दाजु हुँदाहुँदै किम कसरी भए उत्तर कोरियाका सर्वोच्च नेता ? उनीपछि को ? यी हुन् ५ दावेदार

डिसी नेपाल
१६ वैशाख २०७७ १०:१४

बीबीसी मनिटरिङ। उत्तर कोरियाको सरकारी मिडियाले आफ्नो देशमा सबथोक ठिक भएको सन्देश प्रसारण गरिरहेको छ तर विश्वका अन्य भागमा भने उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनको स्वास्थ्यलाई लिएर विभिन्न अनुमान गरिएका छन् । उनी गम्भीर रुपमा बिरामी भएकोदेखि लिएर उनको मृत्यु भएकोसम्मका हल्लाले बजार तातेको छ ।

उनको स्वास्थ्यलाई लिएर अनुमानको यो सिलसिला १५ अप्रिलदेखि सुरु भएको हो किनकि किम यस दिन आफ्ना हजुरबुवा तथा उत्तर कोरियाका सर्वोच्च नेता किम इल सुंगको जन्मजयन्ति कार्यक्रममा सहभागी भएनन् ।

दक्षिण कोरिया र अमेरिकी सरकारले उत्तर कोरियामा कुनै असामान्य गतिविधि नदेखिएको बताएका छन् जसबाट यो अनुमान लगाउन सकियोस् कि किम जोंग उन गम्भीर रुपले बिरामी छन् वा उनको मृत्यु भइसकेको छ । तर, जबसम्म यो पक्षमा उत्तर कोरियाको सरकार नियन्त्रित मिडियाले कुनै घोषणा गर्दैन तबसम्म किम जोंग उनका विषयमा हल्लाको सिलसिला जारी रहनेछ । यदि यी हल्ला सही भए भने सबैभन्दा ठूलो प्रश्न हो किम जोंग उनको ठाउँमा उत्तर कोरियाको सरकार प्रमुख को हुनेछ ? यस्ता केही दावेदारहरु यस्ता छन् –

किम यो जोंग

उत्तर कोरियामा किम जोंग उनकी बहिनी किम यो जोंगलाई देशको नयाँ सर्वोच्च नेताको पहिलो रोजाइको रुपमा हेरिएको छ । ३१ वर्षकी किम यो जोंगको पढाइ आफ्ना दाजुको जस्तै पश्चिमी देश स्विट्जरल्याण्डमा भएको हो । उनी पोलिटब्युरोकी सदस्य हुन् र देशको सबेभन्दा महत्वपूर्ण प्रचार एवं आन्दोलन विभागकी अस्टिेन्ट डाइरेक्टर पनि हुन् ।

उनलाई किम जोंग उनको ‘क्रिेट डायरी’को रुपमा पनि चर्चा प्राप्त छ । किम जोंग उनको दैनिक कामकाजमा उनको अहम भूमिका हुने मानिन्छ । उनले आफ्ना दाजुलाई नीतिगत मुद्दामा पनि महत्वपूर्ण सल्लाह दिने गरेको पनि बताइन्छ । किम यो जोंग त्यो कथित ‘माउन्ट प्याक्टु ब्लडलाइन’की सदस्य पनि हुन् जसलाई किम इल सुंगको सिधा वंशजको रुपमा हेरिन्छ र जसको उत्तर कोरियाको राजनीतिमा महक भूमिका छ ।

तर, यो पनि मानिन्छ कि उनी हरेक कुरामा हतार गर्छिन् जसका कारण उनीबाट गल्तीहरु हुने आशंका धेरै हुन्छ । पछिल्लो समय किम जोंग उन र डोनाल्ड ट्रम्पको भियतनामको हनोइमा भएको भेटघाटको बेला लुकेर चियाइरहेको उनको तस्वीरका कारण किम जोंग उनको खिल्ली पनि उडाइएको थियो । यद्यपि किम यो जोंगले यस किसिमको व्यवहार गरेको त्यो पहिलो पटक थिएन ।

तर, अर्को प्रश्न यो पनि हो कि के उत्तर कोरिया महिला नेतृत्वको लागि तयार छ ? उत्तर कोरियाको राजनैतिक र सामाजिक संरचनामा महिलाहरुको अहम भूमिका छ तर शक्तिशाली स्थानमा महिलाहरुको स्थान निकै कम छ । यस्तोमा के किम परिवारकी सदस्य भएका आधारमा उनले पितृसत्तात्मक समाजका चुनौतहिरुलाई पार गर्न सक्छिन् ?

किम जोंग चोल

किम जोंग चोल अहिलेका सर्वोच्च नेता किम जोंग उनका दाजु हुन् । उनका पिताले उनलाई नै उत्तर कोरियाको भविष्यको नेताको रुपमा अगाडि बढाएका थिए तर पछि किम जोंग चोलले सेना र राजनीतिलाई लिएर कुनै उत्साह नदेखाएपछि किम जोंग उनलाई त्यो स्थान दिइएको थियो ।

किम जोंग चोल पनि सार्वजनिक रुपमा देखिँदैनन् । उनलाई २०१५ मा लण्डनमा देखिएको थियो जतिबेला उनी आफ्ना आदर्श गिटारिस्ट इरिक क्यालप्टनको रोयल अल्बर्ट हलमा आयोजित कन्सर्टमा देखिएका थिए । तर, उनलाई देशको नेताको रुपमा जिम्मेवारी दिइने सम्भावना निकै कम छ ।

किम प्योंग इल

पूर्व नोकरशाह किम प्योंग इल किम जोंग उनका काका हुन् अर्थात उत्तर कोरियाका दोस्रो सर्वोच्च नेता किम जोंग इलका सौतेनी भाइ हुन् । उत्तर कोरियाका प्रथम सर्वोच्च नेता किम इल सुंगका छोराको रुपमा उनी ‘माउन्ट प्याक्टु ब्लडलाइन’का सदस्य हुन् । एक समय उनलाई किम जोंग इलको लागि खतरा मानिएको थियो ।

यही कारण किम प्योंग इललाई चार दशकसम्म विभिन्न युरोपेली देशहरुमा राजनूतको रुपमा तैनाथ गरेर उत्तर कोरियाबाट बाहिर राखियो । किम प्योंग इल ६५ वर्षको उमेरमा रिटायर भएर गत वर्ष प्योंगयांग फर्किएका छन् । उनले नेतृत्व लिएमा देशलाई सुरक्षित हातमा गएको मान्न सकिन्छ ।

चोय रेयोंग हे

भाइस मार्शल चोय रेयोंग हे किम जोंग उनका दाहिने हात मानिन्छन् । यतिमात्र होइन उनी उत्तर कोरियाली संसद सुप्रिम पिपुल्स एसेम्बलीका अध्यक्ष पनि हुन् । ७० वर्षका चोय रेयोंग हेलाई देशमा सबैभन्दा शक्तिशाली व्यक्तिको रुपमा हेरिन्छ । किम जोंग उनले शीर्ष स्थान सुरक्षित राख्नुमा चोयको महत्वपूर्ण योगदान छ ।

यही कारण किम जोंगले चोयलाई धेरै सम्मान दिने गर्छन् । २०१२ मा सत्ता सम्हालेको केही महिनापछि किम जोंगले चोयलाई एकसाथ कैयौं पदोन्नती गरिदिएका थिए । यसबाट किम जोंग उनको नजरमा चोयको अहमियत बुझ्न सकिन्छ ।

किम परिवारभन्दा बाहिर चोय देशका ती सीमित नेताहरुमध्येका एक हुन् जसको नाम उत्तर कोरियाली मिडियामा नियमित रुपमा आइरहन्छ । उत्तर कोरियामा किम परिवारभन्दा बाहिरको व्यक्ति पनि सरकार प्रमुख हुन सक्छ । यस्तोमा चोय रेयोंग हे एक उपयुक्त दावेदार हुन सक्छन् । किम जोंग उनको असमय विदाइले देशको सत्ता हस्तान्तरको सहज परिवर्तनको लागि पनि चोय उपयुक्त साबित हुन सक्छन् ।

किम जेय रेयोंग

किम नाम भएता पनि उत्तर कोरियाका प्रधानमन्त्री किम जेय रेयोंग किम परिवारका सदस्य भने होइनन् । खासमा उत्तर कोरिया र दक्षिण कोरियामा किम एक आम नाम हो । २०१६ भन्दा पहिले किम जेय रेयोंगको नाम धेरैले सुनेका थिएनन् । तर, यसपछि भने उनले लगातार सफलता हासिल गर्दै गए ।

एक वर्ष पहिले उनी उत्तर कोरियाको संसदमा पुगे र अचानक एक महिनाभित्रै उनलाई प्रधानमन्त्री निर्वाचित गरियो । उनले पोलिटब्युरोको सदस्यता पाए र सेन्ट्रल मिलिटरी कमिशनमा पनि उनले स्थान पाए । किम जेय सत्तारुढ परिवारका सदस्य होइनन् तर परिवारको उपयुक्त उम्मेदवार अगाडि नआउँदासम्म उनी यो भूमिकाको लागि उपयुक्त मानिन सक्छन् ।

उत्तराधिकारीको निर्वाचन कसरी हुन्छ ?

१९४८ मा स्थापनापछि नै उत्तर कोरियामा किम परिवारका सदस्यको शासन रहिआएको छ । देशमा नयाँ नेताको घोषणा उत्तर कोरियाको संसद सुप्रिम पिपुल्स एसेम्बलीले गर्छ । तर, वर्कर्स पार्टी र उसका समर्थकको प्रभुत्व भएको उत्तर कोरियाली संसद ‘रबर स्टाम्प’जस्तै काम गर्छ । आधिकारिक घोषणा हुनुभन्दा महिनौं वा वर्षौं पहिल्यै सवोच्च नेताको चुवाब हुन्छ ।

किम जोंग उनका पिता किम जोंग इल १९९४ मा उत्तर कोरियाका संस्थापक आफ्ना पिता किम इल सुंगको मृत्युपछि सर्वोच्च नेता बनेका थिए । उनले आफ्नो शासनको क्रममा उत्तर कोरियाली राजनीतिमा किम परिवारको अहम भूमिकालाई सुनिश्चित गरिदिएका थिए ।

उनले यस किसिमको विश्वास बनाए कि कोरियाली सभ्यताको संरक्षण गर्ने पवित्र ज्वालामुखी माउन्ट प्याक्टुको महान परिवारमा किम परिवार पनि सामेल छ । यो विश्वासबाट उनले आफ्नो परिवारलाई त्यो स्थानसम्म पुर्याए जहाँबाट यो धारणा बन्यो कि परिवारका दस्यको जन्म शासन गर्नको लागि भएको हो ।

किम इल सुंगले किम जोंग इललाई आफ्नो उत्तराधिकारी चुनेका थिए । किम जोंग इलले आफ्ना छोरालाई सत्ता सुम्पे । किम जोंग उनको आफ्नो परिवार छ । तर, अहिलेसम्म उनका कुनै सन्तानलाई सार्वजनिक रुपमा देखिएको छैन । न त कसैलाई सत्ता सम्हाल्नको लागि तयार गरिएको छ ।

वास्तविकता यो हो कि उत्तर कोरियाली जनतालाई किम जोंग उनका सन्तानको नाम पनि थाहा छैन । उत्तर कोरियामा किमको स्थान लिनको लागि कसैलाई सम्भावित नेताको रुपमा तयार गरिएको छैन । यस्तोमा किमको असमय विदाइले एक खाली ठाउँ उत्पन्न हुनेछ जसलाई भर्न निकै कठिन हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *