‘कोरोनाभाइरसको भ्याक्सिन नै नबन्न सक्छ, यो महामारी आफैं हराएर जान सक्छ’

डिसी नेपाल
७ वैशाख २०७७ १२:४८

काठमाडौं। कोरोनाभाइरसको भ्याक्सिनको प्रतिक्षा गरिरहेका विश्वभरीका मानिसहरुको आशालाई अस्ट्रेलियाका एक भ्याक्सिन विकासकर्ता वैज्ञानिकले झट्का दिएका छन् । इम्युनोलोजी अर्थात शरीरको प्रतिरक्षा विज्ञानका प्रोफेसर इयान फ्रेजरका अनुसार कोभिड १९ को भ्याक्सिन भविष्यमा कहिल्यै बन्नेछ भन्ने ग्यारेन्टी छैन । सम्भवतः यो भाइरसविरुद्ध कुनै भ्याक्सिन नै नबन्न सक्छ । प्रोफेसर इयानले आफ्नो यो धारणालाई पुष्टि गर्ने केही महत्वपूर्ण कारणहरु पनि पेश गरेका छन् ।

युनिभर्सिटी अफ क्विन्सल्याण्डका प्रोफेसर इयानले यसअघि सर्वाइकल क्यान्सरको कारक ह्युमन पेपिलोमा भाइरस (एचपीभी) को लागि प्रयोग हुने भ्याक्सिनको आविष्कार गरिसकेका छन् । प्रोफेसर इयानले कोरोनाभाइरसको भ्याक्सिन विकास गर्नु भ्याक्सिन विकासकर्ताको लागि निकै ठूलो चुनौती भएको दावी गरे । न्यूज डटकम डटएयूसँग कुरा गर्दै उनले सम्भवतः कोरोनाभाइरसको भ्याक्सिन कहिल्यै नबन्न सक्ने उल्लेख गरे । यद्यपि उनले यो भाइरसको असर विश्वमा विस्तारै कम हुँदै जाने र यसको प्रकोप भने नियन्त्रण हुने बताए ।

प्रोफेसर इयानका अनुसार अहिले विश्वभरीका वैज्ञानिकहरुका १०० फरक फरक टिमले यो भाइरसको विषयमा अनुसन्धान गरिरहेका छन् । तर, अहिलेसम्म वैज्ञानिकहरुसँग यस्तो कुनै मोडल छैन जसबाट उनीहरुले यो बुझ्न सकुन् कि आखिर शरीरमा यो भाइरसको आक्रमण कसरी हुन्छ ? कोरोनाभाइरसको भ्याक्सिन बनाउने विषयमा स्पयं प्रोफेसर इयान र उनको टिमले पनि अनुसन्धान गरिरहेको छ तर उनी आफैं कोरोनाभाइरसको भ्याक्सिन बन्छ नै भन्ने कुरामा विश्वस्त छैनन् ।

उनका अनुसार कोरोनाभाइरसको रोग प्रतिरक्षण आम रुघाखोकीको रोग प्रतिरक्षण जस्तै छ । उनका अनुसार ‘अपर रेस्पिरेटरी ट्रयाक्ट डिजिज’ अर्थात श्वास प्रश्वास प्रक्रियासँग सम्बन्धित शरीरका अंगहरुको लागि भ्याक्सिन बनाउनु निकै कठिन कार्य हो । उनका अनुसार कोरोनाभाइरस मानिसको शरीरमा फैलिँदैन, यसको सट्टा फोक्सोमा कोशिकाहरुको सतहमा टाँसिएर रहन्छ । जबकि अन्य फ्लुको संक्रमणमा शरीरले टी सेल्स बनाएर हाम्रो रक्षा गर्छ ।

उनका अनुसार कोरोनाभाइरसले मानव शरीरमा कोषहरुलाई मार्दैन बरु तिनीहरुलाई बिरामी मात्र पार्छ । यो अवस्थामा वैज्ञानिकहरुलाई यो कुरा बुझ्न कठिन हुन्छ कि कुनै भ्याक्सिनले कोरोनाभाइरसमाथि कस्तो असर देखाउँछ । यस्तोमा यो भन्न पनि मुस्किल हुन्छ कि अहिले भ्याक्सिनको विषयमा अनुसन्धान गरिरहेका सय टिममध्ये कसैले सफलता पाउन सक्छन् कि सक्दैनन् । यद्यपि प्रोफेसर इयानले कोरोनाभाइरसको नियन्त्रणमा निकै सकारात्मक र आशालाग्दो कुरा पनि बताएका छन् ।

उनका अनुसार सन् २००३ मा फैलिएको सार्स र २०१२ मा फैलिएको मर्सको लागि कुनै पनि किसिमको भ्याक्सिन बनाइएको थिएन । त्यतिबेला महामारी फैलाएका यी दुवै कोरोनाभाइरस परिवारकै भाइरस हुन् । भ्याक्सिन नबनेको अवस्थामा पनि यी दुवै भाइरस नियन्त्रण भएका थिए । प्रोफेसर इयानले अहिले महामारी फैलाउने भाइरस पनि कोरोनाभाइरस परिवारकै भएकोले यो भाइरस पनि सार्स र मर्सजस्तै आफैं नियन्त्रण हुन सक्ने सम्भावना देखेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *