जनकपुरमा नोट खसाउने महिला संक्रमित नभेटिएपछि खुल्यो सोचेभन्दा उल्टो वास्तविकता

डिसी नेपाल
७ वैशाख २०७७ १४:५४

काठमाडौं। २ दिनदेखि जनकपुरका २ महिला चर्चामा छन् । दुई जना महिलाले शुक्रबार दिउँसो जनकपुरमा नोट खसाउँदै हिँडेको घटनापछि यो कुरा सननीपूर्ण रुपमा देशैभरी फैलियो । विश्वव्यापी रुपमा कोरोनाभाइरसको संक्रमण फैलिरहेको बेला उनीहरुलाई पनि दोषी नजरले हेरियो । केहीले उनीहरु कोरोना संक्रमित थिए ‘रे’ र संक्रमण फैलाउन नोट खसाउँदै हिँडेका थिए ‘रे’ भन्दै हल्ला फैलाउन थाले ।

महिलाहरुले यसरी नोट खसाउँदै हिँडेको घटना र यसले ठूलो हल्लाको रुप लिएपछि प्रहरीले यस विषयमा अनुसन्धान गम्भीर बनायो । महिलाहरुले नोट खसाएको क्षत्रमै रहेको एक पसलको क्लोज सर्किट क्यामेरामा महिलाहरुले नोट खसाएको रेकर्ड भएको थियो । प्रहरीले भिडियो फुटेजबाट उनीहरुको तस्वीर निकाल्यो । त्यसपछि उनीहरुको खोजी सुरु गरियो । शनिबार प्रहरीले ती दुवै महिलालाई नियन्त्रणमा लियो ।

प्रहरीका अनुसार जनकपुर उपमहानगरपालिकास्थित महावीर चोकमा रु १० का १२ थान नोट भेटिएका थिए । प्रहरीले नोट खसाउने दुवै महिलालाई नियन्त्रणमा लिएपछि उनीहरुको कोरोना परीक्षण भयो । साथमा प्रहरीले उनीहरुबारे थप अनुसन्धान पनि थाल्यो । शनिबार दुवै महिलाहरुको र्यापिड टेस्ट गरिएकोमा एउटीको रिपोर्ट पोजेटिभ आयो । यो रिपोर्टले देशव्यापी रुपमा फैलाइएको हल्लालाई थप बढाउन सहयोग गर्यो ।

प्रहरीले उनीहरुको स्वाब परीक्षणका लागि प्रयोगशाला पनि पठाएको थियो । तर, प्रयोगशालाको रिपोर्ट आएपछि भने यो हल्ला निराधार भएको खुलेको छ । आइतबार आएको रिपोर्टमा दुवै महिलामा कोरोनाभाइरस संक्रमण नभएको देखिएको छ अर्थात उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ । यससँगै देशैभरी फैलाइएको हल्ला पनि निराधार भएको पाइएको छ ।

प्रहरी अनुसन्धानमा खुलासा भएअनुसार यी महिलाहरु नन्द भाउजु हुन् । उनीहरुलाई विदेशबाट आफन्तले पैसा पठाएका थिए जुन पैसा उनीहरुले बैंकबाट निकालेर घर फर्किंदै थिए । विदेशबाट पठाइएको पैसा बुझेर फर्कने क्रममा बैंकबाट लिएको २ लाख रुपैयाँ झोलामा राखेका थिए तर खुद पैसा भने खल्तीमा थियो । त्यही खुद्रा पैसा बाटोमा खसेको थियो । महिलाहरुका अनुसार १७ वटा १० रुपैयाँका नोट खसेका थिए । तीमध्ये १२ वटा भेटिएका छन् । अन्य नोट अरु कसैले टिपेको हुन सक्ने अनुमान गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *