चालु वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशत

डिसी नेपाल
१७ वैशाख २०७७ १७:२०

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.२७ प्रतिशतले मात्र हुने केन्द्रिय तथ्यांक विभागले प्रक्षेपण गरेको छ । सरकारले लिएको ८.५ प्रतिशतको लक्ष्यभन्दा दुई तिहाई कम आर्थिक बृद्धि हुने सार्वजनिक भएको हो ।

विश्वमा देखिएको कोभिड १९ को महामारीको असरलाई न्युन गर्नका लागि अवलम्बन गरिएको आन्तरिक तथा बाह्य प्रयासहरुको नकारात्मक प्रभाव नेपालको अर्थतन्त्रमा पर्ने भएकोले आर्थिक वृद्धिदर घट्ने विभागले निष्कर्ष निकालेको हो ।

यसअघि विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतसम्म झर्ने अनुमान गरिसकेको छ । विभागले होटल तथा रेष्टुरेन्ट र अन्तराष्ट्रिय यातायात क्षेत्रको यस आर्थिक बर्षको अन्त्यसम्ममा अत्याधिक प्रभावित रहने तथा अन्य क्षेत्रहरु जेठबाट क्रमशःनियमित हुने अनुमान गरेको छ ।

विभागका अनुसार कृषि तथा बन मत्स्य र खानी तथा उत्खनन क्षेत्रबाट चालु आर्थिक बर्षमा कुल गार्हस्थ उत्पादनमा २८.२० प्रतिशत योगदान छ । चालु आवमा धान उत्पादनमा कमी तथा कोभिड १९ को महामारीको असरलाई न्युन गर्नको लागि अवलम्बन गरिएको प्रयासबाट आपुर्ति प्रणालीमा आएको रोकावटले गर्दा यस क्षेत्रको उत्पादन गत आर्थिक बर्षको भन्दा न्युन बृद्धिदर रहनेछ ।

त्यस्तै निर्माण उद्योग, विद्युत ग्याँस पानी जस्ता क्षेत्रले जिडिपीमा १३.७२ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान रहेको छ । उर्जा क्षेत्रको विस्तार भएपनि कोभिड १९ को असर यस क्षेत्रमा पनि परेको र आपुर्ति प्रणालीमा आएको अवरोध तथा उत्पादनमा आएको कमीका कारण यस क्षेत्रमा पनि कमी आउने विभागले जनाएको छ ।

सेवा क्षेत्रले यस चालु आर्थिक बर्षमा ५८.०८ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान विभागको रहेको छ । पर्यटन, होटल व्यवसायमा क्षेत्रमा कोभिड १९ को प्रत्यक्ष असर परेकोले गत बर्ष भन्दा यस बर्ष यस क्षेत्रको योगदान कम हुने विभागले जनाएको छ ।

चालु आर्थिक बर्षमा कृषि क्षेत्रको २७.६५ र गैर कृषि क्षेत्रको ७२.३५ प्रतिशत योगदान रहने पनि विभागले जनाएको छ ।

कुन क्षेत्रको कति वृद्धिदर ?

कृषि तथा वन: २.४८ प्रतिशत

मत्स्य पालन: ७.१७ प्रतिशत

विद्युत, ग्यास तथा पानी: २८.७५ प्रतिशत

थोक तथा खुद्रा व्यापार: २.११ प्रतिशत

वित्तिय मध्यस्थता: ५.१५ प्रतिशत

रियल स्टेट रेटिङ तथा व्यवसायिक: ३.२५ प्रतिशत

सार्वजनिक प्रशासन तथा रक्षा: ५.९१ प्रतिशत

शिक्षा: ४.८८ प्रतिशत

स्वास्थ सामाजिक: ७.०७ प्रतिशत

सामुदायिक सामाजिक तथा व्यक्तिगत सेवा: ४.७१ प्रतिशत

निर्माण: ०.३१ प्रतिशत (नकारात्मक)

यातायात सन्चार तथा भन्डारण: २.४५ प्रतिशत (नकारात्मक)

होटल तथा रेष्टुरेन्ट: १६.३० प्रतिशत (नकारात्मक)

खानी तथा उत्खनन: ०.६९ प्रतिशत (नकारात्मक)

उद्योग : २.२७ प्रतिशत (नकारात्मक)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *