कोरोनाबारे चीनको वास्तविकता उजागर गर्न प्रयास गर्ने ३ जना ‘ह्विसलब्लोअर’ बेपत्ता
काठमाडौं। पछिल्लो समय, अमेरिका, पुरोपेली देशहरुसहित धेरैले चीनले कोरोनाभाइरस फैलिएपछिको आफ्नो सही तस्वीर विश्वसामु नदेखाएको दावी गरिरहेका छन् । पश्चिमा देशहरुले चीनले वुहानमा कोरोनाभाइरसका कारण भएका मृत्युको सही तथ्यांक नदेखाएको आरोप लगाइरहेका छन् । यही बीचमा डेलिमेलको रिपोर्टमा वुहानको सत्य उजागर गर्ने कोसिस गरेका तीन नागरिक पत्रकार २ महिनादेखि बेपत्ता भएको दावी गरिएको छ ।
रिपोर्टका अनुसार ‘ह्वीसलब्लोअर’ चेन किउशी, फेंग बिंग र ली जेहुआ रहस्यमय तरिकाले गायब भएका छन् । यी तीनैजनाले वुहानका विषयमा रिपोर्टिङ गरेका थिए । फेब्रअरीपछि यिनीहरुलाई देखिएको छैन । कुनै पनि चिनियाँ अधिकारीले यी तीन जना गायब भएको विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । उनीहरुले ट्वीटर र युट्युबमा भिडियो अपलोड गरेका थिए । यी दुवै सामाजिक संजाल आधिकारिक रुपले भने चीनमा प्रतिबन्धित छन् ।
उनीहरुले अपलोड गरेको एउटा भिडियोमा वुहानको अस्पतालमा बिरामीको चाप अत्याधिक भएर ठाउँ नै नपुगेको देखिएको छ । ३४ वर्षका चेनबाट अन्तिम पटक ६ फेब्रुअरीमा अपडेट प्राप्त भएको थियो । उनले वुहानमा लकडाउन हुनुभन्दा केही दिन पहिले आफू शहरमा पुगेको बताएका थिए । उनले विश्वलाई सत्य देखाउन वुहान गएको बताएका थिए । वुहानकै फेंग बिंग पनि ९ फेब्रुअरीदेखि गायब छन् । उनले पनि वुहानका कैयौं भिडियो अपलोड गरेका थिए । उनको एउटा भिडियोमा एक बसमा शवहरु लादिएको देखिएको थियो ।
तीन ह्वीसलब्लोअरमध्ये जी जेहुआको उमेर सबैभन्दा कम छ । २५ वर्षका ली हाइप्रोफइल रिपोर्टर रहिसकेका छन् । उनले चीनको सीसीटिभी मिडिया कम्पनीमा काम गरिसकेका थिए । जागिर छाडेपछि उनले वुहानमा स्वतन्त्र रुपले रिपोर्टिङ गरिरहेका थिए । २६ फेब्रुअरीपछि उनलाई नदेखिएको बताइएको छ । रेडियो फ्रि एसियाको रिपोर्टअनुसार गायब हुनुभन्दा केही दिन अघिमात्र ली जेहुआले वुहानका केही संवेदनशील क्षेत्र घुमेका थिए । यीमध्ये एक शवदाहगृह पनि थियो जहाँ शवहरु उठाउनका लागि अतिरिक्त स्टाफ तैनाथ गरिएका थिए ।
Facebook Comment