लकडाउनले बन्द रेष्टुरेण्टमा झ्यालबाट छिरे, खानेकुरा र लाखौंका रक्सी खाँदै कैयौं दिन भित्रै बसे

डिसी नेपाल
७ वैशाख २०७७ १३:५३

काठमाडौं। कोरोनाभाइरसका कारण विश्वका धेरै देश लकडाउन छन् । ती देशहरुमा अत्यावश्यक बाहेकका सबै व्यवसायहरु बन्द छन् । मानिसहरु घरमै बसिरहेका छन् । तर, उक जना व्यक्ति भने लकडाउनका कारण बन्द गरिएको एक रेष्टुरेण्टको झ्यालबाट भित्र छिरे । त्यसपछि उनी रेष्टुरेण्टभित्र राखिएका खानेकुरा खाँदै, त्यहाँ भएका महंगा रक्सीहरु पिउँदै ४ दिनम्म त्यहीँ बसे । यस क्रममा उनले लाखौं रुपैयाँ बराबरका खानेकुरा र मदिरा खाइदिएको पाइएको छ ।

न्यूयोर्क पोस्टको समाचार अनुसार घटना अमेरिकाको कनेक्टिकटको हो । कनेक्टिकट राज्यको न्यू हेवन शहरको एक रेष्टुरेण्टभित्र छिरेर बितण्डा मच्चाउने ४२ वर्षका लुइस एन्जल अर्टिज विरुद्ध पुलिसले कैयौं आपराधिक आरोपमा मुद्दा दर्ता गरेर कारवाही अगाडि बढाएको छ र उनलाई जेल पठाएको छ । अर्टिज सोल डे क्युवा नामको रेष्टुरेण्टभित्र छिरेका थिए । यो रेष्टुरेण्ट कोरोनाभाइरसका कारण बन्द गरिएको थियो ।

गत मंगलबार रेष्टुरेण्टका एक म्यानेजर रेष्टुरेण्टभित्रको अवस्था ठिक छ कि छैन भनेर जाँच्न गएका बेला रेष्टुरेण्टभित्र अन्जान व्यक्ति सुतिरहेको देखेपछि उनले पुलिसलाई खबर गरेका थिए । पुलिसले घटनास्थलमा पुगेर अर्टिजलाई पक्राउ गरेको छ । पुलिसले पक्राउ गर्ने समयमा पनि अर्टिजको हातमा रेष्टुरेण्टकै एउटा रमको बोतल थियो । रेष्टुरेण्ट व्यवस्थापनका अनुसार अर्टिजले ४ दिनको अवधिमा लाखौंको खाना र मदिरा सिध्याएका थिए ।

व्यवस्थापनका अनुसार यो ४ दिनको अवधिमा अर्टिजले ७० बोतल रक्सी सिध्याएका थिए । ती बोतल उनले या त आफैं पिएर सिध्याए वा चोरी गरेर कहीँ लिएर गए । सीसीटिभी फुटेजबाट थाहा भएअनुसार अर्टिज ११ अप्रिल शनिबारका दिन रेष्टुरेण्टमा छिरेका थिए । बाहिर निस्किँदा उनले आफ्नो साथमा खानपिनका सामान पनि बोकेर निस्किएका थिए । उनी पटक पटक रेष्टुरेन्टभित्र छिर्ने र निस्किने गरेको फुटेजमा देखिएको छ । पुलिसले उनलाई १० हजार ५ सय धरौटी मागेकोमा सो धरौटी बुझाउन नसकेपछि जेलमा राखेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *