पैदल हिँडेर गएका थिए ।

पूर्व विधायक जजपाल सिंहको कार्यालयमा राहत वितरण भइरहेको जानकारी पाएपछि उनी बैशाखीको सहारामा हिँड्दै पूर्व विधायकको कार्यालय पुगेका थिए । त्यहाँ पुग्दा उनले कार्यालय बाहिर लामो लाइन देखे । सामाजिक दूरी कायम गर्नको लागि सडकमा गोलो घेराहरु बनाइएका थिए । यो देखेर भगवत सिंह पनि एउटा गोलो घेराभित्र उभिए ।

तर, घाम चर्किंदै गयो र उनलाई नक्कली खुट्टाको सहाराले लगातार उभिन कठिन भयो । त्यसपछि उनले आफ्नो नक्कली खुट्टा खोलेर गोलो घेरामा राखे र छायाँमा बस्न गए । उनी कैयौं समयसम्म यसैगरी बसे । निकै बेरपछि पूर्व विधायक जजपाल सिंहले उनलाई देखे । त्यसपछि भने उनले वृद्ध भगवतलाई खाना खुवाए, लकडाउनभरी घरमै खाना पठाइदिने बाचासहित टांगा बोलाएर घर पठाए । भगवतका अनुसार ७ वर्ष पहिले ट्रेन दुर्घटनामा उनले खुट्टा गुमाएका थिए । त्यतिबेलादेखि नै उनी असहाय छन् । उनको परिवारमा ६ सदस्य छन् तर खानेकुरा केही बाँकी छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *