तीन हजारलाई ल्याइयो घर
धादिङ । काठमाडौँमा मजदूरी गरेर बसेका तथा विविध कारणले अलपत्र परेका मानिसलाई स्थानीय सरकारले धमाधम गाउँ ल्याएको छ । कोभिड–१९ को महामारी गर्न गरिएको बन्दाबन्दीका कारण असङ्गठित क्षेत्रमा कार्यरत मजदूर अलपत्र परेका कारण गाउँ ल्याइएको नेत्रावती डबजोङ गाउँपालिका अध्यक्ष दुर्गाकुमार शाक्यले बताए ।
नेत्रावती डबजोङ गाउँपालिकाले १८७ नागरिकलाई गाउँपालिकामा ल्याएको छ । पाँच वटा गाडीमा राखेर गाउँ ल्याइएको हो । यसैगरी ज्वालामुखी गाउँपालिकाले करिब २०० नागरिकलाई गाउँ ल्याएको जनाएको छ ।
वाग्मती प्रदेशका प्रदेशसभा सदस्य जगत सिंखडाले आफ्नो निर्वाचन क्षेत्रका मतदातामध्ये करिब दुई हजारलाई काठमाडौँबाट धादिङ ल्याएका छन् । काठमाडौँमा बन्दाबन्दीका कारण समस्या भोगेका नागरिक घर आउन चाहेका सबैलाई घर ल्याइएको सिंखडाले बताए ।
त्रिपुरासुन्दरी गाउँपालिकाले समेत सवारीसाधनको व्यवस्था गरी असङ्गठित क्षेत्रमा काम गर्ने मजदूरलाई घर ल्याइएको छ । जिल्लामा पटकपटक गरी काठमाडौँमा रहेका करिब तीन हजार नागरिकलाई घर ल्याइएको हो ।
Facebook Comment