१८ हजार संक्रमित २१ सयको मृत्यु तैपनि सबैथोक खुला, कोरोनासँग कसरी लडिरहेछ यो देश ?
काठमाडौं। युरोपेली देश स्वेडेनमा कोरोनाभाइरस संक्रमितको संख्या १८ हजार ६ सय भन्दा धेरै भइसकेको छ । यहाँ २ हजार १९४ जनाको यो भाइरसका कारण मृत्यु भइसकेको छ । तर, यो देशमा रेष्टुरेन्ट, बार, पसल र स्कुलहरु सबै खुला छन् । फरक तरिकाले कोरोनाभाइरससँग लडिरहेको देशको रुपमा विश्वभर स्वेडेनको चर्चा हुन थालेको छ । यद्यपि कैयौं मानिसहरुले भने सरकारको रणनीतिमाथि प्रश्न पनि उठाइरहेका छन् ।
स्वेडेनमा पसल, रेष्टुरेन्ट र बार खोल्ने निर्णय राजनैतिक होइन । यो निर्णय यहाँका डाक्टरहरुले गरेका हुन् । देशका संक्रामक रोगका विशेषज्ञ डा. एन्डर्स टेगनेलले कोरोनाभाइरससँग लड्ने रणनीति तयार पारेका हुन् । देशका कैयौं मानिसहरुले उनको प्रशंशा पनि गरिरहेका छन् । कोरोनाभाइरस संक्रमण फैलिरहेको अवस्थामा बार खोल्नको लागि स्वेडेनमा निश्चित नियम बनाइएको छ । नियमअनुसार कोही पनि बारभित्र उभिइरहन पाउँदैन र मानिसहरुबीच ५ फिटको दूरी कायम गर्नुपर्छ ।
५० भन्दा धेरै मानिसहरु जम्मा हुन पनि रोक लगाइएको छ । आइतबार अधिकारीहरुले जुन रेष्टुरेन्ट र बारमा मानिसहरुले नियम तोडेको पाइएको छ ती रेष्टुरेन्ट र बारहरुलाई बन्द गर्ने गरिएको पनि बताएका छन् । स्वेडेनमा मानिसहरु पार्कमा पनि गइरहेका छन् र सनबाथ पनि लिइरहेका छन् । डेली मेलको रिपोर्टका अनुसार भाइरससँग केही हदसम्म एक्सपोजरको साथमा आम मानिसहरुमा रोग प्रतिरोधी क्षमता विकास गर्ने र जसलाई धेरै खतरा छ उनीहरुलाई बचाउनको लागि स्वेडेनले यस किसिमको गाइडलाइन बनाएको हो ।
स्वेडेनको जनसंख्या करिब १ करोड छ । कैयौंले भने अर्थतन्त्रलाई चलायमान राख्न स्वेडेनले यस्तो गरेको आरोप पनि लगाएका छन् । यद्यपि कोरोनासँग लड्नको लागि नियम बनाउने क्रममा अर्थतन्त्र क्र्याश हुने कुरालाई पनि ख्याल गरिएको छ । संक्रामक रोगका विशेषज्ञ टेगनेलले जसरी भए पनि मानिसहरुले ‘हर्ड इम्युनिटी’ हासिल गर्नैपर्ने बताएका छन् । उनका अनुसार राजधानी स्टकहोममा हर्ड इम्युनिटी केही हप्तामा हासिल हुन सक्छ । यद्यपि उनले कोरोनाभाइरसबारे अझै धेरै कुरा थाहा नभएकोले सबै प्रश्नको उत्तर आफूसँग नभएको बताएका छन् ।
Facebook Comment