काश्मिरका बालबालिकालाई रेडियो मार्फत शिक्षा

डिसी नेपाल
१४ वैशाख २०७७ १७:३४

श्रीनगर । भारतको काश्मिर क्षेत्रका बालबालिकालाई रेडियो मार्फत अध्यापन गराइने भएको छ । कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि सरकारले लकडाउन गरेकाले उनीहरुलाई रेडियो मार्फत अध्यापन गराउनु परेको हो ।

भारतले देशव्यापी लकडाउनको घोषणा गरेदेखि नै भारतका सबैजसो विद्यालय बन्द रहेकाले बालबालिकाहरु अध्ययन कार्यबाट बञ्चित भएका छन् । अत्यधिक धेरै विद्यार्थीहरु माझ एकैचोटी पुग्ने सजिलो र प्रभावकारी माध्यम नै रेडियो भएकाले रेडियो मार्फत् अध्यापन गराउन लागिएको अधिकारीहरुले जनाएका छन् ।

भारतको विद्यालय शिक्षा विभागले अर्को हप्तादेखि रेडियो मार्फत् अध्यापन गराउने तयारी थालिएको जनाएको छ । अधिकारीहरुका अनुसार शिक्षकले अल इन्डीया रेडियो मार्फत् अध्यापन गराउने छन् भने तोकिएको समयका विद्यार्थीहरुले घरमै बसेर पढ्न सक्नेछन् ।

काश्मिरको विद्यालय शिक्षा निर्देशनालयले यसअघि गत मार्च २६ देखि नै दूरसञ्चार केन्द्रको काश्मिर च्यानल मार्फत् पनि अध्यापन गराउँदै आएको छ । तर कतिपय विद्यार्थीहरु टेलिभिजनको पहुँचमा नभएकाले उनीहरुलाई समेत हुनेगरी रेडियो मार्फत् पनि अध्यापन गराउनु परेको हो ।

निर्देशनालयले तयार पारेका शैक्षिक सामग्रीहरु रेडियो, टेलिभिजनसँगै युट्युव, निर्देशनालयको वेभसाईट लगायत विभिन्न विद्युतीय माध्यमहरुबाट पनि विद्यार्थीहरुसम्म पु¥याउने प्रयास भइरहेको अधिकारीहरुले जनाएका छन् ।

काश्मिरका विद्यालय शिक्षा निर्देशक मोहम्मद युनिस मलिकले लकडाउन जति लम्बिदै गएपनि विद्यार्थीहरु पठनपाठनबाट पूर्ण रुपमा बञ्चित हुन नपरोस् भनेर पर्याप्त शैक्षिक सामग्रीहरु तयार पारेर विद्यार्थीहरुको पहुँचमा पु¥याउन अनेक उपायहरु गरिएको बताए । लकडाउनमा भएका बेला विद्यार्थीहरुले पढ्ने सामग्रीको अभाव नहोस भनेर नै यस्तो व्यवस्था गरिएको उनको भनाई छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *