सांसद गौतमद्वारा स्वास्थ्य सामग्री सहयोग
खाँदबारी । कोरोनासँग जुध्न सांसद राजेन्द्र गौतमले सङ्खुवासभामा कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
सङ्खुवासभाबाट निर्वाचित सांसद गौतमले जिल्लाका १० वटै स्थानीय तह र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । कोरोना भाइरस नियन्त्रणका लागि जिल्ला अस्पताल खाँदबारी, स्वास्थ्य कार्यालय र स्थानीय तहलाई पिपिई सेट, स्यानिटाइजर र पञ्जालगायतका स्वास्थ्य सामग्री जिल्लामा अभाव हुन नदिन व्यक्तिगत खर्चमा आफूले स्वास्थ्य सामग्री उपलब्ध गराएको सांसद गौतमले बताए ।
सांसद गौतमले सात हजार सर्जिकल माक्स, ६० थान एन–९५ माक्स, ८४ थान पिपिई सेट, २२ लिटर स्यानिटाइजर, २५० थान पञ्जा, ४० थान चस्मा र ४० थान गाउन उपलब्ध गराएको जानकारी दिए । स्वास्थ्य सामग्री बिहीबारनै जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्यमार्फत १० वटै स्थानीय तहका प्रमुखलाई हस्तान्त्रण गरिएको उनले बताए । उनले विराट अस्पतालले सहयोग गरेको एक हजार थान सर्जिकल मास्क जिल्लामा खटिने सुरक्षाकर्मीलाई प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाललाई हस्तान्तरण गरेका छन् ।
त्यस्तै प्रदेश सरकारले पनि विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रदेश सरकारले जिल्ला अस्पताललाई ५०० थान पञ्जा, २०० थान सर्जिकल माक्स, दुई थान थर्मल गन उपलब्ध गराएको छ । स्वास्थ्य कार्यालयलाई पाँच थान थर्मल गन, ५०० पञ्जा, ३०० सर्जिकल माक्स, २५ थान पिपिई सेट र ५० थान कीट उपलब्ध गराएको बताइएको छ ।
Facebook Comment