कोरोनाको उद्गमस्थल वुहानको अद्भूत सफलता, गरियो ठूलो घोषणा
काठमाडौं। कोरोनाभाइरस संक्रमण सुरु भएको चीनको वुहान शहरले यसको नियन्त्रणमा अद्भूत सफलता हासिल गरेको छ । वुहानमा कोरोनाभाइरस नियन्त्रणमा आएसँगै यहाँका अस्पतालमा अब कोही पनि संक्रमित बिरामी नरहेको घोषणा गरिएको छ । कोरोनाभाइरसबाट संक्रमित अन्तिम बिरामी गत शुक्रबार निको भएर घर फर्किएका छन् ।
चीनका स्वास्थ्य अधिकारीले आइतबार हुबेई प्रान्तको राजधानी वुहानका अस्पतालमा संक्रमित नरहेको बताएका हुन् । वुहानमा २० दिनअघिबाटै बन्दाबन्दी हटाइएको थियो । यो शहर ७६ दिनसम्म बन्द गरिएको थियो । प्रान्तको राजधानी वुहानमा संक्रमित नरहे पनि हुबेई प्रान्तमा भने अझै ५० भन्दा बढी बिरामी रहेको चिनियाँ स्वास्थ्य अधिकारीले जनाएका छन् । तर, पूरै प्रान्तमा २० दिन यता नयाँ संक्रमित भेटिएका छैनन् ।
चीनमा भने पछिल्लो २४ घन्टामा तीन जना नयाँ संक्रमित भेटिएका छन् भने एक जनाको मृत्यु भएको छ । चीनमा जम्मा संक्रमितको संख्या ८२ हजार ८३० छ । तीमध्ये ७७ हजार ४७४ जना निको भएका छन् भने चार हजार ६३३ जनाको मृत्यु भएको छ ।
Facebook Comment