कोरोनाभाइरसका कारण ‘मृत्यु’ भएका बिरामी एक महिनापछि जीवित !
काठमाडौं। कोरोनाभाइरसका कारण विश्वभर २ लाखभन्दा धेरैको ज्यान गइसकेको छ । यो विश्वव्यापी महामारीका कारण संसारभरका देशहरु प्रभावित भएका छन् । दक्षिण अमेरिकी देश इक्वेडरमा भने कोरोनाभाइरसका कारण परिवारकी एक सदस्य गुमाएका परिवारको त्यतिबेला खुसीको सीमा रहेन जब उनीहरुले मृत्यु भएको भनिएकी परिवारकी सदस्य जीवितै रहेको थाहा पाए । ती महिलाको पहिचानमा भएको गल्तीका कारण यस्तो भएको बीबीसीको समाचारमा उल्लेख छ ।
इक्वेडरकी ७४ वर्षकी महिला अल्बा मारुरीको परिवारलाई गत महिना अस्पतालले अल्बाको मृत्यु भएको जानकारी दिएको थियो । संक्रमणको जोखिमका कारण शवको अन्तिम संस्कार अस्पतालले नै गरेर परिवारलाई उनको भनिएको अस्तु पठाएको थियो । परिवारले त्यही अस्तुलाई अल्बाको अस्तु सम्झेर अन्तिम संस्कारको बाँकी विधि पूरा गरेका थिए । तर, वास्तवमा अल्बाको मृत्यु भने भएको थिएन बरु मृत्यु भएकी अर्कै महिलालाई अस्पतालले अल्बा ठानेको थियो ।
परिवारले अल्बाको मृत्युको शाक मनाइरहँदा अल्बा भने अस्पतालमा कोमाको अवस्थामा थिइन् । तीन हप्तासम्म कोमामा रहेपछि अल्बा गत बिहीबार ब्युँझिइन् र अस्पतालका कर्मचारीलाई आफ्नी बहिनीलाई बोलाइदिन भनिन् । अल्बाले आफ्नो परिचय दिएपछि अस्पतालले उनका परिवारलाई उनी जीवितै रहेको सूचना दियो । मृत्यु भएकी भनिएकी अल्बा जीवितै रहेको थाहा पाएपछि परिवारको खुसीको सीमा रहेन तर परिवारलाई अझै पनि घरमा भएको अस्तु कसको हो भन्ने थाहा भने हुन सकेको छैन । अस्पतालले पहिचानमा भएको गल्तीका लागि माफी मागेको छ ।
De no creer. Alba Maruri, 74 años, paciente de Covid-19 fue dada por muerta el 27 de marzo en hospital del Suburbio y su familia recibió sus cenizas. Resulta que cremaron a otra persona y Alba estuvo inconsciente 3 semanas hasta ayer, que preguntó por su hermana. #Guayaquil pic.twitter.com/vuTvbrGpz8
— LaHistoria (@lahistoriaec) April 25, 2020
अल्बा गुआयाकिलमा बस्छिन् जुन शहर देशमा कोभिड १९ को इपिसेन्टर हो । इक्वेडर यो महामारीबाट नराम्रोसँग प्रभावित भएको छ । यहाँ २२ हजार भन्दा धेरै संक्रमित भइसकेका छन् र ६ सय भन्दा धेरैको ज्यान गइसकेको छ । स्थानीय अखबार एल कोमेर्सियोका अनुसार अल्बालाई गत महिना उच्च ज्वरो र सास फेर्न समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । उनका परिवारलाई २७ मार्चमा अल्बाको कोरोनाभाइरसका कारण मृत्यु भएको सूचना दिइएको थियो ।
परिवारलाई अस्पतालको मुर्दाघरमा एउटा शव देखाइएको थियो तर संक्रमण फैलिने आशंकाका कारण शवको नजिक जान दिइएको थिएन । अल्बाका भतिजा जेमे मोर्लाले आफूलाई यी आफ्नी काकी भएजस्तै लागेको बताएका थिए । ‘मलाई उहाँको अनुहार हेर्न डर लागेको थियो’ उनले समाचार एजेन्सी एएफपीसँग भने ‘म करिब डेढ मिटर टाढा थिएँ । उनको (शवको) उस्तै कपाल र उस्तै छालाको टोन थियो ।’ त्यसपछि शवलाई लगेर अन्तिम संस्कार गरियो र अस्तु परिवारलाई पठाइयो ।
तर, बिहीबार अल्बा होसमा आइन् र डाक्टरलाई आफ्नो परिचय दिइन् । उनले अस्पतालका कर्मचारीलाई आफ्नो घरको फोन नम्बर दिइन् र आफूलाई लिनको लागि बहिनी आउरालाई बोलाइदिन भनिन् । एल कोमेर्सियोको समाचार अनुसार अस्पतालको एक टिम माफी माग्नको लागि उनको घर गएको थियो । माफी माग्दै उनीहरुले परिवारलाई त्यो समय संक्रमित बिरामीको संख्या र लगातार मृत्युका कारण अस्पताल अस्तव्यस्त रहेको बताएका थिए ।
‘यो चमत्कार हो । करिब एक महिनासम्म हामीले उनको मृत्यु भइसकेको ठानेका थियौं । कल्पना गर्नुस्’ आउराले भनिन् ‘अनि मसँग अरु कसैको अस्तु थियो ।’ परिवारले यो घटनाको लागि अस्पताल प्रशासनले क्षतिपूर्ति दिनुपर्ने र अन्तिम संस्कारमा भएको खर्च परिपूर्ति गर्नुपर्ने बताएका छन् । अल्बाका लागि पनि नयाँ ओच्छ्यान किनिएको छ किनकि पुरानो ओच्छ्यान परिवारले फ्याँकिदिएका थिए ।
Facebook Comment