कोरोनाभाइरसः आमाले रातभर ढुङ्गा उमालिरहिन्, छोराछोरी ‘सान्त्वना’ खाएर सुते

डिसी नेपाल
१९ वैशाख २०७७ १२:५४

काठमाडौं। कोरोनाभाइरसका कारण खानेकुराको अभाव भएपछि एक आमाले आफ्ना छोराछोरीलाई निकै पीडादायी तरिकाले सान्त्वना दिनु परेको छ । कोरोना संकटले केन्याकी यी आमालाई यतिसम्म गरिब बनाइदियो कि उनले आफ्ना छोराछोरीलाई भुलाउनको लागि ढुङ्गा पकाएको नाटक गर्नुपर्यो ।

८ सन्तानकी यी आमाको नाम पेनिना बहाती कित्साओ हो । पेनिना निरक्षर र विधवा छिन् । उनी मानिसहरुका कपडा धोएर आफ्नो र सन्तानको पेट पाल्थिन् । तर, कोरोना संक्रमण फैलिएपछि उनको काम बन्द भयो ।

पेनिनाको लागि गरिबी र कठिनाइ यतिसम्म बढे कि उनीसँग आफ्ना छोराछोरीलाई खुवाउनको लागि खाना थिएन । त्यसैले उनले आफ्ना छोराछोरीलाई भुलाउनको लागि ढुङ्गा उमाल्न सुरु गरिन् । पेनिनाले सोचिन् कि उनलाई केही पकाइरहेको देखेपछि छोराछोरीहरु खानाको प्रतिक्षा गर्दागर्दै निदाउनेछन् ।

उनकी एक छिमेकी प्रिस्का मोमानीले यो पूरै घटनाको भिडियो बनाइन् र मिडियालाई यसबारेमा बताइन् । प्रिस्का पेनिनाका बच्चाहरु रोएको आवाज सुनेपछि उनलाई कुनै समस्या परेको हो कि भनेर हेर्न त्यहाँ गएकी थिइन् ।

पेनिनाको कहानी सुनेपछि मानिसहरुले उनको लागि पैसा जम्मा गरे र उनलाई पूरै केन्याबाट फोन आउन थाले । पेनिनाले केन्याको एनटिभी लाई दिएको अन्तरवार्तामा मानिसहरुले उनलाई मोवाइल एपको माध्यमबाट पैसा पठाएको बताइन् । एक छिमेकीले उनको बैंक खाता खोलिदिए जसबाट उनले पैसा पाउन सकुन् ।

केन्याको रेडक्रसले पनि उनको धेरै सहयोग गरेको छ । पेनिना भन्छिन् उनलाई अनुमान पनि थिएन कि केन्याका मानिसहरु यतिसम्म मनकारी छन् । उनी यो सबलाई एक चमत्कार मान्छिन् । उनले केन्याको टुको न्यूज वेबसाइटलाई दिएको अन्तरवार्तामा भनिन् ‘मेरा छोराछोरीले थाहा पाइसकेका थिए कि म ढुङगा पकाउने नाटक गरेर उनीहरुलाई भुलाउने कोसिस गरिरहेकी छु । तर मसँग अरु कुनै विकल्प थिएन ।’

पेनिना केन्याको मोम्बासा शहरमा २ कोठाको घरमा बस्छिन् । उनको घरमा न बिजुली आउँछ न पानी । केन्यामा कोरोना संक्रमणका ३९५ केस भेटिएका छन् र १९ जनाको मृत्यु भइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *