निसीखोलाका एघार सय घरधुरी अन्धकारमा
गलकोट । बागलुङको निसीखोला गाउँपालिकामा लघु जलविद्युत्को नहर भत्किँदा एक हजार १०० भन्दा बढी घरधुरी अन्धाकारमा बस्न बाध्य भएका छन् । गाउँपालिकाको वडा नं ४ मा रहेको निसीखोला दोस्रो लघु जलविद्युत् आयोजनाको वर्षत्का कारण नहर भत्किँदा १४ दिनदेखि स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् ।
गत वैशाख ७ गते नहर भत्किँदा यहाँका एक हजार १५० घरधुरीका जनता अन्धकारमा बस्न बाध्य भएका हुन् । विद्युत् अवरुद्ध भएपछि यस क्षेत्रमा सञ्चालनमा आएका फर्निचर उद्योग, कुखुरापालक कृषकसमेत मर्कामा परेका छन् । स्थानीयवासीले मोबाइल, रेडियोसमेत चलाउन नसक्दा सञ्चारको पहुँचबाट पनि वञ्चित हुनुपरेको छ । आयोजनाको नहर अत्यधिक वर्षाका कारण करिब २५ मिटर भत्किएपछि विद्युत् उत्पादन गर्न नसकेको आयोजना प्रमुख रामप्रसाद चालिसेले जानकारी दिए। उनले नहर भत्किएलगत्तै निर्माणलाई तीव्रता दिएको बताउँदै जतिसक्दो चाँडो विद्युत् सेवा सञ्चालन गर्ने बताए ।
“कुलो भत्किएपछि यहाँका जनता अन्धकारमा बस्न बाध्य भएका छन् । हामीले यसको निर्माणलाई तीव्रता दिएका छौँ”, चालिसेले भने, “अप्ठ्यारो ठाउँमा कुलो भत्किँदा निर्माणमा समय लागेको हो ।” उनका अनुसार विद्युत् सञ्चालनमा अझै केही हप्ता लाग्नेछ । बागलुङको पश्चिम क्षेत्र निसीखोला र तमानखोला गाउँपालिकालाई विद्युत्को केन्द्रीय प्रसारणलाइनले छुन सकेको छैन । स्थानीयवासीलाई लामो समयदेखि लघु जलविद्युत् आयोजना ठप्प हुँदा अँध्यारोमा रात कटाउनुपर्ने बाध्यता रहँदै आएको छ ।
Facebook Comment