अमेरिकी संसद्द्वारा ४८४ अर्ब अमेरिकी डलरको राहत प्याकेज अनुमोदन
बीबीसी। कोरोनाभाइरससँग जुझिरहेको अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले ४८४ अर्ब अमेरिकी डलरको राहत प्याकेज सम्बन्धी विधेयक अनुमोदन गरेको छ।
राष्ट्रपति डोनल्ड ट्रम्पले यसबारे कानुनमा चाँडै हस्ताक्षर गर्ने बाचा गरेका छन्। यो सँगै सङ्घीय सरकारले कोरोनाभाइरसको विश्वव्यापी महामारीले प्रभाव पारेका साना व्यवसायका साथै कोभिड-१९ को सङ्क्रमणका कारण बिरामी परेकाहरूको सङ्ख्या उच्च रहेको अस्पतालहरूलाई राहत स्वरूप थप ऋण उपलब्ध गराउने छ।
सङ्क्रमण भएको हुन सक्नेहरूको परीक्षणका लागि पनि उक्त कोषबाट सहयोग गरिने बताइएको छ। हाउस अफ रिप्रिजेन्टेटिभ्समा उक्त प्याकेजसम्बन्धी विधेयकको पक्षमा ३८८ सदस्यले भोट हालेका थिए भने पाँच जना विपक्षमा उभिएका थिए।
यो सँगै अमेरिकामा सङ्घीय सरकारले पछिल्लो चुनौतीसँग जुझ्ने क्रममा खर्च गर्ने रकम करिब ३० खर्ब डलर पुगेको बताइएको छ। अमेरिकामा गएको एक सातामा थप ४४ लाख सर्वसाधारणहरूले बेरोजगार भए बापत पाउने सुविधा दाबी गर्दै आवेदन दिएका छन् ।
यो सँगै गत मार्च महिनाको मध्यदेखि त्यहाँ बेरोजगार भएको दाबी गर्दै आवेदन दिनेहरूको सङ्ख्या २ करोड ६४ लाख पुगेको छ। उक्त सङ्ख्या अमेरिकी जनशक्तिको १५ प्रतिशत भन्दा बढी रहेको बताइएको छ।
तर पछिल्लो तथ्याङ्कका अनुसार अमेरिकामा बेरोजगार भएको भन्दै आवेदन दिनेहरूको सङ्ख्या भने घट्दै गएको बताइएको छ। “यो हप्ता थपिएका ४४ लाख नयाँ दाबी आफैँमा ठूलो रहे पनि कामबाट निष्कासन गरिनेहरूको सङ्ख्याको गति भने उच्च विन्दुमा पुगिसकेको सङ्केत देखिन थालेको छ,” वित्तीय सेवा दिने कम्पनी चार्ल्स स्वाबका युकेस्थित प्रबन्ध निर्देशक रिचर्ड फ्लिनले भने।
“यति बेलाको महत्त्वपूर्ण प्रश्न भनेको अर्थतन्त्र कहिलेबाट चलायमान हुन्छ र त्यसपछिको अवस्था कस्तो हुन्छ भन्ने हो?” विश्लेषकहरूका अनुसार द ग्रेट डिप्रेसन भनिने सन् १९२९ देखि १९३० सम्मको अवधिपछि विश्व यति ठूलो आर्थिक सङ्कटको सामना गर्दै छ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले अमेरिकी अर्थतन्त्र यो वर्ष ५.९ प्रतिशतले सङ्कुचित हुन सक्ने अनुमान गरेको छ।
कोरोनाभाइरसको विश्वव्यापी महामारीसँग सङ्घर्ष गरिरहेको अमेरिकामा देशको अहिलेसम्मकै ठूलो २० खर्ब डलर बराबरको आर्थिक प्याकेज ल्याइसकिएको छ र बेरोजगारी बापत पाइने सुविधाका लागि आवश्यक पर्ने योग्यताको विस्तारका साथै उनीहरूलाई दिइने रकमको दायरा पनि बढाइएको छ।
उक्त प्याकेज अन्तर्गत महामारीका कारण व्यक्तिको जीवन निर्वाह र कम्पनीहरूको व्यवसाय प्रभावित भएको छ भने सीधा आर्थिक सहयोग गर्न सकिने व्यवस्था कानुनमा गरिएको छ।
प्रति वर्ष ७५,००० अमेरिकी डलर भन्दा कम कमाउनेहरूलाई १२०० अमेरिकी डलर दिने र प्रति बच्चा ५०० अमेरिकी डलर दिने व्यवस्था गरिएको छ। एप्रिल ११ सम्ममा उक्त प्याकेजबाट १ करोड ६० लाख सर्वसाधारणहरू लाभान्वित भएको अधिकारीहरूले जनाएका छन्।
तर धेरै सर्वसाधारणहरूलाई भने आवेदन दर्ता गर्नुका साथै आवश्यक कारबाही अघि बढाउनका लागि सरकारी कार्यालयसम्म पुग्न समस्या परेको बताइएको छ। “फोन पनि प्राय व्यस्त हुन्छ,” नेभाडा राज्यका ५२ वर्षे घर जग्गा कारोबारमा सक्रिय जोन डिग्ननले भने।
“यो निकै निराशाजनक छ किनभने यसमा आफ्नो कुनै पनि किसिमको काबु छैन र केही जानकारी पनि छैन। कोभिड-१९ बारे निकै धेरै चिन्ता भएको अवस्थामा अर्थतन्त्र खस्किँदै छ र म सँग धेरै बचत छैन। म सँग भएको रकमले एक महिना जति धान्ला।”
अमेरिकामा विश्वमै सबैभन्दा धेरै ८ लाख ५६ हजार भन्दा धेरै मानिसमा कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। त्यहाँ हालसम्म ४७ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् जुन कुनै पनि एउटा देशका हिसाबले सर्वाधिक हो।
विश्वव्यापी रूपमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरूको सङ्ख्या करिब २७ लाखको हाराहारीमा पुगेको छ भने मृत्यु हुनेहरूको सङ्ख्या १ लाख ८७ हजारभन्दा बढी छ।
Facebook Comment