कोरोनाभाइरस, अपराध, जेल अनि…, कम्तीमा उनीहरुले मास्क त लगाएका छन्
काठमाडौं। दक्षिण अमेरिकी देश एल साल्भाडोरमा जेल लकडाउनका क्रममा अधिकारीहरुले शनिबार सामाजिक दूरीको नियमलाई बेवास्ता गर्दै कैदीहरुलाई एकै ठाउँमा कोचेर राखे । राष्ट्रपति नाइब बुकेलेले ग्याङका सदस्यहरु भएको जेललाई २४ घण्टे लकडाउनको आदेश दिएपछि इजाल्को जेलका कैदीहरुलाई एक अर्कासँग खाँदेर राखिएको थियो । राष्ट्रपति बुगेलेले ग्याङ लिडरहरुलाई एकान्त कारावासमा पठाइने बताए ।
देशमा शुक्रबार अचानक २२ जनाको एकै दिन हत्या भएपछि राष्ट्रपतिले यस्तो आदेश दिएका हुन् । बुकेलेले ट्वीटरमा लेखेका छन् ‘बाहिरी संसारसँग कुनै सम्पर्क हुने छैन । पसलहरु बन्द रहनेछन् र गतिविधिहरु अर्को सूचना नभएसम्म स्थगित गरिएको छ । ग्याङ लिडरहरु एकान्त कारावासमा पठाइनेछन् ।’ बुकेलेले पुलिसले २२ जनाको हत्याको अनुसन्धान गर्दासम्म ‘अधिकतम आपतकालीन’ लकडाउन लागू गरिने बताएका छन् ।
गएको जूनमा बुकेलेले राष्ट्रपतिको कार्यभार सम्हालेपछिको यो घटना अहिलेसम्मकै एकै दिन सबैभन्दा धेरैको हत्या भएको घटना हो । केही वर्ष अघिसम्म एल साल्भाडोरमा अमेरिकी राष्ट्रहरुमध्येमा सबैभन्दा धेरै हत्याका घटनाहरु हुने गर्थे । यहाँ मारास नामको सडक ग्याङ सक्रिय थियो । यद्यपि बुकेलेले नेतृत्व लिएपछि यहाँ हत्याका घटनामा उल्लेख्य कमी आएको थियो र पछिल्ला महिनामा केही दिन एउटा पनि हत्या भएको थिएन ।
एल साल्भाडोरले केही अमेरिकी राष्ट्रहरुमध्येकै कडा नियम लागू गराएर कोरोनाभाइरस संक्रमण रोक्न प्रयासरत छ । यो देश मार्च २२ देखि लकडाउनमा छ र लकडाउनको नियम तोड्नेलाई जेल सजायसम्म हुने कानुनी व्यवस्था गरिएको छ । ६४ लाख जनसंख्या भएको देशमा अहिलेसम्म २९८ जना संक्रमित भेटिएका छन् र ८ जनाको ज्यान गएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
Facebook Comment