किम जोंग उनलाई भएको के हो ? अमेरिकी पत्रकारको ट्वीट – ‘मस्तिस्क मरिसक्यो’

डिसी नेपाल
९ वैशाख २०७७ १३:२८

काठमाडौं। उत्तर कोरियाली नेता किम जोंग उनको स्वास्थ्य पछिल्लो समय चर्चाको विषय बनेको छ । अमेरिकी गुप्तचर अधिकारीहरुले किमको हालै शल्यक्रिया गरिएको र उनी गम्भीर अवस्थामा रहेको बताएसँगै उनीबारे चर्चा सुरु भएको थियो । यही बीचमा अमेरिकी मिडिया एनबीसी न्यूजकी एक पत्रकारको ट्वीटले ठूलै सनसनी मच्चायो । एनबीसीकी एंकर केटी तुरले दुई अमेरिकी अधिकारीहरुको हवाला दिँदै किम जों उन ब्रेन डेड अर्थात मस्तिस्क मरिसकेको अवस्थामा रहेको उल्लेख गरेकी थिइन् ।

उनको हालै सर्जरी गरिएको र उनी कोमामा गएको भनिए पनि केही समयपछि नै केटी तुरले उक्त ट्वीट डिलिट गरिन् । पहिलेको ट्वीट डिलिट गरेर नयाँ ट्वीट गर्दै उनले माफी मागिन् र थप जानकारी आउने प्रतिक्षा गरिरहेको सफाइ दिइन् । पछिल्लो पटक १५ अप्रिलमा किम आफ्ना हजुरबुवा किम इल सुंगको जन्म दिवसको कार्यक्रममा सहभागी भएका थिएनन् । त्यसलगत्तै उनको स्वास्थ्यबारे धेरै अनुमान लगाइएको थियो । सीएनएनले अमेरिकी गुप्तचर स्रोतको हवाला दिँदै किम अस्वस्त भएको खबर विश्वसनीय भएको तर त्यसको गम्भीरताबारे थाहा पाउन भने कठिन भएको लेखेको छ ।

दक्षिण कोरियाको प्रमुख वेबसाइट डेली एनकेका अनुसार किमलाई १२ अप्रिलमा कार्डियोभास्कुलर सिस्टम प्रोसिजर दिइएको थियो । किमलाई धुम्रपान, मोटोपना र धेरै काम गरेका कारण यस्तो समस्या आएको रिपोर्टमा उल्लेख गरिएको छ । उत्तर कोरियामा कुनै पनि ठूलो समारोहमा ठूला नेता अनुपस्थित रहँदा ठूला घटनाक्रमहरु सार्वजनिक भइरहेका छन् । २००८ मा उत्तरु कोरियाको ६० औं वार्षिक दिवसको परेडमा किम जोंग उनका पिता किम जोंग इल देखिएका थिएनन् । त्यसपछि थाहा भएको थियो कि उनलाई स्ट्रोकको समस्या भएको थियो । उनको स्वास्थ्य बिग्रिँदै गएर २०११ मा उनको मृत्यु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *