कोरोना उपचार कोषमा गाउँपालिकाको ५० लाख
दमौली । तनहुँको ऋषिङ गाउँपालिकाले कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि खडा गरेको कोषमा रु ५० लाख बजेट विनियोजन गरेको छ । गाउँ कार्यपालिकाको बैठकले कोरोना कोषमा रकम थप गर्दै रु ५० लाखको कोष खडा गरेको हो ।
गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले यस अगाडि उक्त कोषमा रु पाँच लाख विनियोजन गरिएको भए पनि वार्षिक बजेटबाट रकमान्तर गरी कोरोना कोषमा रकम थप गरिएको जानकारी दिए । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि खटिने कर्मचारीलाई क्रियाशीलताको आधारमा प्रोत्साहन भत्ता दिने निर्णय गाउँपालिकाले गरेको छ । साथै स्वास्थ्य तथा सुरक्षामा कार्यरत कर्मचारीलाई विपद्मा खटिएवापत तलबमानको आधा हुन आउने रकम बराबर प्रोत्साहन भत्ता उपलब्ध गराइने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
बन्दाबन्दी भएसँगै गाउँपालिकाले विपन्न तथा असहाय परिवारलाई रु १२ लाख बराबरको खाद्यान्न सामग्री वितरण गरेको जनाएको छ । बन्दाबन्दी लम्बिने अवस्था आएमा गाउँपालिकाले खाद्यान्न प्याकेजको कार्यक्रम ल्याउने सोच बनाएको छ । वैशाख ८ गतेको हावाहुरीले क्षति पु¥याएको घरलाई गाउँपालिकाले राहत वितरण गर्ने निर्णय गरेको छ । हावाहुरीले ऋषिङ गाउँपालिका–४ र ५ का विभिन्न ठाउँका १४ घरको छानो उडाएको थियो । हावाहुरीले पु¥याएको क्षतिको आधारमा पूर्ण क्षति भएकालाई रु १० हजार र आंशिक क्षति भएकालाई रु पाँच हजार राहत वितरण गरिनेछ ।
Facebook Comment