चीनसँग दुई अर्ब बढीको स्वास्थ्य सामाग्री खरिद सम्झौता
काठमाडौं । नेपाली सेनाले चीन सरकारसँग २ अर्ब २५ करोड बढीको मडिकल सामाग्री खरिद सम्झौता गरेको छ । चीनबाट ल्याउने भनिएको ६७ प्रकारका स्वास्थ्य सामग्री खरिदका लागि सेनाले चीन सरकारसँग सो सम्झौता गरेको हो । नेपाली सेनाका प्रवक्ता सहायक रथि विज्ञानदेव पाण्डेका अनुसार १ करोड ८४ लाख ४१ हजार ७ सय अमेरिकी डलर (नेपाली करिब २ अर्ब २५ करोड रुपैयाँ) को सम्झौता भएको हो ।
नेपाली सेनाले चीन र भारतबाट १ सय २० प्रकारका स्वास्थ्य सामग्री ल्याउन लागेको हो । त्यसमध्ये चीनबाट ६७ प्रकारको र बाँकी ५३ प्रकारको सामग्री भारतबाट ल्याइने सैनिक प्रवक्ता सहायक रथी पाण्डेले बताए । उनका अनुसार आवश्यक रक्षा मार्फत अर्थबाट निकासा भैसकेको छ ।
चीनबाट व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), एन ९५ मास्कलगायतका ३ सय ४२ टन स्वास्थ्य सामग्री ल्याइनेछ । स्वास्थ्य सामग्री हवाई र स्थलमार्गबाट ल्याइनेछ । सेनाले चीन, भारत, दक्षिण कोरिया, इजरायल र सिंगापुरलाई स्वास्थ्य उपकरण र औषधि बिक्रीका लागि प्रस्ताव राखेको थियो । प्रस्ताव चीन र भारतबाट आएपछि पहिलो चरणमा सेनाले चीनबाट सामग्री ल्याउन लागेको हो ।
कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि आवश्यक औषधिदेखि अन्य स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा १६ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनालाई दिएको थियो । यसअघि स्वास्थ्य मन्त्रालयले ओम्नी इन्टरनेसनलमार्फत १ अर्ब रुपैयाँभन्दा बढीको मेडिकल सामग्री ल्याउन सम्झौता गरेको थियो ।
Facebook Comment