दल फुटाउन सजिलो हुने कानुन आएसँगै समाजवादी पार्टी फुटको संघारमा !

डिसी नेपाल
१० वैशाख २०७७ १५:४७

काठमाडौं। पार्टी विभाजन गर्न सहज हुनेगरी राजनैतिक दलसम्बन्धि नयाँ कानुन आएसँगै समाजवादी पार्टी फुटको संघारमा पुगेको छ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति मिलेर बनेको समाजवादी पार्टी एकताको २ वर्ष बित्न नपाउँदै फुट्न लागेको हो।

समाजपादी पार्टीबाट ८ जना सांसदले पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गर्न लागेको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार रेणु यादवको नेतृत्वमा पार्टी विभाजन हुँदैछ। उनको समूहमा मोहम्मद इस्तियाक राई, बिमल श्रीवास्तव, प्रदीप यादव, रुही नाज लगायत ८ जना सांसद भएको बताइएको छ।

समाजवादी पार्टीको अहिले प्रतिनिधिसभामा १७ सिट छ। यीमध्ये ८ जना सांसद भएमा ४० प्रतिशत पुग्छ। नयाँ कानुनअनुसार संसदीय दलको ४० प्रतिशत सदस्य भएमा पार्टी विभाजन गरेर नयाँ पार्टी गठन गर्न पाइने भएकोले विभाजनका लागि कुनै कानुनी समस्या हुने छैन।

सरकारले नयाँ कानुन ल्याएसँगै समाजवादी पार्टीलाई फुटाएर नेकपामा ल्याउने प्रयासस्वरुप नयाँ कानुन ल्याइएको टिप्पणी भएको थियो। यद्यपि अहिले समाजवादी विभाजन गर्ने समूहले भने नयाँ पार्टी गठन गर्ने बताइएको छ।

स्रोतका अनुसार यो समूहले सरकारमै सहभागी हुनेगरी पार्टी विभाजन गर्ने तयारी गरिरहेको छ।  यद्यपि उनीहरु सरकारमै सहभागी हुने कुराको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

८ सांसदले पार्टी विभाजन गर्न लागेको दावी आइरहँदा यही समूहमा रहेको दावी गरिएकी सांसद रुही नाजले भने आफू यो समूहमा नरहेको बताएकी छिन्। उनले यस विषयमा अध्यक्षसँग पनि कुरा भएको र आफू विभाजनको पक्षमा नरहेको डिसी नेपाललाई बताइन्।

समाजपादी पार्टीका प्रवक्ता प्रकाश अधिकारीले पनि पार्टी विभाजन हुन लागेको कुरा अस्वीकार गरे। उनले पार्टी विभाजन गराउन प्रयास भइरहेको भए पनि विभाजन हुन लागेको कुरा भने अस्वीकार गरे।

‘पार्टी विभाजन गराउन विभिन्न शक्तिहरुबाट प्रयास भइरहेको छ’ उनले भने ‘तर उहाँहरु (विभाजन गर्ने भनिएका सांसदहरु) ले त्यति काँचो काम गर्नुहुन्न। पार्टी विभाजन हुँदैन।’  तर समाजवादी पार्टी फुटाउने षड्यन्त्र भने भइरहेकाे उनकाे भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *