बामदेवलाई प्रतिनिधिसभामा लैजाने नेकपाको निर्णय, तेस्रो अध्यक्ष बन्न नेपालको अस्वीकार
काठमाडौं । शनिबार सम्पन्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कमीकमजोरी स्वीकार्दै आत्माआलोचना गरेका थिए भने प्रचण्डसहितका अन्य नेताहरुले पनि आत्मालोचना गरेका हुन्।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशका अनुसार शनिबारको बैठकमा विधि, पद्धति र पार्टीका मूल्य मान्यता अनुसार सरकार सञ्चालन गर्ने तथा सरकारले देश र जनताको पक्षमा समाजवाद हासिल गर्ने गरी काम गर्ने निर्णय भएका छन्।
‘पार्टीलाई एकतावद्ध राख्ने, पार्टीलाई विधि पद्धती र कम्युनिस्ट मूल्य मान्यताअनुसार सञ्चालन गर्ने, पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने गरी काम गर्ने दिशामा दृढतापूर्वक अगाडि बढ्ने निर्णय लिएका छौं’ प्रवक्ता श्रेष्ठले भने, ‘पार्टी, सरकार वा सम्बन्धित क्षेत्रहरुमा जे जति कमीकमजोरी भएका छन्, त्यसमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत आत्मालोचना गर्नु भएको छ ।’
यस्तै बैठकमा उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय भएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय भएको छ’, प्रवक्ता श्रेष्ठले भने ।
यसैगरी पार्टीमा तीन अध्यक्ष बनाउने प्रधानमन्त्रीको प्रस्तावमा माधव कुमार नेपालले असहमति जनाएका छन्। यसअघि बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कोरोना सकिएपछि वामदेवलाई प्रधानमन्त्री बनाउने र माधव कुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए। यस्तो प्रस्तावलाई नेपालले नै अस्वीकार गरेपछि यो विषय टुङिुगएको प्रवक्ता श्रेष्ठले जानकारी दिए
Facebook Comment