किमको मृत्युको खबरको खण्डन गर्दै दक्षिण कोरियाले दियो नयाँ अपडेट
काठमाडौं। दक्षिण कोरियाले उत्तर कोरियाली नेता किम जोङ उनको मृत्यु भइसकेको भन्ने खबरको खण्डन गरेको छ । दक्षिणले किम जीवितै भएको र ठिक भएको जनाएको छ ।दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनका विदेश मामिला सल्लाहकार मुन चुङले उत्तर कोरियामा कुनै शंकास्पद गतिविधि नदेखिएको पनि खुलासा गरेका छन् ।
अमेरिकी मिडिया सीएनएनसँग कुरा गर्दै चुङले भने ‘किम जीवित छन् र ठिक छन् । उनी अप्रिल १३ देखि ओनसान क्षेत्रमा बसिरहेका छन् । कुनै पनि शंकास्पद गतिविधि देखिएको छैन ।’ किम झण्डै २ हप्तादेखि सार्वजनिक रुपमा देखिएका छैनन् । अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक तथा आफ्ना हजुरबुवा किम इल सुङको जन्म जयन्तिको कार्यक्रममा किम अनुपस्थित थिए । त्यही आधारमा उनको स्वस्थ्यका विषयमा धेरै अड्कलबाजी भइरहेको छ ।
गत साता एक अमेरिकी गुप्तचर अधिकारीलाई उद्धृत गर्दै सीएनएनले किमको सर्जरी गरिएको र उनको स्वास्थ्य स्थिति नाजुक रहेको बताएको थियो । अत्यधिक धुम्रपान, मोटोपना र अधिक कामका कारण किमलाई मुटुको समस्या भएको बताइएको थियो । दक्षिण कोरियाको राजधानीबाट सञ्चालिच डेली एनकेको एक रिपोर्टमा किम प्योङयाङको उत्तरी क्षेत्रको रिसोर्ट काउन्टी अफ ह्याङसनमा उपचाररत रहेको बताएको थियो । अप्रिल १२ मा किमको मुटुको शल्यक्रिया गरिएको र त्यसपछि उनको अवस्था बिग्रेको अपुष्ट समाचार डेली एनएकेले प्रकाशित गरेको थियो ।
यसैबीच, किमले प्रयोग गर्ने रेलको स्याटेलाइट तस्बिर सार्वजनिक भएको छ । उत्तर कोरियाको पूर्वी किनारमा अप्रिल २१ देखि रेल पार्किङ गरेर राखिएको सीएनएनले उल्लेख गरेको छ । उत्तर कोरियाले आफ्नो नेतृत्वको बारेमा एकदमै कम मात्रामा सूचना सार्वजनिक गर्ने गरेको छ । उत्तर कोरियामाथि जासुसी गर्ने दक्षिण कोरियाली खुफिया एजेन्सीले समेत मिश्रित प्रकारको सूचना प्राप्त गर्ने गरेको छ ।
Facebook Comment