प्रदेश राजधानीको माग गर्दै फेरी डोटीमा आन्दोलनको घोषणा

डिसी नेपाल
१० असोज २०७५ १६:१२

डोटी । ७ नं प्रदेशको राजधानीको प्रस्तावित नाम र स्थानको विरोध गर्दै डोटीमा बिहीबारबाट आन्दोलनको घोषणा गरिएको छ।

बिहीबार दिपायल र सिलगढीमा जलुस निकालेर जिल्ला प्रशासन र क्षेत्रीय प्रशासनमा शक्ति प्रर्दशन गर्ने तथा शुक्रबारबाट अनिश्चीत आम हड्ताल गरिने जिल्ला समन्वय समितिका संयोजक राम बहादुर ऐरले जानकारी दिए।

बुधबार स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाजका अगुवालगायतको बैठकले आन्दोलनको स्वरुप तय गर्दै घोषणा गरेको हो। प्रदेशको नाम सूदूरपश्चिम र राजधानी गोदावरी सारेकोमा बिरोध गर्दै आन्दोलनको घोषणा गरिएको संयोजक ऐरले जानकारी दिए।

प्रदेश सरकारले नाम र राजधानीका बिषयमा प्रतिबेदन पेश गर्न सांसद तारा लामा तामाङ्गको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो। सो समितिले बिहीबार पेश गरेको प्रतिबेदनको व्यापक बिरोध भइरहेको छ।

डोटीका जनप्रतिनिधि समेतको सहभागितामा आन्दोलन सशक्त पार्ने तयारी भएको डोटी उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष नरेन्द्र खड्काले बताए।

प्रदेशको राजधानी सीमित नेताको चाहनामा गोदावरी तोकिएको र नाम पनि उत्पीडनमा परेको महशुस हुने गरी प्रस्तावित गरेको बताउँदै सामाजिक सञ्जालमा समेत व्यापक आलोचना भइरहेको छ।

सुझाव दिन गठित समितिले मंगलबार प्रदेशसभामा प्रतिवेदन पेश गरेलगत्तै स्थायी राजधानी र नामका विषयमा सामाजिक सञ्जालमा चर्को विरोध शुरु भएको छ।

यसअघि संरचनामा करोडौं खर्च भएको दिपायलमै राजधानी तोकिनुपर्ने अधिकांशको धारणा माग छ। धनगढीमा समेत दिपायललाई राजधानी बनाउनु पर्ने माग गर्नेको संख्या बढ्दै गएको छ।

गोदावरी नगरपालिका-४ को तेघरीमै राजधानी तोक्ने उपयुक्त आधारहरू केही नभएको र सीमित नेताको चाहनामा मात्र स्थान तोकिएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *