रुसका प्रधानमन्त्री र पाकिस्तानका सभामुखलाई कोरोना पुष्टि, २ लाख ३१ हजारकाे मृत्यु

डिसी नेपाल
१९ वैशाख २०७७ ७:३६

काठमाडौं। कोरोना भाइसरबाट विश्वभर हालसम्म ३२ लाख ७६ हजार १३९ जना संक्रमित भएका छन्। २ लाख ३१ हजार ८८४ जनको मृत्यु भइसकेको छ। दश लाख ३३ हजार ११५ जना उपचारपछि निको भएका छन्।

रुसका प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। प्रधानमन्त्री स्वयंले आफूलाई कोरोना संक्रमण पोजेटिभ देखिएको जानकारी दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। उता पाकिस्तानी संसदमा सभामुख असद क्यासरलाई पनि कोरोना संक्रमण भएको छ। उनले २४ अप्रिलमा प्रधानमन्त्री इमरान खानसँग भेट गरेका थिए।

रुसी प्रधानमन्त्रीले मिखाइल मिशस्तिनलाई बिहीबार अबेर राति कोरोना संक्रमण भएको पुष्टि भएको हो। एक न्युज च्यानलसँग कुरा गर्दै उनले भने, ‘मैले कोरोना टेस्ट गराएको थिएँ। यसको रिपोर्ट पोजेटिभ आएको छ। अब म सेल्फ आइसोलेशनमा जाँदैछु। म आफू सुरक्षित र स्वस्थ रहन निकै आवश्यक छ।’
उनले राष्ट्रपति भ्लादिमीर पुटिनलाई भिडियो कन्फ्रेन्समार्फत यसको जानकारी दिएका थिए।

उता बेलायतको एडिनबर्ग, लिभरपुल र इम्पिरियल कलेजको संयुक्त अनुसन्धानका अनुसार बेलायतमा कोरोना संक्रमणबाट अस्पतालमा भर्ना भएका ३३ प्रतिशत बिमारीको मृत्यु भइरहेको छ। अनुसन्धानका अनुसार जुन बिमारीलाई भेन्टिलेटरमा राखिएको तीमध्ये आधा भन्दा कमको मात्र ज्यान बचाउन सकिएको छ।

रिसर्चका लागि ६ फेब्रुअरीदेखि १८ अप्रिलबीचमा तथ्थांक संकलन गरिएको थियो। यसमा कुल १६६ अस्पताललाई सहभागी गराइएको थियो। नतिजा अनुसार ४९ प्रतिशत बिमारी डिस्चार्ज भएका छन्।

३३ प्रतिशतको मृत्यु भएको छभने १७ प्रतिशतको उपचार भइरहेको छ। भेन्टिलेटरमा राखिएकामध्ये ५३ प्रतिशतको मृत्यु भएको छ। २० प्रतिशत निको भएर डिस्चार्ज भएका भने २७ प्रतिशत अहिले पनि अस्पतालमा उपचाररत छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *