एउटै ट्वाइलेट प्रयोग गर्दा ४१ जना कोरोनाबाट संक्रमित, कोठा भाडामा बस्नेहरु त्रसित
काठमाडौं। कोरोनाभाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको छ । यही बीचमा भारतमा कोरोनाभाइरस डरलाग्दो तरिकाले फैलिन सक्ने संत्रेत देखिएका छन् जसले छिमेकी नेपालमा पनि सतर्कता बढाउनुपर्ने देखिएको छ । भारतको राजधानी नयाँ दिल्लीमा शनिबार एउटै घरमा बस्ने ४१ जना संक्रमित भेटिए । उनीहरु सबैले एउटै ट्वाइलेट प्रयोग गर्ने गरेका थिए ।
दक्षिण पश्चिमी दिल्लीको कापसहेडा क्षेत्रमा शनिबार एउटै भवनमा बस्ने ४१ जना संक्रमित पाइएका हुन् । इलाकाको ‘ठेके वाली गली’ मा एउटै घरमा बस्ने यी बिरामीहरु संक्रमित हुनुमा बाक्लो बस्ती जिम्मेवार मानिएको छ । जिल्लाका डिष्ट्रिक्ट मजिस्ट्रेट राहुल सिंहका अनुसार संक्रमित पाइएका सबैले एउटै ट्वाइलेट प्रयोग गर्थे । यो इलाकामा साना साना घरहरु छन् जहाँ ठूलो संख्यामा मानिसहरु बस्छन् ।
डिएम सिंहका अनुसार यी संक्रमितहरु बस्ने घरमा करिब २ सय जना बस्छन् । साना घर र बाक्लो बस्तीका कारण सामाजिक दूरीको पालना नगण्य थियो । ठूलो संख्यामा संक्रमित भेटिएसँगै दिल्ली सरकारले निजी प्रयोगशालामा पनि परीक्षण गर्ने निर्णय गरेको छ । राज्यका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनका अनुसार रिपोर्टका लागि २४ देखि ३६ घण्टाको समय निर्धारण गरिएको छ ।
Facebook Comment