जन्मदिन विशेषः ‘शक्ति द पावर’का अविष्मरणीय १५ वर्ष, डिभिजन ५ देखि एकदिवसीयसम्म

डिसी नेपाल
१० वैशाख २०७७ १३:५९

काठमाडौं। सन २००१ को फेब्रुअरीमा नेपालको यु–१७ टोलीबाट बङलादेश यु–१७ बिरुद्ध क्याप्टेनको रुपमा अन्तराष्ट्रिय क्रिकेटमा एक युवा खेलाडीले पाइला टेकेका थिए । उनी थिए शक्ति प्रसाद गौचन अर्थात शक्ति गौचन । त्यो समयमा कसैले सोचेको पनि थिएनन कि शक्ति नामको रेसको घोडा धेरै अगाडिसम्म जान्छ भनेर । स्वयम् शक्तिलाई पनि त्यो कुरा थाहा थिएन । तर समय बदलियो र शक्तिले १८ बर्षको उमेरमा सन २००४ मा नेपाली राष्ट्रिय टोलीको लागि एसीसी ट्रफी प्रतियोगितामा ओमन बिरुद्ध डेब्यु गर्ने मौका पाए ।

सन २००४ बाट राष्ट्रिय टोलीका नियमित सदस्य बनेका शक्तिले आफ्नो जादू देखाएपछि निरन्त टोलीमा रहिरहे र सन २०१९ मा आएर आफ्नो खेल जीवन टुङग्याए । उमेरको आधा समय क्रिकेट मैदानमा नेपालको लागि प्रतिनिधित्व गरेका शक्ति गौचनले सन २०१९ मा नेपालले एकदिवसीय क्रिकेटमा पहिलो पाइला टेकेकै दिन विश्राम लिएका थिए । नेपालको पहिलो एकदिवसीय खेल शक्तिको लागि भने अन्तिम अन्तर्राष्ट्रिय खेल बन्यो । नेपाल एकदिवसीय राष्ट्रसम्म आइपुग्दा शक्तिले गरेको योगदान चाहेर पनि कसैले बिर्सन सक्दैन ।

सन् २००१ मा यू–१७ राष्ट्रिय टोलीमा समावेश हुँदै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेका शक्तिले सबै फरम्याटमा कुल १९१ खेल खेलेका छन् र अन्तर्रा्ष्ट्रिय क्रिकेटमा १० पटक प्लेयर अफ दी म्याच भएका छन् । सन् २०१४ को आइसिसी टी–२० विश्वकपमा गरेको प्रदर्शनलाई लिएर ‘शक्ति द पावर’को उपमा पाएका शक्तिको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेटमा दुर्लभ कीर्तिमान पनी रहेको छ ।

सन् २०१२ मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन फोरअन्तर्गत मलेसियाविरुद्ध शक्ति गौचनले कीर्तिमान राखेका थिए । १० ओभर बलिङ गरेका शक्तिले ८ मेडन ओभर राख्दै २ रन मात्र खर्चेर ३ विकेट लिएका थिए । जुन बेस्ट इकोनोमीको कीर्तिमान अहिलेसम्म कुनै पनि खेलाडीले तोड्न सकेका छैनन् ।

त्यसो त, शक्तिले सिनियर टिमबाट ह्याट्रिक विकेट पनि लिएका छन् । उनले आईसीसी टी २० छनोटको खेलमा डेनमार्कविरुद्ध ह्याट्रिक विकेट लिएका थिए । शक्ति ब्याटिङमा पनि त्यतिकै सशक्त थिए । उनले अहिलेसम्म २ शतक बनाएका छन् । सन् २००१ मा माल्दिभ्सविरुद्ध उनले यू–१९ टिमबाट शतक प्रहार गरेका थिए । त्यो कुनै पनि नेपाली ब्याट्सम्यानले अन्तर्राष्ट्रिय म्याचमा बनाएको दोस्रो शतक थियो । त्यस्तै, उनको नाममा सिनियर राष्ट्रिय टिममा पनि शतक छ । सन् २००५ मा इटालीविरुद्ध शक्तिले शतक बनाएका थिए । उक्त खेलमा शक्ति १०३ बलमा १०६ रन सहित अविजित रहेका थिए ।

शक्ति गौचन त्यस्ता खेलाडी हुन्, जसले राष्ट्रिय टिमबाट सबैभन्दा पहिले १००० रन बनाएका थिए । शक्तिले सन २०१८ मा एभरेष्ट प्रिमियर लिग पछि घरेलुु क्रिकेटबाट समेत सन्यास लिएका थिए । पोखरा राइनोजबाट समूह चरणको अन्तिम खेल पछि उनले सबै खाले क्रिकेटबाट सन्यास लिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *