भारतमा ‘कोभिड–१९’ संक्रमितको संख्या २१ हजार नाघ्यो

डिसी नेपाल
११ वैशाख २०७७ १७:०२

नयाँ दिल्ली । गएको २४ घन्टायता भारतमा एक हजार ४०९ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका बिहीबार जनाइएको छ । बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’ का संक्रमितहरूको संख्या २१ हजार ३९३ जना पुगेको यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ४१ जना रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ६८१ पुगेको छ ।

भारतमा देखिएका यी संक्रमितहरूमध्ये ४ हजार २५८ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ १६ हजार ४५४ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बुधबार पनि यो क्रम जारी नै रहेको उक्त मन्त्रालयले जानकारी दिएको छ ।

महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या ५ हजार ६५२ जना पुगेको उक्त मन्त्रालय बताएको छ । यसैबीच महाराष्ट्रमा २६९ जनाको निधन भएको छ ।

महाराष्ट्रपछि दिल्ली र गुजरातमा यस भाइरसको संक्रमण उच्च मात्रमा देखिएको छ । कल्याण मन्त्रालयले आज दिएको जानकारीअनुसार दिल्लीमा २ हजार २४८ र गुजरातमा २ हजार ४०७ मा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरू थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । भारतको राजस्थान, तामिलनाडू, मध्यप्रदेश र केरला राज्यमा उच्च संख्या कोरोना संक्रमित रहेका जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *