हिमाली क्षेत्रमा लकडाउन खोल्ने सरकारको तयारी, आज मन्त्रिपरिषद बैठकले निर्णय गर्ने

डिसी नेपाल
१४ वैशाख २०७७ ९:५५

काठमाडौं। सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ । यसअघि तोकिएको लकडाउनको अवधि भोलि सोमबार सकिँदैछ । यसपछि देशका केही स्थानमा लकडाउन खोल्नेगरी तयारी अगाडि बढाइएको छ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा विभिन्न मोडालिटीबारे छलफल भएको छ । यीमध्ये केही क्षेत्रमा लकडाउन खोलेर अगाडि बढ्ने मोडालिटी सिफारिस गरिने सम्भावन सबैभन्दा धेरै रहेको स्रोतले बताएको छ ।

समन्वय समितिको शनिबार बसेको बैठकले एक महिने लकडाउनको समीक्षा गर्दै नयाँ मोडालिटी प्रस्ताव गर्ने तयारी गरिरहेको छ । शनिबार समितिले हवाइ उडान जेठ २ गतेसम्म स्थगित नै राख्न सिफारिस गरेको छ । अन्य क्षेत्रको लागि भने आज बस्ने मन्त्रिपरिषद बैठकले नै निर्णय गर्न प्रस्ताव गरिएको छ । यद्यपि समितिले मन्त्रिपरिषदलाई केही मोडालिटी भने सिफारिस गर्नेछ र त्यही सिफारिसको आधारमा मन्त्रिपरिषद बैठकले निर्णय गर्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार समितिलाई लकडाउनको आगामी मोडालिटी तयार पार्न निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार शनिबार बसेको समितिको बैठकमा विभिन्न मोडालिटीबारे छलफल भएको थियो । बैठकमा सहभागी एक मन्त्रीका अनुसार काठमाडौं उपत्यकासहित सहरी क्षेत्रमा भने लकडाउन खुकुलो बनाइने सम्भावना न्यून छ । पहिलो चरणमा हिमाली जिल्लामा परीक्षणका रूपमा केही खुकुलो बनाउन सुझाव दिइएको छ ।

काठमाडौं उपत्यका, जनघनत्व बढी भएका क्षेत्रमा लकडाउन खुकुलो बनाउँदा यसको उल्टो नतिजा आउन सक्ने खतरा भएका कारण यी क्षेत्रमा लकडाउन जारी नै राखेर परीक्षणको दायरा अझै बढाउने तथा पहिलो चरणमा हिमाली जिल्लामा खुकुलो बनाउँदै थप संक्रमित फेला नपरे क्रमशः पहाडी हुँदै सहरी क्षेत्र खुकुलो बनाउने सुझाव मन्त्रीहरुले दिएका थिए । अन्तर्राष्ट्रिय सीमा नाका भने अनिश्चतकालसम्म बन्दै राख्नेबारे छलफल भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *