साउदी अरेबियामा सन् २०१९ मा ‘उल्लेख्य’ सङ्ख्यामा मृत्युदण्ड
बीबीसी। साउदी अरेबियाले सन् २०१९ मा १८४ जना व्यक्तिलाई मृत्युदण्ड दिएको एम्नेस्टी इन्टरन्याश्नलले जनाएको छ।
विश्वभरि मृत्युदण्ड पाउनेको सङ्ख्यामा कमी आएका बेला उसले भने अघिल्लो वर्षको तुलनामा धेरैलाई मृत्युदण्ड दिएको हो। गत वर्ष इराकमा पनि मृत्युदण्ड दिइएको सङ्ख्या दोबर बढेर एक सय पुगेको थियो।
दुई सय ५१ जनालाई मृत्युदण्ड दिएको इरान चीनपछि धेरै मृत्युदण्ड दिने देश बनेको छ। यद्यपि, विश्वव्यापी रूपमा भने लगातार चार वर्षदेखि मृत्युदण्ड पाउनेको सङ्ख्यामा कमी आएको छ।
सन् २०१८ को दाँजोमा सन् २०१९ मा पाँच प्रतिशतले घटेर जम्मा ६५७ जनालाई मात्रै मृत्युदण्ड दिइएको थियो। मानव अधिकारवादी समूहले चीनको तथ्याङ्क यसमा समेटेको छैन जहाँ हजारौँको सङ्ख्यामा मृत्युदण्ड दिने गरिए पनि राज्यले गुपचुप राख्ने गरेको ठानिन्छ।
इरान, उत्तर कोरिया र भियतनामजस्ता अन्य देशले पनि जति सङ्ख्यामा मृत्युदण्ड दिन्छन् त्यो सूचना लुकाउने गरेको एम्नेस्टी इन्टन्याश्नलले उल्लेख गरेको छ।
“मृत्युदण्डको सजाय एकदमै घृणित र अमानवीय सजाय हो; जेलसजायले भन्दा मृत्युदण्ड दिइँदा मानिसले कम अपराध गर्छन् भन्ने कुनै विश्वसनीय प्रमाण छैन।”
थुप्रै देशले यसलाई स्वीकार्छन् र विश्वभरि नै मृत्युदण्ड दिने सङ्ख्या घट्दै गएको हेर्दा यसले उत्साह थप्छ,” एम्नेस्टीको अनुसन्धान विभागकी वरिष्ठ निर्देशक क्लेएर अल्गरले भनिन्।
“यद्यपि, केही थोरै देशले मृत्युदण्ड दिने सङख्या बढाउँदा त्यसले विश्वव्यापी प्रवृत्तिलाई नै चुनौती दिएको छ।” साउदी अरेबियाले मृत्युदण्ड दिने कार्यमा वृद्धि गरेको विषय “चिन्ता निम्त्याउने विकासक्रम” भएको उनले बताइन्।
उक्त अधिराज्यले सन् २०१९ मा १७८ जना पुरुष र ६ जना महिलालाई मृत्युदण्ड दिएको थियो जसमध्ये आधाभन्दा बढी विदेशी नागरिक थिए।
साउदी अरेबियामा सन् २०१८ मा १४९ जनालाई मृत्युदण्ड दिइएको थियो। मृत्युदण्ड पाउनेमा धेरैजसो हत्या वा लागुऔषधसम्बन्धी मुद्दाका छन्।
तर एमनेस्टी इन्टरन्याश्नलले भने शिया मुस्लिम अल्पसङ्ख्यकका असन्तुष्ट पक्षविरुद्ध राजनीतिक अस्त्रका रूपमा मृत्युदण्डको बढ्दो प्रयोग गर्न थालिएको जनाएको छ।
सन् २०१९ को एप्रिल महिनामा ३७ जनालाई त्यहाँ एकै पटक मृत्युदण्ड दिइएको थियो। ती सबै शिया समुदायका थिए र पाँचजना दोषीमाथि “आतङ्कवाद” को आरोप लागेको थियो।
एमनेस्टी इन्टरन्याश्नलले उनीहरूलाई यातना दिएर आरोप स्वीकार्न बाध्य पारिएको जनाएको थियो। इराकमा सन् २०१८ को दाँजोमा सन् २०१९ मा झण्डै दोबरलाई मृत्युदण्ड दिइएको विषयले “झट्का” दिएको उनले बताइन्।
इराकमा सन् २०२८ मा कम्तीमा ५२ जनालाई मृत्युदण्ड दिइएकोमा सन् २०१९ मा एक सयभन्दा बढीलाई दिइएको थियो।
जिहादी समूह इस्लामिक स्टेटको सदस्य भएको आरोप लागेकालाई निरन्तरजसो मृत्युदण्ड दिइएका कारण सङ्ख्यामा वृद्धि भएको हो।
दक्षिण सुडानमा गत वर्ष अधिकारीहरूले कम्तीमा ११ जनालाई मृत्युदण्ड दिएका थिए जुन सङ्ख्या सन् २०११ मा देश स्वतन्त्र भएयताकै सबैभन्दा धेरै हो।
यमनमा पनि सन् २०१९ मा कम्तीमा सात जनालाई मृत्युदण्ड दिइएको थियो जबकि सन् २०१८ मा त्यो सङ्ख्या कम्तीमा चार थियो।
बहराइन र बाङ्ग्लादेशले पनि एक वर्षको अन्तरालपछि फेरि मृत्युदण्ड दिएका छन्। तर विश्वव्यापी रूपमा मृत्युदण्ड दिइएको उपलब्ध सङ्ख्या घट्नुमा थुप्रै पक्षहरू जिम्मेवार रहेको एम्नेस्टी इन्टरन्याश्नलले जनाएको छ।
इजिप्ट, जापान र सिङ्गापुरजस्ता देशमा गत वर्ष उल्लेख्य रूपमा मृत्युदण्ड दिनेको सङ्ख्यामा कमी आएको छ।
यी देशहरू मृत्युदण्डका पक्षधर हुन्। र, लगातार दोस्रो वर्ष, इरानमा कम मानिसलाई मृत्युदण्ड दिइएको छ।
सन् २०१७ मा लागुऔषध विरुद्धको कानुनमा संशोधन गरिएपछि मृत्युदण्ड दिइएको सङ्ख्यामा पनि उल्लेख्य कमी आएको हो। सन् २०१० यता पहिलो पटक अफगानिस्तानमा एउटा पनि मृत्युदण्ड दिइएन।
सन् २०१८ मा मृत्युदण्ड दिएका ताइवान र थाइल्याण्डले पनि सन् २०१९ मा क्रमभङ्ग गरेका छन्। विश्वभरि १०६ वटा देशले सबैखालका अपराधका लागि मृत्युदण्डको कानुनी व्यवस्था हटाएका छन् भने १४२ वटा देशले कानुनी व्यवस्था र अभ्यास दुवैमा मृत्युदण्ड हटाएका छन्।
Facebook Comment