साढे ४ अर्ब सहयोग उठाउने क्याप्टेन टमको प्रमोसन, १०० औं जन्मदिनमा कर्णेलमा बढुवा

डिसी नेपाल
१८ वैशाख २०७७ १३:१५

काठमाडौं। कोरोनाभाइरसविरुद्ध लडिरहेका बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस)का स्वास्थ्यकर्मीहरुका लागि आर्थिक सहयोग संकलन गरिरहेका बेलायती सेनाका पूर्व क्याप्टेन टम मूरे अब कर्णेल भएका छन् । बेलायती सेनाले उनको १०० औं जन्मदिनको अवसरमा अप्रिल ३० तारिख बिहीबारका दिन उनको पदोन्नतती गरेको हो ।

उनले एनएचएसका लागि आर्थिक संकलन गर्ने क्रममा विश्वरेकर्ड बनाएका थिए । उनले ३ करोड पाउण्ड (साढे ४ अर्ब नेपाली रुपैयाँ) बराबरको आर्थिक सहयोग संकलन गरिसकेका छन् र उनको अभियान जारी छ । दोस्रो विश्वयुद्ध लडेका कर्णेल टमले अहिले एनएचएसका लागि सहयोग उठाउन निरन्तर सक्रिय भएपछि विश्वभरीबाट उनको प्रशंशा भइरहेको छ ।

उनको १०० औं जन्मदिनको अवसरमा महारानी एलिजावेथ द्वितीयले पठाएको टेलिग्राम पढ्नुभन्दा ठिक अघि उनलाई मानार्थ कर्णेलमा बढुवा गरिएको हो । उनले आफ्नो चर्चित बगैंचाको २०० चक्कर हिँड्ने लक्ष्य लिएका छन् र आजै उनले यसको २०० औं चक्कर लगाएर पूरा गर्ने अपेक्षा गरिएको छ । यसपछि उनले आफ्नो १०० औं जन्मदिनमा शुभकामनासहित आएका १ लाख ५० हजार कार्ड पढ्नेछन् ।

क्याप्टेन टमले बेलायतमा कोरोनाभाइरसको प्रकोप अत्याधिक बढेपछि एनएचएसका स्वास्थ्यकर्मीहरुका लागि आर्थिक सहयोग संकलन सुरु गरेका थिए । उनले आफ्नो १०० औं जन्मदिनभन्दा पहिले आफ्नो बगैंचाको १०० चक्कर लगाउने लक्ष्यसहित हिँड्न सुरु गर्दै सहयोगका लागि आह्वान गरेका थिए । उनले १ हजार पाउण्ड संकलन गर्ने लक्ष्यसहित हिँड्न सुरु गरेका थिए तर उनको अभियानले पूरै विश्वलाई तानेपछि उनले अहिलेसम्म ३ करोड पाउण्ड उठाइसके । विश्व आकर्षित भएपछि उनले आफ्नो लक्ष्य पनि बढाएर बगैंचाको २ सय चक्कर लगाउने निर्णय गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *