कीर्तिपुर राहत कोषको ५० लाख रुपैयाँ राहत वितरणमा खर्च

डिसी नेपाल
२० वैशाख २०७७ १०:३८

कीर्तिपूर । कीर्तिपुर नगरपालिकाभित्र बसोबास गरेका असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहाय परिवारलाई दोस्रो चरणमा राहत वितरणको तयारी गरिएको छ।

पहिलो चरणमा चार हजार एक सय घरपरिवार र एक हजार पाँच सय विद्यार्थीलाई राहत वितरण गरिएपछि पुनः दोस्रो चरणमा वितरणको तयारी गरिएको हो।

सबै वडामा तथ्यांक संकलन भइसकेको र अब एकदुई दिनमा पहिला छुटेकाहरुलाई दोस्रो चरणमा राहत वितरण गरिने नगरपालिकाका उपप्रमुख सरस्वती रिजालले जानकारी दिए।

उनका अनुसार नगरपालिकाका स्थानीय विपन्न वर्गलाई दोस्रो चरणमा समावेश गरिनेछ। पहिलोभन्दा दोस्रो चरणमा ७५ देखि ८० प्रतिशतसम्म राहत वितरण संख्यामा वृद्धि हुन सक्ने अनुमान गरिएको उनले जानकारी दिए।

“पहिलो चरणमा राहत वितरणका लागि नगरपालिकाले स्थापना गरेको आकस्मिक राहत कोषमा राखिएको पचास लाख रुपैयाँ खर्च भइसकेको छ।

वैशाखमा कीर्तिपुर महोत्सव सञ्चालन गर्ने भनेर राखिएको रु एक करोड रुपैयाँ राहत कोषमा राखिएको छ”, प्रवक्ता रिजालले भने, “सोही रकम राहतमा खर्च गर्ने विषयमा नगरकार्यपालिका बैेठकले निर्णय गरेको छ।

हामीलाई व्यक्ति तथा संस्थाबाट नगद तथा खाद्य पदार्थ सहयोगसमेत भएको छ ।”

चार स्थानबाट निःशुल्क खाना

कीर्तिपुरमा भाडामा बसेका विद्यार्थी तथा दैनिक ज्यालादारी गर्ने मजदूरलाई लक्ष्य गर्दै वडाको समन्वयमा विभिन्न व्यवसायीले चार स्थानबाट निःशुल्क खाना वितरण गर्दै आएका छन्।

नगरपालिकाका नःगाउँ दोबाटो, नयाँबजार लोकतान्त्रिक चोक, पाँगा ढ्वाकासी र च्याखा कन्याचौरमा बिहान ९ देखि ११ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म निःशुल्क खाना खुवाउँदै आइएको छ।

चारै स्थानबाट दैनिक सात सयदेखि आठ सय जनालाई खाना खुवाइएको वडा नम्बर ९ का वडाध्यक्ष गंगाराम महर्जनले जानकारी दिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *